यस्तो छ, सरकारले तोकेको दानाको गुणस्तर मापदण्ड

यो समाचार 90 पटक पढिएको

जनकबहादुर धामी

देशको विद्यमान परिवेश र दिनानुदिन पशुपन्छी र मत्स्य पालनमा युवा पुस्ताको आकर्षण बढी रहेको र विभिन्न स्थानमा ठुला साना व्यावसायिक फार्महरूको स्थापना हुँदै गई रहेको अवस्था छ । तर ती पशुपन्छी र मत्स्य पालक व्यावसायिहरुले प्रयोग गर्ने दाना गुणस्तरको छ छैन ?, दाना गुणस्तरीय नहुँदा नियमन गर्ने निकाय कुन हो ? भन्ने कुरा अन्योल नै छ ।

हामी आम उपभोक्ताहरूले गुणस्तरीय पशुजन्य पदार्थहरू दूध, फुल, मासु र माछा खाना पाउन पशुपन्छीले खान पाउने आहारा तथा दाना गुण्स्तरिय हुनु पर्ने हुन्छ जुन कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । त्यसैले सरकारले दानाको गुणस्तर मापदण्ड निर्धारण गर्न दाना पदार्थ ऐन, २०३३ र नियमावली, २०४१ ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई नियमनकारी निकाय तोकिएको छ भने पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले पशु सेवा विभागलाई नियमनकारी निकाय मानेको छ ।

जसका कारण पशुपन्छी पालन सँग सम्बन्धित निकाय पशु सेवा विभाग तथा सो अन्तर्गत पशुपन्छी क्षेत्रको पशु आहारा तथा दाना पदार्थ सम्बन्धी काम गर्ने भनी स्थापना भएको देशको एउटै मात्र राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालालाई बढी जिम्मेवार र जबाफदेही हुन कानुनी कठिनाइ रहेको देखिन्छ ।

फलस्वरूप २०३३ सालमा बनेको दाना ऐन बमोजिम तयार पारिएका दानाका गुणस्तर मापदण्डलाई नेपाल नापतौल तथा गुणस्तर विभागबाट २०३७ सालमा नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अन्र्तगत कुखुराका दानालाई नेगुण ११ र गाइभैंसीको दानालाई नेगुण १२ गुणस्तर चिन्ह प्रदान गरिएको पाइन्छ ।

सोही मापदण्डका आधारमा २०३७ साल देखि हाल सम्म दानाको गुणस्तर पहिचान गर्ने माध्यम बनेको छ ,जुन समय सापेक्ष नभएको गुनासाहरू आम दाना उपभोक्ता किसानहरू,दाना बिक्रेताहरू र स्वयं दाना उत्पादक दाना उद्योगीहरूको भनाइ रहेको छ भने दानाका गुणस्तर मापदण्ड समय सापेक्ष निर्धारण गर्ने काममा अब विलम्ब गर्न नहुने कुरामा सबैको जोड रहेको छ ।

दानाका गुणस्तर मापदण्ड
दाना पदार्थमा अवान्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको स्वाभाविक वा उपयोगिता हटाउन वा झिक्न नपाउने गर्न दाना ऐन २०३३ र दाना नियमावली २०४१ रहेका छन् । जस अनुसार हाल सम्म कुखुराको दाना र पशु दाना (गाइभैंसी दाना)को मात्र २०३७ सालमा गुणस्तर मापदण्ड नेपाल सरकारबाट निर्धारण र गुणस्तर चिन्ह प्रदान भएको पाइन्छ । नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अन्र्तगत कुखुराका दानालाई नेगुण ११ र गाइभैंसीको दानालाई नेगुण १२ गुणस्तर चिन्ह प्रदान गरिएको पाइन्छ । उक्त गुणस्तर अनुसार कुखुरा तथा गाइभैंसीका दानाका मापदण्ड तालिका तपसिल अनुसार रहेका छन् ।

कुखुराका दानाको गुणस्तर मापदण्ड :

चारित्रिक गुण % मा  लेयर्स स्टार्टर L1 
० – ८ हप्ता
लेयर्स ग्रोअर L2 
९ – १६ हप्ता
प्रिफिनिसर L3
१७ –४० हप्ता
लेयर्स फिनिसर
L4
४० हप्ता माथि
ब्रोइलरस्टार्टर B1
० –४ हप्ता
ब्रोइलर ग्रोअर B2 
५ – ६ हप्ता
ब्रोइलर फिनिसर B3 
६ हप्ता माथि
जलास बढीमा ११ ११ ११ ११ ११ ११ ११
प्रोटिन घटीमा १९ १५ १६ १५ २१ १९ १८
क्रुडफाइवरबढीमा
फ्याट २.५ २.५ ३.५ 3.५ ३.५
एसिड इन सोलुवल(एस) ३.५ ३.५ ३.५
क्याल्सियम ०.८ ०.८
फस्फोरस ०.५ ०.५ ०.५ ०.५ ०.४ ०.४ ०.४
लबण ०.७ ०.७ ०.७ ०.७ ०.७

गाइभैंसीका दानाको गुणस्तर मापदण्ड :

क्र.सं. पौष्टिक पदार्थ (प्रतिशतमा ) आबश्यक प्रतिशत कैफियत
१. जलांस १०.० स्वतन्त्ररुपमा
२. कु्रड प्रोटिन २०.० सुख्खा पदार्थको आधारमा
३. क्रुड फ्याट २.५ देखि ५ सुख्खा पदार्थको आधारमा
४. क्रुड फाइवर १२.० सुख्खा पदार्थको आधारमा
५. एसिड इनसोलुवल आयस (भष्म) सुख्खा पदार्थको आधारमा
६. क्याल्सीयम प्रतिशत घटिमा ०.५ सुख्खा पदार्थको आधारमा
७. पाच्य फस्फोरस प्रतिशत घटिमा ०.५ सुख्खा पदार्थको आधारमा
८. लवण(सोडियम क्लोराइड) प्रतिशत बढिमा सुख्खा पदार्थको आधारमा

समयसापेक्ष दानाका गुणस्तर मापदण्ड नहुँदा परेका असरहरू
 व्यावसायिक पशुपन्छी र मत्स्य पालनमा प्रत्यक्ष असर परेको , अझै व्यावसायिक रूपमा विकास हुन नसकेको अवस्था ।
 दाना उद्योगीहरूले आफूखुसी दाना उत्पादन गरी रहेका । (जस्तै कुखुराको द्यण् ,क्रोआइलर र गिरीराजका दाना, गाइभैंसीका दाना र बंगुरका दाना बजारमा किनबेच भई रहेको अवस्था ।)
 पशुपन्छी पालक कृषकहरूले मापदण्ड अनुसारका दाना पाउन नसकेको अवस्था ।
 दाना उद्योग बाट उत्पादित दानाहरूका गुणस्तर र मूल्यमा एकरुपता नभएको अवस्था ।
 गुणस्तरीय दानाको अभावमा अपेक्षित उत्पादन हुन नसकेका कारण विभिन्न स्थानका व्यावसायिक किसानहरू पेसाबाट पलायन हुँदै गएको अवस्था ।
 गुणस्तरीय दानाको अभावका कारण पशुपन्छीले खाने आहारा तथा दाना गुणस्तरीय नपाउँदा आम उपभोक्ताले समेत पशुजन्य पदार्थहरू दूध,फुल,मासु गुणस्तरीय खान नपाएको अवस्था ।

दानाका गुणस्तर मापदण्ड बन्न नसक्नुका प्रमुख कारणहरू
 दाना पदार्थ ऐन, २०३३ र नियमावली, २०४१ ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई नियमनकारी निकाय तोकिएको छ भने पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ले पशु सेवा विभागलाई नियमन निकायका मानेको अवस्था ।
 एउटै विषयमा २ वटा ऐन र नियमावली आकर्षित भई अन्यौलताको अवस्था ।
 दाना पदार्थ ऐन, २०३३ र नियमावली, २०४१ ले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई नियमनकारी निकाय तोकिएको भएता पनि उक्त विभागमा पशुपन्छी क्षेत्र सँग सम्बन्धित दक्ष जनशक्तिको अभाव र उक्त विभागले खाद्य क्षेत्रकै

नियमन गर्न समेत जनशक्ति अभावमा कठिन भई रहेको अवस्थामा पशुपन्छी क्षेत्रको दानाको नियमन गर्न नसकेको अवस्था ।
 नीतिगत अष्पष्टता । ऐन,नियमावली बाझिनु ।
 सरोकारवाला निकायहरूमा समन्वयको अभाव ।
 नियमनकारी निकायहरूले पशुपन्छीका दानालाई महत्त्व नदिई उपेक्षा गरेको अवस्था । (२०३७ देखि हाल सम्म मापदण्ड बन्न नसक्नु यसको उदाहरण हो ।)
 खाद्य पदार्थको गुणस्तर कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने दानाको गुणस्तर पनि प्रमुख हो भन्ने सामान्य ज्ञानको अभाव र ज्ञान भएका बाट समेत सो सम्बन्धी प्रयास नभएको अवस्था ।
 किसानका गुनासाको सुनुवाइ तथा सम्बोधन हुन नसकेको अवस्था ।
 पशु सेवा विभागको अस्थिर व्यवस्थापन ।

दानाका गुणस्तर मापदण्ड बनाउन के गर्ने
 स्वस्थ जीवनका लागि स्वस्थ र पोसिलो आहार, स्वस्थ र पाषिलो आहारका लागि स्वस्थ र स्वस्छ पशुपन्छीजन्य पदार्थ दूध,फुल,मासुको उपभोग ।स्वस्थ र स्वच्छ पशुपन्छीजन्य पदार्थ दूध,फुल,मासुका लागि स्वस्थ र निरोगी पशुपन्छी, स्वस्थ र निरोगी पशुपन्छीका लागि गुणस्तरीय पशुपन्छीका दाना तथा आहारा । तसर्थ सधैँ स्वस्थ र निरोगी पशुपन्छी पालनका लागि गुणस्तरीय दाना र आहाराको उत्पादन र प्रयोग गरौँ, स्वस्थ रहौँ निरोगी बनौँ,सुन्दर र समृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याऔं भन्ने मूल मन्त्रका साथ सबै सरोकारवाला निकायहरूको छलफल अन्तरक्रिया गरी यथाशीघ्र पशुपन्छीका जात र उमेर अनुसारका दाना र दाना पदार्थहरूको गुणस्तर मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याउने ।
 राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशाला जन्मनु पूर्व नै बनेका दाना पदार्थ ऐन, २०३३ र नियमावली, २०४१ र पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ समय सापेक्ष संशोधन र परिमार्जन गरी नियमन कार्यको जिम्मेवारी पशु सेवा विभाग र पशु आहारा एवं दाना सँग सम्बन्धित कार्य गर्ने गरी स्थापना भएको राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशाला लाई दिइनु पर्ने ।
 सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा नीतिगत अस्पष्टता हटाउनु पर्ने ।
 सरोकारवाला निकायको समन्वय बैठक सकभर मासिक नभए व्दैमासिक अनिवार्य बस्ने व्यवस्था हुनु पर्ने ।
 दानाका गुणस्तर बारे व्यापकरुपमा जनचेतना अभिवृद्धिका कार्यक्रम सङ्घ,प्रदेश र स्थानियतह सम्मै सञ्चालन गरिनु पर्ने ।
 सबै प्रदेशमा प्रत्येक वर्षको कम्तीमा एक पटक व्यावसायिक पशुपन्छी मत्स्य पालक किसान,दाना बिक्रेता व्यवसायिकता,एग्रोभेट सञ्चालक,दाना उद्योगी र सम्बन्धित सरकारी गैह्र सरकारी निकायका पदाधिकारीहरूको सहभागिता रहने गरी सरोकारवालाहरूको अन्तरक्र्रिया गोष्ठी सबै प्रदेशमा अनिबार्यरुपमा गर्ने र आएका सुझावहरूको सम्बोधन गरिने व्यवस्था हुनु पर्ने ।
 राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालालाई साधन श्रोत सम्पन्नका साथै स्तरोन्नती गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने ।
 समय समयमा दाना उद्योग,दाना बिक्रेता तथा एग्रोभेट र व्यावसायिक पशुपन्छी मत्स्य पालक किसानहरूका उद्योग तथा फार्महरूमा अनुगमन गरी नमुना सङ्कलन र परीक्षण गर्ने व्यवस्था प्रभावकारी रूपमा मिलाउने ।
 विदेशबाट आयात गरिने दाना तथा दानाका पदार्थहरूको कडाइका साथ प्रयोगशाला परीक्षणको व्यवस्थामा मिलाउने ।
 राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालामा दक्ष जनशक्तिहरू जस्तै वायोमेडिकल इन्जिनियर,केमिष्ट, फुड टेक्नोलोजिष्ट , इलेक्ट्रिसियन ,एनिमल न्यूटिसियन, लगायत सहायक प्राविधिक कमृचारीहरुको व्यवस्था गर्ने ।
 पशुपन्छी र मत्स्य व्यवसाय सँग सम्बन्धित विभाग भएको नाताले पशु सेवा विभागले दानाको गुणस्तर निर्माणको अगुवाइ गरी मापदण्ड बनाउन साथै किसानका गुनासाको सम्बोधन हुने व्यवस्था मिलाउने ।

उपसंहार
हामी आम उपभोक्ताको जनस्वास्थ्यलाई मध्यनजर गर्दे गुणस्तरीय पशुपन्छी जन्य पदार्थ दूध, फुल, मासु र माछा खान पाउन ती पदार्थ उत्पादन गर्ने पशुपन्छीहरू स्वस्थ र निरोगी राख्न र तिनबाट हुने उत्पादन दूध,फुल, मासु र माछा गुणस्तरीय राख्नका लागि प्रमुख भूमिका गुणस्तरीय आहारा तथा दानाको हुने भएकोले दाना तथा पशु आहारको गुणस्तर मापदण्ड समयसापेक्ष निर्धारण गरिनु पर्छ । यसका लागि आवश्यक पर्ने सबै ऐन, कानुन, नियमहरूको विलम्ब नगरी संशोधन तथा निर्माण गरी पशु आहारा तथा दानासँग प्रत्यक्ष सम्बन्धित निकाय राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालालाई बढी जिम्मेवार र अधिकार सम्पन्न बनाइनु पर्छ ।

धामी राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाका पशु विकास अधिकृत हुन्

रचनात्मक प्रतिक्रिया दिनुहोस् :