कफीमा स्याङ्जाका युवालाई मौसमी रोजगारी

यो समाचार 402 पटक पढिएको

स्याङ्जा । सदरमुकाम पुतलीबजारस्थित कफी पल्पिङ केन्द्रको ठूलो कक्ष। कोठाका भित्तामा चाङ् लगाइएका कफीका बोरा। सोही कोठाको भुइँमा बसेर नाङ्लोमा कफीका दाना केलाइरहेका महिला र पुरुष। बर्षेनि यही मौसमको २ देखि ३ महिनासम्म चलिरहने यो प्रक्रियाले बेरोजगार युवायुवतीलाई हर्षित बनाउने गरेको छ। जति साइज मिलाउँदै राम्रा कफी छनोट गर्न सक्यो उती नै गुणस्तरीय कफी बन्ने हुँदा केलाउने गरिएको हो।

टिपेर ल्याएको कफीलाई मेसिनद्वारा धोइपखाली, बोक्रा छोडाएर घाममा सुकाएपछि साइजअनुरुप राम्राराम्रा दाना छुट्याइन्छ। दिउलामा दाग लागेका, खराब दाना, नराम्रो दाना छुट्याउन कफी केलाउने गरिन्छ। तिनै कफी केलाउने कामका लागि जिल्ला कफी सहकारी संघ लिमिटेडले बर्षेनि बेरोजगार युवालाई केही महिनाका लागि भए पनि रोजगार दिन्छ। कफी केलाउन कुनै निश्चित समय तोकिएको हँदैन। इच्छुक व्यक्तिले फुर्सद मिलाएर कफी केलाउन पाउँछन्। उनीहरूले दिनभर या समयअनुसार कफी केलाएर पारि श्रमिक लिन्छन्।

स्याङ्जाको कफी निर्यात गर्ने उद्देश्यले जिल्ला कफी व्यवसायी संघले विभिन्न तरिकाबाट प्रशोधन, सुकान, भुटानलगायत काम गर्दै आएको छ। जति राम्रो कफीका गेडा छनोट गर्न सकियो उती नै गुणस्तरीय कफी बनाउन सकिने हुँदा संघले विगत दुई महिनादेखि दैनिक दशदेखि २० जना कामदारलाई रोजगार दिँदै आएको छ।

पुतलीबजार नगरपालिका १ का ५५ वर्षीय माया ढकाल पनि आजकल कफी केलाउन जान्छिन्। केही दिनदेखि कफी केलाउन व्यस्त ढकालले यो कामलाई सहज ठानेकी छन् भने फुर्सदको समयमा गरिएको कामबाट दाम पाउदा खुसी पनि छन्। सुशीला लम्साल पनि कफी केलाउने मध्येकी एक हुन्। एक दिनमा उनले १५ देखि २० किलोसम्म कफी केलाउछिन्। यसबाट उनले दैनिक चार सय रुपैयाँसम्म कमाउने गरेकी छन्। लम्साललगायत अरु धेरैले कफी केलाउने अस्थायी रोजगार पाएका छन्।

स्याङ्जाको कफी निर्यात गर्न जिल्ला कफी व्यवसायी संघले विभिन्न तरिकाबाट प्रशोधन, सुकान, भुटानलगायत काम गर्दै आएको छ।

प्रतिव्यक्तिले दैनिक १५ देखि २५ किलोसम्म कफी केलाउने गरेको कफी व्यवसायी संघका अध्यक्ष ख्यामनारायण शर्मा पराजुलीले जानकारी दिए। कफी सहकारी संघले कफी केलाएबापत प्रतिकिलो २० रुपैयाँ दिने भएपछि बेरोजगार महिला तथा पुरुषका लागि यो राम्रो रोजगार बनेको छ।

स्याङ्जालाई कफी जिल्लाका रूपमा विकसित गरी कफी उद्योग सञ्चालन गरेर अव वर्षभरि रोजगार दिने व्यवस्था मिलाउन सुझाव दिन्छिन् कफी कर्मचारी कल्पना तिवारी।

रोजगारको खोजीमा विदेशिने या सहर झर्नेको संख्या पनि स्याङ्जामा दिनप्रति दिन बढ्दो छ। गाँउघरका खेत र पाखाबारी बाँझै छन्। ती बाँझा पाखा र बारीमा कफी रोप्न सके राम्रो उत्पादन लिन सकिने बताउँछन् कफी व्यवसायी बोधराज अर्याल। हुन त, केही वर्षदेखि कफीको मूल्य वृद्धि गरिनुका साथै तत्कालै नगद हातमा पाउन थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित देखिएका छन्।

स्याङ्जामा उत्पादित कफी जापान र जर्मनी समेत निर्यात भइसकेको छ। गत वर्ष ५२ मेट्रिक टन कफी उत्पादन भएको थियो। उत्पादित कफीमध्ये ६ टन ग्रिनविन्स जापानमा र ४१ टन ९पार्चमेन्ट० हाइल्यान्ड अर्गानिक कफी नेपालका आन्तरिक बजारमा खपत भएको थियो। गत वर्ष स्याङ्जाले कफीबाट झण्डै दुई करोड आम्दानी गरेको थियो। जापानको शान्ति कफी ट्रेड र जिल्ला कफी सहकारी संघ लिमिटेडबीच ६ टन कफी जेठमा निर्यात गर्ने गरी सम्झौता भएको छ। यस वर्ष पनि गत वर्षकै हाराहारीमा कफी उत्पादन हुने सहकारी संघका व्यवस्थापक माया तिवारीले जानकारी दिइन्।

जिल्लामा २०५६ सालदेखि व्यावसायिक रूपमा कफीखेती सुरु गरिएको हो। यहाँ करिब दुई सय ७३ हेक्टर क्षेत्रफलमा कफीखेती गरिन्छ। पाखोबारी र बनजंगलभित्र कफीको उत्पादन राम्रो हुन्छ। वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडी रोपेको तीन वर्षमै फल दिने हुँदा कफीखेतीतर्फ किसानको आर्कषण बढेको बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :