अलैँची जोन कार्यक्रमपछि कृषक उत्साहित

यो समाचार 282 पटक पढिएको

पाँचथर, १६ पुस ।  पाँचथरको फालेलुङ गाउँपालिकास्थित वडा नं १ र २ तथा ६ र ७ मा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अलैँची जोन कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका अलैँची कृषक उत्साहित भएका छन् ।


यो कार्यक्रम सञ्चालन भएपछि अहिले कृषकले पहिलेको तुलनामा गुणस्तरीय अलैँची उत्पादन गर्न थालेका छन् भने उत्पादनमा समेत वृद्धि भएको उक्त एकाइका वरिष्ठ कृषि अधिकृत कमलेश तिवारीले बताए ।

फालेलुङको याङ्तारु अलैँची जोन सञ्चालक समितिमार्फत त्यहाँ आबद्ध कृषक समूहलाई कार्यालयले आवश्यक कृषि सामग्री प्रदान गर्ने गरेको छ । याङ्तारु अलैँची जोन सञ्चालक समितिका व्यवस्थापक टीका रिजालले भने, “पहिल्यै हामी परम्परागत प्रणालीबाट अलैँची खेती गर्ने गथ्र्यौं, तर अहिले नयाँ प्रविधिमा आधारित अलैँची खेती गर्न थालेका छौँ, हामी धेरै उत्साहित छौँ ।”

अहिले अलैँचीको उत्पादनसँगै यो कार्यक्रम सञ्चालन भएका कृषकले उत्पादन गरेको अलैँचीको भाउसमेत अन्य अलैँचीको तुलनाममा प्रतिमन रु दुई हजारभन्दा बढी रहेको उनले बताए ।

अहिलेसम्म कार्यक्रम सञ्चालन भएका चार वडामा ५० वटा समूहका दुई हजारभन्दा बढी कृषक लाभान्वित भएको उनले जानकारी दिए । अहिलेसम्म त्यस वडामा कृषकलाई आवश्यक हुने सामग्री लगभग पाइप ५० हजार मिटर, दुई वटा ट्र्याक्टर, धुवाँरहित सुधारिएको भट्टी, ४० वटा डिजिटल तराजु, विषादी हाल्ने मेसिन गट स्प्रेयर २५ वटा, मिनी स्प्रेयर ४० वटा मल ५० प्रतिशत अनुदानमा १० हजार क्विन्टल उपलब्ध गराउनुका साथै विभिन्न तालीम गोष्ठी आयोजना पनि गरिएकोे व्यवस्थापक रिजालले बताए ।

यस आर्थिक वर्ष २०७४र७५ अन्तर्गत दोस्रो चौमासिक कार्यक्रमअन्तर्गत पुस अन्तिममा पनि कृषकलाई अलैँची बगानमा उपयोगी हुने सामग्री प्रदान गर्न लागिएको कृषि अधिकृत प्रकाश विश्वकर्माले जानकारी दिए । उहाँका अनुसार अब चाँडै १५ वटा कृषक समूहलाई फुट स्प्रेयर, न्याप स्कापक स्प्रेयर ४० थान ३० वटा कृषक समूहलाई, यस्तै जैविक तथा रासायनिक विषादी झोल मल इत्यादि अलैँची बगानमा छर्नका लागि प्रदान गरिनेछ ।

त्यसैगरी पाँच वटा प्लास्टिक कार्यक्रम, २५ थान डिजिटल तराजु, रोग किरा न्यूनीकरणका लागि विभिन्न किसिमका जैविक तथा रासायनिक विषादी प्रयोग गर्न सिकाइ वितरण गरिनेछ । माटो परीक्षण शिविर सञ्चालन गरी ५०० कृषकको अलैँची बगानको माटो परीक्षण तथा उन्नत प्रविधि प्रदर्शन, २५० जनाको भकारो सुधार कार्यक्रम गरिने उनले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :