अलैंची व्यापारले किसानको घरबार सकिँदै

यो समाचार 105 पटक पढिएको

धनकुटा । धनकुटास्थित हिलेका अलैंची व्यापारीहरू अलैंचीको मूल्यमा अस्वाभाविक रूपमा आइरहने उतारचढावले घरबारविहीन हुन थालेका छन् ।

व्यापारघाटाका कारण केही अलैंची व्यापारीलाई बैंकले कहिले घरजग्गा लीलाम गर्ला भन्ने पीर छ भने कतिपय ऋणकै कारण व्यापार व्यवसाय छोडेर वैदेशिक रोजगारीतिर हान्निएका छन् ।

गएको ३–४ वर्षयता प्रतिमन (४० केजी) १ लाख २० हजारसम्म विक्री भएको अलैंची मूल्य घटेर अहिले रू. ३३ हजार पुगेको छ । डेढ दशकयता अलैंचीको मूल्य अस्थिर छ । अलैंची व्यवसायी संघ हिलेको तथ्यांकअनुसार २०५७ मा प्रतिमन ७ हजार रहेको अलैंचीको मूल्य २०६० मा २२ हजार पुगेको थियो ।

तर, उक्त मूल्य सो वर्ष नै अचानक घटेर ४ हजारमा पुगेको थियो । २०६७ मा प्रतिमन ३५ हजार हुँदै २०७१ मा आइपुग्दा ६५ हजार रुपैयाँ पुग्यो । त्यसयता प्रतिमन १ लाख २० हजार पुगे पनि चालू आर्थिक वर्षमा अलैंचीको मूल्य ह्वात्तै घटेको हो ।

अलैंचीको मूल्यमा अस्वाभाविक घटबढ हुँदा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ क्षेत्रमा उत्पादित अलैंचीलाई केन्द्रित गरेर व्यापार गर्ने हिलेका व्यापारीहरू संकटमा परेका हुन् । राम्रो कमाइको सम्भावना देखेर घरजग्गा बैंकमा धितो राखी व्यापार गर्नेहरूका लागि अहिले अलैंची व्यापार जुवाको खाल जस्तै बनेको छ ।

२०५२ देखि शान्ति ट्रेडर्स हिलेमार्फत अलैंची व्यापार गर्दै आएका ६५ वर्षीया शेरबहादुर राईले यही व्यापारमै ४२ रोपनी जमीन र ३ घर बेच्नुपरेको बताए । वार्षिक रू. १२ करोडसम्म अलैंची निर्यात गर्ने उनी भन्छन्, ‘जुवाको खालझैं भयो अलैची व्यापार । एक दिन त हुन्छ कि भन्दै दाउ थाप्यो, घरबारी गएको थाहै हुन्न ।’

संघका अनुसार अहिले हिलेका एक दर्जनभन्दा बढी व्यापारीहरू व्यापारघाटाको मारमा छन् । शाखाका अध्यक्ष इन्द्र तितुङका अनुसार नेपाली अलैंचीको विश्व बजारमा बेग्लै जात नहुनु र भारतको एकद्वार व्यापार कायम हुँदा यस्तो अवस्था आएको हो । ‘भारतका केही व्यापारीले तेस्रो मुलुक जाने नेपालको अलैंचीमा मिसावट गरेर निर्यात गर्दा मूल्यमा कमी आई नेपाली व्यापारी र किसानलाई करोडौं घाटा भएको हो,’ उनले भने ।

पहिला माग बढी उत्पादन कम भएकोले अलैंचीको मूल्य बढेको र अहिले उत्पादन बढी माग उही कायम रहेकोले गुणस्तरमा सुधार भए पनि मूल्य ३० हजारमा स्थिर रहेकोे उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :