गुनिलो मकैको जुँगाको फायदै फायदै

यो समाचार 361 पटक पढिएको

संसारका प्रमुख तीन अन्नबालीहरूमध्येको एक हो मकै । चामल, गहुँपछिको मुख्य अन्नबालीमा पर्दछ मकै । इतिहास खोतल्दै जाने हो भने मानिसले खेतीपाती गरेका अन्नहरूमध्ये सम्भवतः मकै नै सबैभन्दा जेठो पर्न आउँछ । मेक्सिकोको पुरातात्विक महत्वका गुफाहरूमा फेलापरेको मकैको खोयाको अवशेषका आधारमा वैज्ञानिकहरू के विश्वास गर्छन् भने आजभन्दा ७ हजारदेखि १० हजार वर्षपहिलदेखि नै मानिसहरूले मकैको खेती गर्न थालेको हुनुपर्छ । यही आधारमा पनि मकैको उत्पत्ति मेक्सिकोमा भएको र पछि त्यो संसारभरि फैलिँदै गएको विश्वास गरिन्छ ।

जेहोस्, आधुनिक संसारका प्रमुख खाद्यबालीमध्येको एक हो– मकै । सामान्यतः संसारभरि नै मकैको दाना खाद्यान्नको रूपमा प्रयोग गरिन्छ । मकैको घोगामा हुने पात र खोया पनि पशुहरूलाई खुवाउन तथा बाल्न प्रयोग हुने गर्छ । तर मकैको घोगामा हुने मकैको जुँगा भने प्रयोगमा आउँदैन । त्यत्तिकै फाल्ने गरिन्छ ।

ख्याल गर्नुपर्ने कुरा के छ भने हामीले बेवास्ता गर्ने गरिएको तथा त्यसै खेर फालिने मकैको जुँगा पनि निकै गुनिलो हुन्छ । यो मकैको तुलनामा मकैभन्दा कम फाइदाजनक हुँदैन, बरु स्वास्थ्यको दृष्टिकोणले मकैजस्तै, अझ त्योभन्दा बढी गुनिलो हुन्छ । आउनुहोस्, मकैको जुँगाका केही फाइदाहरूबारे चर्चा गरौँ ।

पिसाबनलीको सङ्क्रमण (Urinary tract infection)

मकैको जुँगामा एन्टी इन्फ्लेमेटोरी तत्वहरू पाइन्छन् । त्यसले गर्दा मकैको जुँगाको सेवन पिसाब नलीको सङ्क्रमणमा धेरै लाभदायी हुन्छ् । यसले पिसाब नलीको तहलाई सुरक्षा कवच प्रदान गरेर पोलाइलाई कम गरिदिनुका साथै सङ्क्रमणलाई पनि निको पार्ने काम गर्छ । विशेषतः मकैको जुँगाको चिया बनाएर नियमित सेवन गर्ने गरेमा त्यसले पिसाब थैलीको साथै पिसाब नलीको सङ्क्रमणलाई पनि कम गरिदिन्छ । खास गरेर मकैको जुँगाको चियाले पिसाब लगाइदिने काम पनि गर्छ, जसले गर्दा पिसाबथैली तथा पिसाब नलीमा व्याक्टेरियाहरू पैदा हुने र फैलिने क्रियालाई कम गराइदिन्छ । मकैको जुँगाको चिया प्रोस्टेट ग्रन्थीको जलनलाई पनि कम गराउन फाइदाजनक हुन्छ ।

पिसाब लगाउने तत्व

मकैको जुँगाको चियामा पिसाब लगाउने तत्व हुन्छ । विशेषतः कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधीहरूको तुलनामा यो अति सुरक्षित हुन्छ । यही कारण मकैको जुँगाको चियालाई शरीरमा बढी जम्मा भएको पानी र फोहोर पदार्थहरूलाई पिसाबको माध्यमबाट बाहिर निकाल्ने एउटा सुरक्षित र भरपर्दो उपायको रूपमा लामो सयमदेखि मानिसहरूको अपनाउँदै आएको पाइन्छ ।

मिर्गौलाको पत्थरीबाट बचाउँछ

मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।

रगत जम्न सहयोग गर्छ
शरीरमा चोटपटक लाग्दा रगत बग्छ । यो सबैले जानेकै कुरा हो । कुनै पनि कारण शरीरबाट रगत बग्दा केही बेरमै रगत जम्छ । यो रगत बग्नबाट जोगाउने शरीरको प्रतिरक्षा प्रणालीकै हिस्सा हो । रमाइलो कुरा के छ भने मकैको जुँगाको चियामा भिटामिन के पाइन्छ । यो त्यही भिटामिन हो, जसले शरीरबाट रगत बगेर खेर नजाओस् भन्नका लागि रगतलाई जम्न मद्दत गर्छ ।

रक्तचाप घटाउँछ

कुनै बेला धनीमानीहरूको मात्र रोग मानिने उच्च रक्तचाप आजभोलि सबै समुदाय र वर्गलाई लाग्ने सामान्य रोग भइसकेको छ । उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ । यस अर्थमा मकैको जुँगाको चियाको सेवन उच्च रक्तचापका रोगीहरूका लागि पनि फाइदाजनक छ । तर उच्च रक्तचापका लागि औषधि सेवन गरिरहेकाहरूले भने यो खानुअघि चिकित्सकको सल्लाह लिनु जरुरी छ ।

मधुमेहबाट बचाउँछ
मकैको जुँगा रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्न उपयोगी रहेको कुरा अनुसन्धानबाट देखिएको छ । इन्टरनेसनल जर्नल अफ बायोलोजिकल्ली काक्रोमोलेक्युल्समा सन् २०१२ मा प्रकाशित एक अनुसन्धानात्मक लेखका अनुसार मधुमेह भएका मुसालाई प्रयोगशालामा मकैको जुँगाको तत्व निकालेर सेवन गराउँदा तिनको रगतबाट चिनीको मात्रा घटेको पाइएको थियो । त्यसैगरी न्युट्रिसन एन्ड मेटाबोलिजम जर्नलमा प्रकाशित अर्को अनुसन्धान रिपोर्टमा पनि मकैको जुँगाको चियाको सेवनले मानिसको रगतमा इन्सुलिनको उत्पादनमा सहयोग पुगेको देखिएको थियो । यसको सोझो अर्थ के हो भने मकैको जुँगाको चियाको नियमित सेवन गर्ने हो भने यसले मधुमेहका रोगीहरूलाई पनि फाइदा गर्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्छ
रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु र त्यो अनियन्त्रित हुँदै जानुको एउटै परिणाम हो, विभिन्न घातक मुटुरोगहरू पैदा हुनु । त्यसैले मुटु रोगबाट बच्न गर्नुपर्ने प्रमुख कार्यहरूमध्येका पनि प्रमुख कार्य हो, रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्नु । चीनको जिलिन विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका एक शोधबाट नियमित रूपमा मकैको जुँगाको सेवन गराउँदा मुसाहरूमा कोलेस्ट्रोलको मात्रा प्रभावकारी रूपमा घटेको तथा नियन्त्रित भएको पाइएको थियो ।

भिटामिन सीको स्रोत
भिटामिन सी भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा अमिलोको ख्याल आइहाल्छ । त्यसैले सुन्दा अलि पत्यारिलो लागे पनि सत्य कुरा के हो भने मकैको जुँगामा भिटामिन सी पाइन्छ । थाहा भएकै कुरा हो कि भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ । त्यसैगरी, मकैको जुँगाको नियमित रूपमा सेवन गर्ने हो भने यसले थायराइडको कार्यप्रणालीलाई पनि सही बनाइदिन्छ ।

मोटोपन घटाउँछ
मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ । फलतः त्यस्ता मोटोपन भएकाहरूका लागि मकैको जुँगाको सेवन उपयोगी हुन सक्छ । त्यस्ता मानिसहरूले दिनको दुई तीन पटकसम्म मकैको जुँगाको चिया सेवन गर्दा राम्रो हुन्छ ।

अन्य उपयोगहरू
छालामा हुने घाउ, फोका, चिलाउने भागहरूमा मकैको जुँगाको लेप लगाउँदा फाइदा गर्छ । मकैको जुँगामा माइसिन नाम गरेको फाइदाजनक तत्व पाइन्छ । यसले शरीरका विकारहरूलाई निष्काशन गर्न तथा कोषहरूलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कतिसम्म विश्वास गरिन्छ भने यसको नियमित सेवनले निश्चित प्रकारका क्यान्सरको रोकथाममा पनि प्रभावकारी हुन सक्छ । यही माइसिनका कारण मकैको जुँगाले मानसिको रोगप्रतिरोधी शक्ति अर्थात् रोगसँग लड्ने क्षमता पनि बढाइदिन्छ । त्यसैगरी, मकैको जुँगाको नियमित सेवनले छालाका समस्याहरू निको पार्न पनि मद्दत गर्छ ।

शरीरमा मिनरलहरूको मात्रालाई नियमित एवम् स्थिर गर्छ
मकैको जुँगाको नियमित सेवन गर्नाले शरीरको विकासका लागि अपरिहार्य विभिन्न खनिज तत्वहरूको मात्रालाई नियमित एवम स्थिर गर्न सहयोग पुग्छ । खासगरी, यसको नियमित सेवनले शरीरमा सोडियमको मात्रालाई स्थिर राख्न तथा शरीरमा बढी भएको पोटासियमलाई निष्काशन गर्न सहयोग पुग्छ । हेक्का रहोस्, मस्तिष्कको विकास तथा त्यसको कार्यक्षमताको सही सञ्चालनका लागि सोडियमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।

ख्याल गर्नुपर्ने कुरा
नेपालीमा एउटा भनाइ छ, धेरै खायो भने अमृत पनि विष हुन्छ । यो कुरा मकैको जुँगाको हकमा पनि लागू हुन्छ । फाइदा हुन्छ भन्दैमा मकैको जुँगाको पनि अत्यधिक सेवन गर्नु ठीक हुँदैन । अत्यधिक मात्रामा मकैको जुँगाको सेवनले शरीरमा पोटासियमको मात्रा चाहिनेभन्दा बढी पनि घट्न सक्छ । परिणामतः छालाका समस्या तथा एलर्जीहरूले सताउन सक्छ ।

त्यसैगरी, स्तनपान गराइरहेका तथा गर्भवती महिलाहरूका लागि सामान्य मात्रामा मकैको जुँगाको सेवन सुरक्षित नै मानिन्छ । तर पनि गर्भवती महिलाहरूले धेरै मात्रामा मकैको जुँगाको सेवन गर्नु उचित हुँदैन । विशेष गरेर यसको अत्यधिक सेवनले गर्भाशयलाई अत्यधिक उत्तेजित गराउन सक्ने तथा गर्भपात हुने सम्भावना बढाइदिन्छ ।

कतिपय मानिसहरूलाई मकै तथा मकैजन्य परिकारको एलर्जी पनि हुन सक्छ । त्यस्ता एलर्जी हुनेहरूले पनि मकैको जुँगाको सेवन नगर्नु नै सुरक्षित हुन्छ ।

ख्याल गर्नैपर्ने विशेष कुरा के हो भने, तपाईं कुनै पनि औषधी नियमित रूपमा सेवन गरिरहनु भएको छ भने मकैको जुँगाको सेवनले नकारात्मक असर पार्न पनि सक्छ । विशेष गरी, यसको सेवनले रगतमा ग्लुकोजको मात्रा घटाउने तथा रक्तचापलाई पनि न्यून गर्ने भएकाले डाइबिटिज वा रक्तचापका औषधी सेवन गरिरहेका मानिसहरूले यसको सेवन गर्नुपूर्व आफूले उपचार गराइरहेको चिकित्सकको समेत राय लिनु अति जरुरी छ ।

कसरी गर्ने सेवन ?
मकैको जुँगा सेवन गर्ने सबैभन्दा सजिलो तरिका त्यसको चिया बनाएर पिउनु हो । ताजा वा हरियो जुँगालाई सोझै उमालेर वा त्यसलाई सुकाएर राखेर पनि चियाको रूपमा सेवन गर्न सकिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :