पहिलोपटक नेपालमै गुमेको आवाज फर्काउने सेवा सुरु

यो समाचार 596 पटक पढिएको

काठमाडौ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक क्यान्सरका कारण आवाज गुमाएका विरामीहरुको आवाज यन्त्र प्रत्यारोपण मार्फत उपचार सुरु गरेको छ ।

विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा अस्पतालका टाउको तथा घाँटी क्यान्सर रोग विशेषज्ञ डा. दिपक यादव नेतृत्वको टोलीले ‘ऊँ’ नामक यन्त्रद्वारा कृत्रिम आवाज प्रत्यारोपण सुरु गरेको हो । सो यन्त्र क्यान्सर रोग विशेषज्ञ डा. विशाल रावले निर्माण गरेका हुन् ।

अस्पतालले ट्रेयाकियोसोफेजल पन्चर (टिपिए) विधिद्वारा नेपालमै पहिलोपटक ६० र ५५ वर्षीय दुई जना पुरुषमा यन्त्र प्रत्यारोपण गरेको छ । यस यन्त्र प्रत्यारोपण पश्चात्त विरामीहरु बोल्न सक्ने अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठले बताए ।

डा. श्रेष्ठका अनुसार नेपालमा बढीमा एक सयदेखि दुई सय रुपैयाँ मूल्य पर्ने यस यन्त्र प्रत्यारोपण पश्चात कसैले पनि आवाज विहीन हुनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

‘क्यान्सरका कारण आवाजविहीन हुन पुगेका विरामीहरुलाई सस्तो तथा सुलभ यन्त्रमार्फत आवाज फर्काउन सकियोस् भन्ने उद्देश्यले यो सेवा आजबाट सुरु गरेका छौं,’ डा. श्रेष्ठले भने ।

उनका अनुसार अस्पतालमा आउने कुल विरामीमध्य टाउको तथा घाँटीको क्यान्सरका विरामी करिब ७ प्रतिशत रहने गरेका छन् । त्यसैगरी, सुर्ती तथा सुर्तीजन्य पदार्थका कारण ८० प्रतिशत मानिसमा टाउको तथा घाँटीको क्यान्सरको सम्भावना रहने गरेको डा. श्रेष्ठ बताउँछन् ।