अदुवाको भाउ बढ्यो

यो समाचार 193 पटक पढिएको

इलाम । अदुवाको भाउ बढेसँगै कृषकमा खुशीयाली छाएको छ ।

एक महिना अघिसम्म प्रतिमन एक हजारदेखि एक हजार ५ सय रूपैयाँको हाराहारीमा बिक्री भएको अदुवाको मूल्य बढेर अहिले प्रतिमन तीन हजार रूपैयाँ पुगेपछि कृषकमा खुशीयाली छाएको हो ।

अदुवा ब्यापारीहरूका अनुसार अहिले इलाममा अदुवाको भाउ तीन हजारको हाराहारीमा छ । गाउँमा साना व्यापारीले प्रतिमन कम्तिमा २ हजार ५ सयदेखि २ हजार ८ सय रूपैयाँसम्ममा अदुवा बिक्री गरिरहेका छन् ।

विशेष गरेर कृषि उपजको बिक्री हुने बिब्ल्याँटेमा तीन हजार रूपैयाँ प्रतिमन अदुवा बिक्री भइरहेको छ । यहाँ संकलित अदुवा व्यापारीले झापाको धुलाबारी हुँदै भारतको नक्सलबारी पु(याएर बिक्री गर्ने गरेका छन् । नक्सलबारीमा भारु २ हजार ५ सय रूपैयाँमा अदुवा बिक्री भइरहेको बताइएको छ ।

अदुवाको भाउ बढेपछि अदुवा खनेर बेच्न थालेको कृषकहरूले बताएका छन् । देऊमाई नगरपालिका–८ जीतपुरका कृषक रोम अधिकारीले भाउ बढेकाले अदुवा खनेको बताए । अदुवा खन्ने मुख्य सिजनमा नै भाउ बढेपछि आफूहरूमा खुसीयाली छाएको उनको भनाइ छ ।एक मन अदुवा रोप्दा चारदेखि छ मनसम्म फल्ने उनले वताए । दुई रोपनी जमिनमा पाँच मन अदुवाको बिउ रोपेका उनले करिव २५ मन अदुवा फलेको अनुमान गरेका छन् । धेरै कृषिजन्य वस्तुको मूल्य दैनिक घटिरहेको छ, तर अदुवाको मूल्य प्रतिमन एक हजारभन्दा बढीले बढेपछि अदुवा बेच्ने कृषकको संख्या पनि बढ्दो छ ।

धेरै किसानले बारिबाट नै अन्दाजका भरमा पनि ब्यापारीलाई अदुवा बिक्री गर्ने गरेका छन् । विगतका वर्षहरूमा अहिलेको भन्दा निकै कम भाउ भएकाले यसपाली कृषकले थोरै अदुवा रोपेको हुँदा यसपटक गतसालभन्दा कम अदुवा उत्पादन हुने कृषक आफैं बताउँछन् ।

जिल्लाका माइजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकामा बढी अदुवा उत्पादन हुन्छ । यहाँका धेरै किसानले व्यावसायिकरूपमा अदुवा खेती गर्दै आए पनि विगत दुई वर्षदेखि भाउ घटेपछि धेरै किसानले थोरै–थोरै मात्र अदुवा रोपेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :