चिया उद्योगमा निजीको एकाधिकार तोडिँदै

यो समाचार 134 पटक पढिएको

इलाम । इलामका सहकारीहरूले चिया उद्योगमा लगानी गर्न थालेका छन् ।

यसै सिजनमा जिल्लाका चारवटा सहकारीले चिया उद्योगका लगानी गरेर उत्पादनसमेत थालेका हुन् । सहकारीको लगानीमा चिया उद्योग खुल्न थालेपछि निजी उद्योगको एकाधिकार तोडिँदै गएको सहकारीकर्मी तथा चिया किसानहरू बताउँछन् । जिल्लामा एउटा सरकारी चिया उद्योग छ ।

सहकारीले चिया उद्योगमा लगान गर्न सुरु गरेसँगै किसानलाई राहत भएको छ । यसअघि किसानले निजी उद्योगलाई सस्तोमा चियाको पत्ती बिक्री गर्दै आएका थिए । अब सहकारीले उचित मूल्यमा किसानसँग चियाको पत्ती खरिद गर्न थालेका छन् । अहिले आफैंले स्थापना गरेको सहकारीमा संस्थालाई समेत मुनाफा आर्जन हुने गरी चियाको मुल्य तोक्न र बेच्न पाइएको किसानहरू बताउँछन् । सहकारीहरूको चिया प्रशोधन उद्योग थपिँदै जाँदा चिया किसानले प्रतिस्पर्धाका आधारमा हरियो पत्ती बिक्री गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

देउमाई नगरपालिकाको शान्तिडाँडामा उच्च पहाडी चिया प्रशोधन उद्योग स्थापना भएको छ । उच्च पहाडी चिया उत्पादक सहकारी संस्थाको लगानीमा निर्माण भएको उद्योगले देउमाईको शान्तिडाडा आसपासमा उत्पादन भएको हरियो पत्ती प्रशोधन गर्नेछ । यस उद्योगले दैनिक १ हजार ५ सय किलो हरियो पत्ती प्रशोधन गर्ने क्षमता रहेको बताइएको छ । यो उद्योगले यसै सिजनबाट चिया प्रशोधन थालेको छ । दुई वर्ष अगाडीबाट निर्माण सुरु भएको उद्योग १ करोड ५० लाखको लागतमा स्थापना भएको हो । यो उद्योगलाई उन्नती परियोजनाले ५० लाख रुपैयाँ अनुदान दिएको छ ।

सूर्योदय नगरपालिकाको फिक्कलमा ४ करोड ५० लाख रुपैयाँको लागतमा सहकारीकै लगानीमा चिया उद्योग स्थापना भएको छ । इलामेली चिया उत्पादक सहकारीले स्थापना गरेको उद्योगमा विद्युत् जडानबाहेकको काम सकिएको छ । अहिले जेनेरेटर चलाएर चिया प्रशोधन गरिरहेको इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए ।

त्यस्तै सन्दकपुर गाउँपालिका सुलुबुङ ९तालगाउँ० मा समेत सानीमाई चिया प्रशोधन उद्योग स्थापना भएको छ । यो उद्योगले पनि भर्खरैबाट चिया प्रशोधन थालेको व्यवस्थापन सौजन खतिवडाले जानकारी दिए । सानीमाई चिया उत्पादक सहकारी संस्थाको लगानीमा उद्योग स्थापना भएको हो । उद्योग स्थापना गर्न १ करोड ५२ लाख रुपैयाँ लागेको बताइएको छ । उद्योगले ‘टेस्टिङ प्रशोधन’ गरेर हाल उत्पादनसँगै वजारमा चिया पु¥याउन थालेको छ ।

भर्खरैबाट नियमित प्रशोधन थालेको उद्योगमा दैनिक १ हजार ५ सय किलो हरियो पत्ती प्रशोधन गर्ने क्षमता छ । उद्योग स्थापनामा उन्नती समावेशी वृद्धि परियोजनाले ४९ लाख रुपैयाँ अनुदान सहयोग गरेको खतिवडाले जानकारी दिए । बाँकी १ सय ४६ जना सहकारीमा सेयर लगाएका किसानबाट जुटाइएको हो ।

इलाम नगरपालिकाको बरबोटेमा बरबोटेली चिया प्रशोधन उद्योगले पनि यही सिजनबाट प्रशोधन थाल्दैछ । माइजोगमाई गाउँपालिकाको नयाँबजारमा स्थापना भएको सिद्धपोखरी चिया प्रशोधन उद्योगले भर्खरैदेखि चिया प्रशोधन थालेको हो ।

२०६७ साल यता चिया उद्योगमा सहकारीले लगानी गर्न थालेको केन्द्रीय चिया सहकारीले जानकारी दिएको छ । त्यसयता वर्सेनि सहकारीमार्फ्त सञ्चालित चिया उद्योगको संख्या बढ्दै गएको छ । इलाममा मात्रै यही सिजनमा चारवटा नयाँ चिया उद्योगले प्रशोधन थाल्ने तयारी गरेका छन् । यी सबै उद्योग सहकारीको लगानीमा खोलिएका हुन् ।

सहकारीको लगानीमा इलाममा मात्रै ११ वटा चिया प्रशोधन उद्योग स्थापना भएका छन् । ३० लाखदेखि ७ करोड रुपैयाँसम्मको लगानीमा सहकारीले चिया प्रशोधन उद्योग स्थापना गरेको केन्द्रीय चिया उत्पादक सहकारी संघका महासचिव रविन राईले बताए । सहकारीको लगानीमा ३१ वटा स्थापना भएका छन् । इलाममा ११, पाँचथरमा ४, झापामा ४, धनकुटामा २, ताप्लेजुङमा १, तेह्रथुममा २, तलितपुरमा ३, संखुवासभामा र उदयपुरमा एक–एकवटा चिया उद्योग स्थापना भएको महासचिव राईले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :