प्याज विकासमा लगानी : बालुवामा पानी

यो समाचार 1528 पटक पढिएको

प्याजलाई हाम्रो भान्सामा प्रयोग हुने सवभन्दा महत्वपूर्ण मसलाजन्य बाली मान्न सकिन्छ । प्याज मुख्यरुपमा तरकारी र अचारलाई स्वादिलो बनाउन प्रतेक दिन जसोे प्रयोग गरिन्छ ।

प्याज सलादको रुपमा पनि सेवन गरिन्छ । प्याजमा औषधीजन्य गुणहरु हुने भएकाले यसको सेवनले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ भन्ने विवरण आजभन्दा करिव २२ सय वर्षअघि लेखिएको आयुर्वेदिक औषधी साम्वन्धि पुस्तक चरक संहितामा उल्लेख छ । आधुनिक अनुसन्धानहरुले पनि रातो प्याजमा बढी उपलब्ध हुने सल्फर र क्वएरसेटिन नामक रसायनमा क्यान्सर रोग प्रतिरोधक गुण भएको पुष्टि गरेका छन् ।

प्याज काट्दा आउने कडा गन्ध (आइसो प्रोपायल एमाएन नामक रसायन) सुघाएमा अत्यधिक टाउको दुखाई, हिस्टेरिया आदी कारणले बेहोस भएका बिमारीको होस चाडै खुल्दछ भन्ने पनि भनिन्छ । प्याजको रस पेट दुखेको कम गर्न, पाचन प्रक्रिया बढाउन र चिसोका कारण हुने रुघाखोकीबाट बचाउन पनि लाभदायक हुन्छ । प्याजमा भिटामिन ए, बी कम्प्लेक्स, सि लगायत समानव शरीरको लागि आवश्यक पर्ने सल्फर, क्याल्सियम र फलाम जस्ता खनिज तत्वहरु पनि प्रशस्त पाइन्छन् ।

धेरै पकाउदा प्याजमा भएको अधिकांस सल्फर र केही मात्रामा क्वएरसेटिन नष्ट हुने हुँदा पकाएकोभन्दा काँचो प्याज स्वास्थ्यको लागि बढी उपयोगी मानिन्छ । अधिकांस नेपाली उपभोक्तालाई प्याजका माथी उल्लेखित औषधीजन्य गुणहरुको बारेमा के कति जानकारी छ, अनुसन्धान कै विषय हुन सक्दछ तर यसको स्वादका भने सवै नेपाली पारखी नै छन् ।

यसैले सालिन्दा नेपालमा प्याजको माग बढ्दो छ । प्याजको बढ्दो मागलाई मध्यनजर गर्दै यसको विकासको लागी सरकारी स्तरबाट विगतमा विविध कार्यक्रम संचालन गर्न निकै ठूलो धनराशी खर्च भएको देखिन्छ । तर यी कार्यक्रमहरुले दिएको प्रतिफल भने अत्यान्त निराशाजनक भएको यथार्थ तस्विर सरकारी तथ्याङ्कले नै देखाएका छन् । यस लेखमा नेपालमा प्याजको अर्थतन्त्रका बारेमा चर्चा गरिएको छ ।

नेपालको आफ्नो उत्पादन
प्याज नेपालमा खेती गरिने प्रमुख मसलाजन्य तरकारी मध्येको एक बाली हो । कृषि विकास मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्क पुस्तकमा विगत ७ वर्षको अवधिमा वार्षिकरुपमा नेपालमा १८ हजार ६ सय हेक्टरदेखि २० हजार ७ सय हेक्टर (१ हेक्टर = २० रोपनी) जमिनमा प्याजको खेती गरिएको र २ लाख ४२ हजारदेखि २ लाख ८६ हजार मेट्रिक टनको विचमा वार्षिक उत्पादन हुने गरेको उल्लेख छ (तालिका–१) । क्षेत्रफलको हिसावले बढी खेती गरिने तरकारी बालीहरुमा आलु, काउली र बन्दापछि प्याज चौथो नम्वरमा रहेको पनि सरकारी आंकडाले देखाउछ । नेपालमा प्याजको उत्पादकत्व आ. व. २०६८/६९ मा १४ मेट्रिक टन प्रति हेक्टर थियो । यो उत्पादकत्व आ. व. २०७२/७३ सम्म आईपुग्दा घटेर ११.९ मेट्रिक टन प्रति हेक्टरमा झरेको देखिन्छ ।

विश्व खाद्य संगठनको तथ्याङ्क अनुसार हाल प्याजको प्रति हेक्टर उत्पादकत्व दक्षिण कोरियामा ६६, संयुक्त राज्य अमेरिकामा ५६, ब्राजिलमा २८, चीनमा २२ र भारतमा १८ मेट्रिक टन प्रति हेक्टर रहेको छ । यसले के स्पष्ट पार्दछ भने नेपालमा प्याजको उत्पादकत्व निकै कम छ र राष्ट्रिय उत्पादन बढाउन थप जमिनमा खेती गर्नुभन्दा नयाँनयाँ प्रविधिको विकास र प्रयोग गर्दै प्रति इकाई जमिनको उत्पादकत्व बढाउन उपयुक्त हुन्छ । किनभने कुनै एक बालीको खेती गरिने जमिनको क्षेत्रफल बढाउदा कुनै अर्को बालीलाई विस्थापन गर्नुपर्ने हुन्छ । प्याज कै कुरो गर्नुपर्दा यसको क्षेत्रफल बढाउनुको अर्थ हुन्छ गँहु, राजमा, तोरी, काउली, बन्दा, मुला लगायतका कुनै न कुनै हिउदे तथा बसन्त ऋतुका बालीलाई विस्थापन गर्नु ।

प्याज उत्पादनको सरकारी तथ्याङ्कलाई सत्य मान्दा र करिव दुई करोड जनसंख्याले प्याज सेवन गर्दछन् भन्ने अनुमान गर्दा एक नेपालीको भागमा एक वर्षमा हाल देशभित्र उत्पादन भएको प्याज सरदर १२ केजी मात्र उपलब्ध हुन्छ । तर उत्पादन भएको सवै प्याज घर परिवारको भन्सासम्म पुग्दैन । उत्पादनदेखि उपभोक्ताको भान्सासम्म पुग्दा कम्तिमा १५–१६ प्रतिसत विभिन्न कारणले नोक्सान हुन्छ । यस हिसावले हाम्रो आफ्नो उत्पादनमध्ये सरदररुपमा एक वयस्क नेपालीका लागि एक वर्षमा करिव १० केजी मात्र प्याज खानाको लागि उपलब्ध हुन्छ ।

विज्ञहरुका अनुसार शरीर स्वस्थ राख्न एक ब्यक्तिले एक दिनमा कम्तिमा ५५ ग्राम वा एक वर्षमा २० केजी प्याज सेवन गर्नुपर्छ । यस हिसावले हाम्रो आफ्नैे उत्पादनले एक नेपालीलाई प्रति दिन ५५ ग्राम प्याज सेवनको लागि उपलब्ध गराउन हालको उत्पादनलाई कम्तिमा दुई गुणाले बढाउनु पर्छ । एक सिजनमा उत्पादन बढाएर मात्र पुग्दैन । वर्षैभरी यसको उपलब्धता पनि सुनिश्चित हुनु पर्छ । हालको उत्पादनलाई दोब्बर गर्न उत्पादन क्षेत्रफल बढाउन आवश्यक देखिदैन । उच्च प्रविधि र उत्पादन सामाग्रीको समुचित प्रयोग गर्ने हो भने हालको १२ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व बढाएर २०–२५ टन प्रति हेक्टर सजिलै पु¥याउन सकिन्छ भन्ने दृष्टान्त अन्य देशले हासिल गरेको उत्पादकत्वले पुष्टि गर्दछ ।

आयात निर्यात
नेपालमा उत्पादन भएको प्याजले बढ्दो शहरी उपभोक्ताको माग धान्न नसकेका कारण सालिन्दा ठूलो परिमाणमा भारतबाट प्याजको आयात हुने गरेको तथ्य भन्सार विभाग र कृषि विकास मन्त्रालयका तथ्याङ्कहरुले छर्लङ्गै देखाएको छ । विगत १२ वर्षको आयात नियातको विवरण तालिका–२ मा प्रस्तुत गरिएको छ ।

तथ्याङ्क अनुसार निर्यात नगन्य छ भने आयात कहाली लाग्दो तरिकाले सालिन्दा बढिरहेको छ । आ. व. २०६३/६४ मा प्याज ब्यापारमा नेपाललाई रु ५९ लाख ३९ हजार बरावरको घाटा भएको थियो भने यो घाटा बढेर आ. व. २०७३/७४ मा रु ३ अर्ब ९३ करोड ३० लाख पुगेको छ । अर्थ मन्त्रालयको हालै प्रकाशित तथ्यांक अनुसार आ.व. २०७४/७५ को पहिलो ११ महिनामा नै रु ४ अर्व ९ करोड ६४ लाख वरावरको प्याज आयात भएको छ । यस हिसावले हरेक महिना नेपालमा करिव ३७ करोडको प्याज आयात हुदो रहेछ । तसर्थ आ. व. २०७४/२०७५ को अन्त्यसम्म अर्थात असार महिनाको पनि आयात जोड्दा करिव ४ अर्व ५० करोडको प्याज आयात हुने देखिन्छ ।

विगत १२ वर्षमा प्याज आयातमा करिव ३४० गुणा बृध्दि भएको छ । अन्य समयलाई छाडौं, प्याज उत्पादन हुने मुख्य सिजन बैशाख–जेठमा समेत हाम्रो बजारमा स्वदेशमा उत्पादीत प्याज देखिदैन । यसको अर्थ हुन्छ प्याज विकासमा विगतमा राज्यले गरेका लगानी बालुवामा पानी पोखे सरह मात्र भएको छ ।

केही वर्ष अगाडी भारतबाट प्याज नआउदा नेपालको बजारमा चीनको प्याज छ्याप्छ्याप्ती भएको धेरैलाई अझ पनि स्मरण नै हुनुपर्दछ । गत वर्षको कार्तिकमा पनि भारतले प्याज निर्यातमा करको दर बढाएपछि नेपालमा पनि भाउ बढ्यो । त्यस समयमा चीनबाट पनि नेपालमा प्याज आयात भयो । यसबाट के देखिन्छ भने प्याजमा हामी पूर्णरुपमा परनिर्भर छौ । स्वदेशी उत्पादनको जेजस्तो आंकडा देखाइएको भए पनि ती यथार्थमा आधारित छैनन् र तिनले बजारको मागलाई अपुर्ती गरेको छैन ।

काठमाण्डौं उपत्यकाको मागको करिव ७० प्रतिसत तरकारी बिक्रिवितरण गर्ने कालीमाटी तरकारी तथा फलफुल थोक बजार सरकारबाट संचालित बजार हो । यही थोकबजारबाट खुद्रा ब्यापारीले प्याज लागयतका तरकारी खरिद गर्दछन् र खुद्रा मुल्यमा काठमाण्डौका विभिन्न भागमा बेच्दछन् । हाल नीजि क्षेत्रले बल्खु लगायत अन्य स्थानमा पनि तरकारीका थोक बजार खोलेका छन् । कालीमाटी बाहेक अन्य वजारको तरकारी आगमनको स्रोत सार्वजनिकरुपमा उपलब्ध छैन । तर पनि प्याजमा हाम्रो परनिर्भरताको स्पष्ट तस्विर कालीमाटी थोक बजारबाट विगत बाह्र वर्षमा कारोवार गरिएको सुकेको प्याजमध्ये करिव ९५ देखि सतप्रतिसतसम्म नै (वर्ष अनुसार केही कम बढी) नै आयातीत प्याज हुने गरेकोबाट छर्लङ्ग हुन्छ । यसको विवरण तालिका ३ मा दिइएको छ ।

हामीले के गर्यौ त ?
सरकारले नेपालमा प्याजको अनुसन्धान गरी प्रविधि विकास गर्ने कार्य वि. सं. २०३५ सालमा रुकुममा तरकारी विउ उत्पादन केन्द्रको स्थापना पश्चात सुरु गरेको हो । यस केन्द्रको मुख्य उद्वेश्य प्रविधि विकास र बीउ उत्पादनको ब्यवस्था मिलाई देशलाई प्याजमा अत्मनिर्भर बनाउनु थियो । स्थापना पश्चात यस केन्द्रले प्याजको जातीय सुधार, खेती प्रविधि, रोग किरा ब्यवस्थापना, भण्डारण, बीेउ उत्पादनका क्षेत्रमा अनुसन्धान ग¥यो ।

अनुसन्धानको असर केन्द्र आसपासका क्षेत्रमा केही मात्रामा प¥यो पनि । हाल पनि रुकुम प्याजको बीेउ उत्पादन गर्ने अग्रणी जिल्लामा पर्दछ । तर २०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना पश्चात यस केन्द्रलाई कृषि विभाग अन्तरगत राखेर अनुसन्धान तथा प्रविधि बिकास गर्ने महत्वपूर्ण जिम्मेवारीबाट बन्चित गराइएकाले केही वर्ष प्याज अनुसन्धानले निरन्तरता पाएन । संयुक्त अधिराज्य बेलायतको आर्थिक सहयोगमा २०५४ सालदेखि २०६० सालसम्म नेपालमा संचालीत पहाडी कृषि अनुसन्धान परियोजना (हिल एग्रिकल्चर रिसर्च प्रोजेक्ट) ले प्याजको अनुसन्धान तथा खेती विस्तारको लागि धेरै रकम खर्च ग¥यो । एक जना बागवानी बिज्ञलाई त प्याज विषयमा नै बेलायतबाट विद्यावारिधीसम्म गरायो ।

यो परियोजना ‘हार्प’ प्रोजक्टको नामले नेपालमा चिनिन्छ । ‘हार्प’ प्रोजक्टको समाप्तीपछि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको स्थापना भयो । यस कोषमार्फत पनि प्याजको प्रविधि विकास र विस्तार गर्न कृषि विकास मन्त्रालयले निकै लगानी ग¥यो । पछिल्ला वर्षहरुमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगतको बागवानी केन्द्र दैलेखमा पनि प्याज संवन्धि केही अनुसन्धान हुँदै आएका छन् ।

उत्पादन हुँने मुख्य मौसम (बैशाख–जेठ) मा मात्र होइन बेमौसम (कार्तिक–मंसिर) मा उत्पादन गर्न सकिने जात र प्रविधिको सिफारिस पनि गरिएको छ । बेमौसमी प्याजको उत्पादन प्रविधिसम्वन्धि अनुसन्धान कार्य २०४२ साल तिरबाट नै सुरु गरिएको हो । यसको लागि ‘एग्रिफाउण्ड डार्क रेड’ नामको जातको सिफरिस पनि गरिएको छ । तर हाल देशमा न यस जातको बीउ उपलक्ध छ न कहीं बेमौसमी खेती नै भैरहेको छ । हामीसंग त सरकारी तथा गैरसरकारी निकायले निकालेका केवल प्रगति विवरण र रिपोर्टका कागजी ठेली मात्र छन्, वजारमा भने पूर्णरुपमा भारतीय प्याजको एकाधिपत्य छ ।

आयात प्रतिष्ठापन गर्दै देशलाई प्याजमा आत्मनिर्भर बनाउने उद्वेश्य राखेर कृषि विकास मन्त्रालयले २०६४ सालदेखि २०६९ सालसम्म सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रुपन्देही, दाङ, बाँके र बर्दिया समेत दश जिल्लामा तामझामकासाथ ‘प्याज मिसन’ कार्यक्रम लागु ग¥यो । तर यस परियोजनाको नतिजा पूर्णरुपमा निरासाजनक रह्यो । यो परियोजना सुरु हुँदा अर्थात आ. व. २०६३/६४ मा नेपालमा करिव ५९ करोडको प्याज आयात हुन्थ्यो भने परियोजना समाप्त हुँदासम्मको समय आईपुग्दा अर्थात आ. वा. २०६९/७० मा करिव दुई अर्व रुपैयाँको प्याज आयात भएको थियो । प्याज मिसन संचालन गर्न सरकारले करिव रु ५० करोड खर्च गरेको अनुमान छ ।

परियोजना अन्तरगत अवलोकन, अध्ययनका लागि कतिपय पदाधिकारीहरुले विदेश भ्रमण गरे । यसै परियोजना कै लागि बीउ आपुर्ती गर्न भनेर यन–५३ नामकोे प्याजको जातको उन्मोचन पनि भयो तर यसको बीउ नेपालमा उत्पादन गरिएन, भारतबाट बीउ आयात गरेर वितरण गर्न नै सरकार केन्द्रित भयो । यो ‘मिसन’ कार्यक्रममा अनुसन्धान अथवा प्रविधि विकासलाई कतै नसमेटिएको, उत्पादन सामाग्री खरिद, वितरण, अन्य अनुदान र सेवामा ब्यापक अनियमिता भएका कारण यो परियोजना पूर्ण असफल भयो । तर यसको यथार्थ विवरण कहिल्यै सार्वजनिक गरिएन ।

त्यसपछिका वर्षहरुमा पनि सरकारले जिल्लास्तरमा प्याजको विकास गर्न सानातिना कार्यक्रमहरु संचालन गरिरहेको छ तर प्याजको आयात घट्नुको बदला सालिन्दा बढिरहेको छ । आ. व. २०७४/७५ सम्म आईपुग्दा आयात बढेर ४ अर्व ५० करोड रुपैंयाको हाराहारी पुग्ने भंसार विभागको तथ्याङ्कले देखाउछ । नेपालमा प्याजको आयात भारतबाट नै हुने हुँदा अवैधानिक बाटोबाट भित्रिने र भन्सारमा कम परिमाण देखाउने कारणले गर्दा यसभन्दा अझ बढी परिमाणमा प्याज आयात भएको पक्कै हुनुपर्छ ।

हामी कहाँ चुक्यौ ?
पहिलो, अनुसन्धान प्रणालीलाई नेपालमा असाध्य कमजोर बनाइएको छ । प्याज अनुसन्धानको प्रमुख दायित्व पाएको रुकुम स्थित बागवानी फार्म कृषि विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद्लाई उपलब्ध नै गराएन, कृषि विभाग अन्तरगत राख्यो । कृषि विभागको काम कृषिको प्रसार गर्नु हो । यसरी अनुसन्धान गर्नु पर्ने संस्थालाई अनुसन्धानको पूर्वाधार नै उपलब्ध भएन । यसको परिणाम नार्क स्थापना पश्चात हामीले प्याजको उत्पादन प्रविधि विकासमा धेरै वर्ष कामै गरेनौं र भारतको तुलनामा हाम्रो प्याज उत्पादन प्रविधिको प्रतिष्पर्धात्मक क्षमता ज्यादै कमजोर भयो ।

दोस्रो, विकास गरिएका जेजस्ता नयाँ प्रविधिहरु छन् ती पनि उत्पादन प्रणालीमा जोडिदैनन् वा कममात्र जोडिन्छन् । नेपालमा प्याज लगायत सबै कृषि बस्तुको अनुसन्धान गरी प्रविधि विकास गर्ने र यस्ता प्रविधि कृषक समक्ष पु¥याई उत्पादन बढाउने कार्य गर्न स्थापना भएका सरकारी निकायहरु केन्द्रदेखि जिल्लासम्म धेरै छन् । त्यस्तै यसको ब्यापार गर्ने निजी क्षेत्रको पनि कमी छैन । प्रविधि विकासदेखि बजारीकरणसम्म सम्लग्न निकायहरु एक–आपसमा कार्यगतरुपमा जोडिनु पर्छ, यिनीहरु विच समन्वय हुनुपर्छ ।

यसलाई अन्वेषण प्रणाली (इनोभेसन सिष्टम) भनिन्छ । तर नेपालमा यी निकायहरुको विचमा सहकार्यको त कुरै छोडौं सामान्य समन्वय पनि छैन । यसकोे एक उदाहरण हो प्याजको बेमौसमी उत्पादन प्रविधी । खाद्य कृषि संगठनको आर्थिक तथा प्रविधिक सहयोगमा २०४० को दशकमा संचालीत ताजा तरकारी तथा तरकारी बीउ उत्पादन परियोजना अन्तरगत बेमौसमी अर्थात कार्तिक–मंसिरमा प्याज उत्पादन गर्ने प्रविधिको सिफारिस गरिएको थियो । पछि यस संवन्धि थप धेरै अनुसन्धान भई प्रविधिमा सुधार पनि भयो । तर, यो प्रविधि अझसम्म पनि उत्पादन प्रणालीमा जोडिएको छैन । प्याज मिसन कार्यक्रम असफल हुनुको प्रमुख कारण पनि अन्वेषण प्रणालीमा नजोडिनु नै हो ।

तेस्रो, तथ्यांक यथार्थपरक छैनन् । हरेक वर्ष कृषि मन्त्रालयले विभिन्न कृषि बालीहरु खेती गरिएको क्षेत्रफल, उत्पादन र उत्पादकत्व समेटिएको तथ्यांक प्रकाशित गर्छ । यस्ता तथ्यांक जिल्ला कृषि विकास कार्यालयबाट संकलन भएर आउने गर्दछन् । तर यी तथ्यांक संकलन गर्ने कुनै बैज्ञानिक विधि छैन । हरेक वर्ष केही उत्पादन क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम राखिन्छ । यसको लागि बजेटको पनि ब्यवस्था हुन्छ । कार्यक्रम भएपछि प्रगती देखाउनु प¥यो । किसानले उत्पादन गरुन, नगरुन कार्यक्रम अनुसारका उत्पादनको प्रगती तथ्यांक मन्त्रालय पठाइन्छ । सवै जिल्लाको योग नै राष्ट्रिय तथ्यांक बन्दछ ।

उत्पादन र आपुर्ती संवन्धि सरकारी तथ्यांकको विश्लेषण गर्दा हाम्रा उत्पादनका तथ्यांकहरु यर्थाथपरक छैनन् भन्ने पुष्टी हुन्छ । उदाहरणको लागि आ. व. २०७२/७३ मा दुई लाख ३९ हजार मेट्रिक टन प्याज उत्पादन भएको सरकारी तथ्यांकले देखाउछ । यसै वर्ष कालीमाटी थोक वजारबाट वितरण भएको करिव ३० हजार मेट्रिक टन प्याजमध्ये ९९ प्रतिसत भारतीय प्याज थियो । नेपालमा प्याज उत्पादन अवधि बैसाख, जेठ र असार हो । उत्पादन हुने यो मुख्य अवधिमा पनि कालीमाटी बजारबाट भारतीय प्याज नै प्रमुखरुपमा वितरण हुने गरेको छ । नेपालको प्याज कहाँ जान्छ त ? जाने ठाँउ त काठमाण्डौं लगायतका मुख्यमुख्य बजार नै हुन् । तर अन्य बजारको हालत पनि यही नै हो, भारतीय प्याजले नै भरिभराउ हुन्छन् ।

यसको अर्थ सरकारी तथ्यांकमा उल्लेख भए अनुसारको देशमा प्याजको उत्पादन नै भएको छैन । अर्को अदाहरण पनि हेरैं । कालीमाटी तरकारी बजारबाट २०७४ सालमा विक्रीवितरण भएको ५२० मेट्रिक टन नेपाली स्रोतको प्याजमध्ये ६५ मेट्रिकटन भक्तपुरबाट आपूर्ती भएको भन्ने कालीमाटी बजार विकास समितिको वार्षिक प्रतिवेदनमा उल्लेख छ तर कृषि मन्त्रालयको तथ्याङ्क अनुसार भक्तपुरमा सुख्खा प्याजको उत्पादन नै हुँदैन । त्यसै गरी प्याज मिसन कार्यक्रमको प्रगतिमा देखाइएको उत्पादन विवरण पनि मनगणन्ते नै देखिन्छ । प्याज मिसन संचलन गर्ने केन्द्रिय निकाय कृषि मन्त्रालय अन्तरगतको तरकारी विकास निर्देशनालय थियो ।

यस निर्देशनालयले आ. व. २०६८/६९ सालको बार्षिक प्रगति प्रतिवेदनमा प्याज मिसन संचालन भएका १० वटा जिल्लाहरुको उत्पादन र उत्पादकत्वको तथ्यांक प्रकाशन गरेको छ । प्रकाशित तथ्यांक अनुसार सिराहा र रुपन्देहीमा करिव २६ र बारामा करिव २२ मेट्रिक टन प्रति हेक्टर प्याजको उत्पादकत्व थियो । अन्य जिल्लाहरुमा १२ देखि १५ मेट्रिक टन प्रति हेक्टर मात्र थियो । यो तथ्यांकलाई सत्य मान्ने हो भने सिराहा, बारा र रुपन्देही जिल्लामा हाँसिल भएको उत्पादकत्व ज्यादै राम्रो हो ।

यो उत्पादकत्व भारत र चीनको सरदर उत्पादकत्व क्रमसः १८ र २२ टन प्रति हेक्टरभन्दा निकै बढी हो । यदी प्याज मिसन कार्यक्रमबाट यस किसिमको उत्साहजनक नतिजा प्राप्त भएको भए यस्तो प्रविधि अझ विस्तार भई उत्पादन बढ्नु पर्ने र आयात घट्नु पर्ने थियो । तर त्यसो हुन सकेन, उल्टो आयात निरन्तररुपमा बढिरयो । मिसन कार्यक्रम लागु भएका सिराहा र बारा जिल्लामा आ. व. २०७२/७३ मा प्याजको उत्पादकत्व घटेर १५ देखि १६ टन प्रति हेक्टर मात्र भएको कृषि विकास मन्त्रालयकोे तथ्यांकले देखाएबाट पनि हाम्रा कृषि उत्पादन परिमाण यथार्थपरक हुदैनन्, लक्ष्य पुरा गर्न बनावटीरुपमा प्रस्तुत गरिन्छन् भन्ने पुष्टि हुन्छ । मिसन कार्यक्रम जस्ता परियोजनामा बजेट पुष्ट्याई गर्न बढी लक्ष्य राखियो, बढी नै प्रगती देखाइयो, परियोजना सकियो उत्पादन लक्ष्य पनि घटाइयो, प्रगती पनि त्यही अनुसार देखाइयो ।

अवको बाटो
ड्ड नेपाली प्याज उत्पादनलाई नाफामूलक र भारतीय तथा चीनिया प्याजसंग बजारमा प्रतिष्पर्धी बनाउन नियमितरुपमा उच्चस्तरीय अनुसन्धान गरी प्रविधिको विकास गर्नुपर्ने हुन्छ । प्याज अनुसन्धानको लागि कुनै एक उपयुक्त अनुसन्धान केन्द्रलाई जिम्मेवारी दिनु पर्दछ । यसको साथै प्याजको अनुसन्धान र विकासमा काम गर्ने पूर्णकालिन विज्ञ टोली तयार तयार गर्नु पर्दछ र यिनै विज्ञको टोलीको नेतृत्वमा प्याज उत्पादनका कार्यक्रम संचालन गरिनु पर्दछ । आधुनिक प्रविधिले निर्देशन गरेको दिशामा मात्र उत्पादनका सवै ठूला कार्यक्रम संचालन गर्नु जरुरी छ ।

  • हाम्रा उत्पादनका तथ्यांक यथार्थपरक छैनन् । यस प्रकारका तथ्यांकका आधारमा तयार गरिएका योजनाले अपेक्षित उपलब्धी दिन सत्तैmनन् । त्यसैले नयाँ उत्पादन कार्यक्रम सुरु गर्नपूर्व वर्तमान उत्पादन र बजार आपूर्तीसंवन्धि तथ्यांकहरु बैज्ञानिक प्रक्रियाले संकलन गरी अध्यावधिक गर्नुपर्छ ।
  • राष्ट्रिय उत्पादनलाई संरक्षण गर्न आवश्यक परे आयातमा कर बढाउने तथा कानूनी संरक्षण गर्न पनि राज्य पछाडी पर्नु हुदैन ।
  • नेपालमा बैशाख–जेठ र कार्तिक–मंसीरमा प्याज उत्पादन गर्न सकिन्छ । यी दुवै सिजनमा प्याज उत्पादन कार्यक्रम संचालन गर्नु पर्दछ ।
  • स्वदेशी उत्पादनलाई लामो समयसम्म बजारमा उपलब्ध गराउन शीत भण्डारणको पनि ब्यवस्था हुनुपर्दछ ।
  • सबैभन्दा महत्वपूर्ण कुरो वर्षेनी ठूलो मात्रामा आयात बढिरहेका प्याजजस्ता बालीहरुको उत्पादन बृध्दिमा राज्यसंयन्त्र ज्यादै संवेदनशिल हुनुपर्दछ । सरकारबाट संचालित कृषि परियोजनाहरुको सफलता उत्पादन समाग्री तथा अनुदान वितरण गरेको आधारमा नभएर परियोजनाले आयात प्रतिष्ठापन वा निर्यात प्रवर्धनमा पु¥याएको योगदानको आधारमा मापन गरिनुपर्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :