स्याङ्जामा एक घर एक कागती बिरुवा

यो समाचार 2716 पटक पढिएको

फायल फोटो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीलाई कागतीको बिरुवा बाँडेको छ । गाउँले ‘सबै घर कागतीको बोट’ अभियान सुरु गरेको हो ।

सबैका लागि कागती आवश्यक हुने र कागतीमा भिटामिन सी पाइने भएकाले गाउँलाई कागतीमय बनाउन यस्तो अभियान थालिएको अध्यक्ष खिमबहादुर थापाले बताए ।

गाउँमा गत वर्षदेखि नै कागती रोपण अभियान सुरु भएको थियो । ‘गाउँपालिकाका प्रत्येक घरले कागती बिरुवा अनिवार्य लगाउनु पर्नेछ’, थापाले भने, ‘गाउँभरिका ५३ सय घरधुरीलाई गत वर्ष २०७४÷०७५ मा २० हजार कागतीका बिरुवा वितरण गरेको थियो ।’

अध्यक्ष थापाका अनुसार कागती बिरुवा रोप्ने अभियानका लागि गाउँपालिकाले ७ लाख ५० हजार रूपैंयाँ खर्च गरिसकेको छ ।

प्रत्येक घरधुरीलाई २० देखि ७० वटासम्म कागती बिरुवा उपलब्ध गराइएकोे छ । यो वर्ष पनि गाउँपालिकाले १० लाख रकम विनियोजन गरी ३० हजार कागतीका बिरुवा वितरण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत गणेश खनालले बताए ।

कागतीका लागि वर्षभरि नै न्यानो र ओसिलो हावापानी भएको र तुषारो नपर्ने भेग चाहिन्छ । करिब १ सय मिटरदेखि १८०० मिटर उचाइसम्मको हावापानीमा कागती खेती गर्न सकिन्छ ।

कालीगण्डकी गाउँपालिकामा कागतीलाई चाहिने हावापानी तथा माटो उपयुक्त रहेको अधिकृत खनालले जानकारी दिए । ‘कागती स्थानीय बजारमा सजिलै बिक्री वितरण पनि गर्न सकिन्छ’, उनले बताए ।

गाउँमा उपयोगमा नआएको जग्गा जमिनलाई उपयोग गर्दै कागती रोप्न सकिने भएकाले गाउँपालिकाले यस्तो नीति लिएको हो । वर्षको दुई÷चार पटक गोडमल गरेपछि राम्रो फल दिने हुँदा कागती खेती गर्न त्यति कठिन हुँदैन ।

नगदे बालीका रूपमा परिचित कागती लामो समयसम्म टिकाउ हुन्छ । छिटै बिग्रने, नकुहिने र मानिसलाई अत्यावश्यक पर्ने भिटामिन सी प्रशस्त पाइने हुँदा कागती रोपण अभियान सञ्चालन गरेको अध्यक्ष थापाले सुनाए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :