चियामा विविधता खोज्दै विदेशी व्यापारी

यो समाचार 42 पटक पढिएको

इलाम । तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन्।

विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन्।

जर्मनी, चीन, रुस, अमेरिका, नेदरल्यान्डलगायत मुलुकबाट बर्सेनि तयारी चिया किन्न आउने व्यापारी केही वर्षअघिसम्म उत्पादित चिया अर्गानिक भए–नभएकामा बढी चनाखो रहन्थे। तर, अहिले अर्गानिकमा पनि ग्रिन, ब्ल्याक, ह्वाइट, गोल्डेन कस्तो चिया हो भन्नेबारे उनीहरूले बढी ध्यान दिन थालेको चिया उद्योगी बताउँछन्। ह्वाइट, ग्रिन र गोल्डेन टी विदेशी व्यापारीको पहिलो रोजाइ हुने गरेको छ। तर, ह्वाइट टी उत्पादन चाहिँ ज्यादै थोरै मात्रामा हुने गरेकाले ग्रिन र गोल्डेन टी उनीहरूले रोजेर लैजाने गरेको व्यवसायीले बताएका छन्।

भारतीयबाहेक तेस्रो मुलुकका व्यापारीको रोजाइ क्रस टियर कर्ल ९सिटिसी० भन्दा अर्थोडक्स चियामै हुन्छ। बर्सेनि झन्डै करोड किलो उत्पादन हुने अर्थोडक्स चियामध्ये अर्गानिकको हिस्सा तीन लाख किलो हाराहारी मात्रै रहेको तथ्यांक छ। तर, व्यापारीको मुख्य आकर्षण चाहिँ त्यही अर्गानिक चिया हुने गरेको चिया उद्यमी सरद सुब्बा बताउँछन्। ‘केही वर्षअघिसम्म व्यापारीलाई अर्गानिक भएपछि जस्तो प्रकारको चिया भएपनि फरक पर्थेन,’ उनले भने, ‘अचेल अर्गानिक अर्थोडक्समा पनि कुन गुणस्तर र प्रकारको चिया हो भन्ने उनीहरू खुब ध्यान दिन्छन्।’ सुब्बाका अनुसार गोल्डेन, ग्रिन, ह्वाइट, ग्रिन पर्ल, गोल्डेन पर्ललगायतका प्रकार व्यापारीले रोज्छन्। ‘यी त मुख्य प्रकार मात्र हुन्,’ व्यवसायी सुब्बा भन्छन्, ‘त्यसभित्र पनि सयौंखाले तयारी चिया उत्पादन हुन्छन्।’

विशेषगरी इलाम, पाँचथर र धनकुटामा अर्गानिक अर्थोडक्स चिया उत्पादन हुन्छ। चिया प्राविधिक आरसी नेपालका अनुसार हरेक प्रकारको चियालाई बेग्लाबेग्लै पद्धतिबाट उत्पादन गरिन्छ। हेर्दा सेतै देखिने ह्वाइट टी तयार गर्न एक पात एक सुइरो भएको हरियो पत्ती आवश्यक पर्छ। यो अर्थोडक्स टीकै एक प्रकार हो। बगानबाट हरियो पत्ती ल्याएर उद्योगमा ६८ प्रतिशत वेदरिङ गर्नुपर्छ। त्यसपछि रोलिङ गरिन्छ। १० मिनेट सुकाएपछि अलि–अलि हातले मिलाएर फिनिसिङ गरिन्छ। कपमा हाल्दा पनि सङ्लो पानीजस्तो देखिने ह्वाइट टीको बासना र स्वाद आकर्षक हुन्छ। सेमि–फर्मेन्टेड यो चियाको मुख्य बजार युरोप हो।

ग्रिन पर्ल पनि एक पात एक सुइरो हरियोपत्तीबाट उत्पादन हुन्छ। इन्जाइमरमा तताएर पाँच मिनेट रोलिङ गरेर निकालेपछि अर्को मेसिनमा हालेर गोलो आकारको बनाइन्छ। त्यसपछि हातले निश्चित आकारलाई अन्तिर रूप दिएर प्याक गरिन्छ। नेपालका अनुसार इमरल टी दुई पात एक सुइरोबाट तयार गरिन्छ। यो एकखाले ग्रिन टी नै हो। रोलिङपछि रिभल्बिङ मेसिनमा डेढ घन्टा लगाएर करिब चाउचाउ आकारमा यो चिया तयार गरिन्छ।

एक पात एक सुइरो हरियोपत्तीबाट बन्ने स्पेसियालिटी टी नेपालमा थोरैमात्र उत्पादन हुन्छ। बोटबाट उच्च गुणस्तर टिपेर बनाइने यो चिया तयार हुँदा पहेंलो देखिन्छ। यसको मूल्य उच्च हुने भएकाले युरोपमा पनि यसको माग ज्यादै कम हुन्छ। ब्ल्याक टी चाहिँ नेपालका सबैजसो अर्थोडक्स उद्योगले उत्पादन गर्छन्। दुई पात एक सुइरो यसको आधारभूत मापदण्ड भएपनि कम गुणस्तरको चिया उत्पादन गर्दा अझ बढी पात भएको हरियो पत्ती पनि प्रयोग गरिन्छ। यो उत्पादन नेपालमा निकै खपत हुन्छ। भारतलगायत अन्य देशमा ठूलो परिमाणमा निर्यात हुन्छ। अर्गानिक र नन्अर्गानिक उद्योगहरूले पनि ब्ल्याक टी उत्पादन गर्छन्। ब्ल्याक र ग्रिन टीभित्र पनि कम्तीमा पाँच ग्रेड हुने भएकाले मूल्य फरक–फरक हुन्छ। ह्वाइटलगायत उच्च गुणस्तरका चियाको ग्रेड चाहिँ एउटै हुन्छ।

दुई पात एक सुइरो पत्तीबाट बनाइने ओलङ टी बनाउँदा हरियो पत्ती दुई घन्टाजति घाममा सुकाइन्छ। त्यसपछि घाम नलागेको ठाउँमा सुकाइन्छ। हल्का रोलिङपछि इन्जाइमरमा राखेर फेरि रोलिङ गरिन्छ। बल बेसिनमा हालेर आकार दिइन्छ। ओलङ टी ग्रिन र ब्ल्याङ दुई प्रकारको हुने भएकाले अन्तिममा चाहनाअनुसार यसको प्रकार र गुणस्तर कायम गरिन्छ।

विविध प्रकारमा उत्पादन गरिएको चिया अमेरिका, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा निर्यात भइरहेको छ। सूर्योदय नगरपालिकाको गोर्खा टी स्टेट, साखेजुङको हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, पशुपतिनगरको ग्रिन एन्ड स्पेसियालिटी प्रालि र माइपोखरी र चमैताका चिया कारखानाले अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्छन्। कन्याम, इलाम नगरपालिका, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, सोक्तिमलगायत स्थानमा करिब दुई दर्जन चिया प्रशोधन कारखाना छन्। पछिल्लो समय घर–घरमा खुलेका साना उद्योगले समेत अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट धमाधम अर्गानिक उत्पादकको प्रमाणपत्र पाइरहेका छन्।

अहिले हरियो चियाका धेरै जात विकास भइसकेका छन्। अर्थोडक्स चियामा २८ प्रकारका प्रजाति प्रयोगमा छन्। तीमध्ये राम्रो गुणस्तरको एभी टु ९आमवाणी० पी ३१२ ९फोक्सिरिङ०, गुम्ती, तक्दा ७८ टी ७८, फोक्सेरिङ १४०४, पी १२५८, बी १५७ लगायत जातको अधिक प्रयोग छ। टिनाली, टिभी २२, २३, जोकाई, टिभी २९, टिभी २८ लगायत प्रजाति सिटिसीका छन्। सिटिसी चिया धेरै आसामे जातका छन्। काठमाडौंमा चिया व्यवसाय गरिरहेका चिरन दाहाल भन्छन्, ‘विदेशी व्यापारीका लागि चिया एउट कला नै रहेछ। कुन चिया कसरी खाने भन्ने विचार पु(याएर उनीहरू चियाको प्रकारमा ध्यान दिन्छन्।’

अर्गानिक उत्पादक कारखानाले तेस्रो मुलुकका व्यापारीसँग ‘सम्बन्ध बढाएका’ले उत्पादित तयारी अर्थोडक्स चियाको व्यापार पनि उतै गर्दैछन्। अरू कारखानाले उत्पादन गरेको तयारी चिया विशेषगरी भारत निर्यात हुने गरेको छ। चिया उद्योगी उदय चापागाई गुणस्तरीय अर्गानिक उत्पादनमा किसान र उद्योगी लाग्नुपर्ने बताउँछन्। ‘तेस्रो मुलुकमा सामान्यता अर्गानिकको माग र बजार राम्रो छ। कसरी चियामा गुणस्तर कायम गर्ने भन्नेमा किसान नै लागिपर्नुपर्छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :