संघीयतामा कृषिको अवस्था

यो समाचार 554 पटक पढिएको

“प्राविधिकहरू तल्लो तहमा जान आनाकिनि गर्दै छन्” यो वाक्यांश संघीयतामा यति चर्चित भयो जति “नेपाल एक कृषि प्रधान मुलुक हो” । यर्थाथमा यो दुवै गलत हो । कति पय कुराहरू यति सर्वव्यापी हुन्छ तर गलत हुन्छ । यो पनि यस्तै भएको छ ।

यहाँमध्ये कति जनाले Pise3, cryets, FRAC code isoquant, ridge lines, को अर्थ Google नगरी जान्नु हुन्छ ? यदि यहाँले यी सबै शब्द सविस्तार जानु भए एक प्रतिशत भन्दा कम जनसख्यामा पर्नु हुन्छ । यी सबै कृषिसँग सम्बन्धित शब्दहरू हुनु र हजारौँ शब्दहरू मध्येका केही प्रतिनिधि शब्दहरू हुन । तर, कृषिका बारेमा मन्तव्य राख्न दियो भने सबैले घण्टौँ बोल्नु होला ।

यसो भनी रहँदा बच्चा अवस्थामा पढेको एक कथा याद आउँछ “जहाँ दृष्टीविहिनहरुलाई हात्ती छाम्न लगाई वर्णन गर्न लगाउँदा केहीले हात्ती भनेको नाग्लो जस्तो रहेछ, केही खम्बा जस्तो रहेछ आदि आदि । वास्तवमा कृषि त्यही हात्ती भएको छ र यसको गहिराइ र गाम्भीर्यताको महसुस विना नै अल्पज्ञानम् भयांकरम् गर्दछौँ । हाम्रा बाबु बाजेले खन जोत गरेकोलाई नै कृषिको सर्वैसर्ब बुझ्ने हो भने विश्वभर लाखौँ कृषि विश्विद्यालय खुल्ने नै थिएन । बाजेले हलो जोतेको देखेर नै कृषि बुझ्ने भए नोर्मन बोर्गलले होइन हाम्रै बाजेले मनोबल पुरस्कार पाउने थिए । कृषिको महत्त्व कोदालीमै टुंगीने भए आजको विश्वका धनीहरू कृषिमा लगानी गर्ने थिएन ।

”बाजेले हलो जोतेको देखेर नै कृषि बुझ्ने भए नोर्मन बोर्गलले होइन हाम्रै बाजेले मनोबल पुरस्कार पाउने थिए ।”

यसो भनी रहँदा, बुझाउन खोजेको कुरा कति मात्र हो भने कृषि जस्तो बुहत्तर विषयमा कुनै एक व्यक्तिले जनसेवा प्रदान गर्न सक्दैन । कृषिको पूर्ण सेवा दिन विषय विशेषज्ञहरूको एक टिम नै चाहिन्छ । जसरी अण्डकोषको उपचार गर्न प्रसुती विज्ञकोमा मानिस जाँदैन, त्यसै गरी तरकारीको रोगको उपचार गर्न कृषि अर्थशास्त्रीकोमा कृषक जाँदैन । त्यति मात्र होइन, प्राविधिक विषय यति द्रुत गतिमा कुद्छ कि वर्णविन्यास जस्तो बाजेले पढेको क देखि ज्ञ सम्म जस्तो स्थिर हुँदैन । यसमा निरन्तर अध्ययन, अभ्यास र प्रशिक्षणको आवश्यकता हुन्छ । हिजो उन्मोचन गरेको बीउले आज उचित उत्पादन दिँदैन। न त हिजो प्रयोग गरेको कृषि प्रसार विधि आज प्रभावकारी हुन्छ । अनि यी यावत कुरा गर्न एक प्राविधिकलाई स्थानीय सरकारमा खटाएर देशमा कुन सम्मृद्धि खोजेको छौ ?

हिजो जिल्लामा एक प्राविधिकहरूको समूह हुन्थ्यो- केन्द्रमा विषय विशेषज्ञहरूको उपलब्धता थियो । त्यति हुँदा पनि उचित मानब संसाधन विकास योजन र उचित स्रोत व्यवस्थापन नहुँदा नेपालको समग्र कृषिमा आशातीत उपलब्धि हासिल गर्न नसकेको इतिहासमा प्राविधिक चेन अफ कमान्ड तथा हिजोको सेवा केन्द्र उपसेवा केन्द्र, सम्मको संरचना भताभुङ्ङ पारेर कृषिमा आत्म निर्भर हुने सपना यथार्थमा कहिले पुरा होला ?

यी यावत पक्षलाई मध्यनजर गरी प्रत्येक पालिकासम्म उपसचिव तहको नेतृत्वमा सबै विषय विशेषज्ञ अधिकृत सहितको टोली हुनु पर्ने र केन्द्र सम्मै प्राविधिक चेन अफ कमान्ड हुनुपर्छ भन्दा कृषिका कर्मचारी तल्लो तहमा जान नखोजेको आरोप लगाउनु कति जायज होला ?

मौजुदा दरबन्दी भन्दा संघको दरबन्दी ज्यादा बनाई समायोजन प्रक्रिया अगाडी बढाउने समूह संघीयताको हिमायति र फंसनल संरचनाको माग गर्ने प्राविधिकहरुलाई  संघीयता विरोधी देख्ने प्रवृत्ति कम्तीमा राजनीतिक नेतृत्वमा हुनु हुँदैन । कृषि लगायतका प्राविधिक सेवा र संरचना संघीयताको बीजारोपण हुनु पूर्व नै निक्षेपण र विकेन्द्रिकरणमा थियो । जनताले संघीयतामा खोजेको अधिकार प्रशासनिक थियो । संघीयताको नारा नै गाउँ गाउँमा सिंहदरवार थियो ।

कृषि हिजो पनि सिंहदरवारको गेम मेकर थिएन र आज पनि छैन । जो हिजोको गेम मेकर थिए ती आज पनि गाउँ पुग्दै छैनन् । त्यसैले संघीयताको कार्यान्वयन शब्दमा होइन यर्थाथतामा खोजौँ । आज अध्यादेश कार्यान्वयन गर्न नसके सरकारको हारको रूपमा व्याख्या गर्दैछ केही तप्का । तर यो अध्यादेशको हुबहु कार्यान्वयनले जनता र देश हार्दै छ भन्ने बुझ्ने कसले ? मुठी भरका केही प्रशासकको अनुचित कदमको जिम्मा अपार जनमत प्राप्त सरकार र उसको पार्टीले लिनु पर्ने कुनै जरुरी छैन । एक गलत कदम सच्चाउने लाज मानी अर्को गलत कदम चाल्नु बुद्धिमत्ता पक्कै हुन्न । त्यति मात्र होइन आफ्नै भविष्य अन्धकार देख्ने र आफ्नै बाटो पहिल्याउन नसक्ने मनोबल गरिरेको कर्मचारीले राष्ट्रको सम्मृद्धि कार्यान्वयनमा अर्थपूर्ण योगदान पुर्‍याउन नै सक्दैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :