पशुपन्छीलाई कस्तो आहार खुवाइरहेका छौं ?

यो समाचार 261 पटक पढिएको

• जनकबहादुर धामी / हामीले भर्खरै पशुपन्छी मन्त्रालय, पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय, केन्द्रीय गाईभैँसी कार्यालय, पशु अन्वेषण प्रयोगशाला, पत्रकारलगायतको टोलीले चितवन र मकवानपुरका केही दाना उद्योगहरूको अनुगमन गर्यौं । त्यसक्रममा देखिएका कमीकमजोरी सुधार्न हामीले सुझाव पनि दिएका छौं । यसले दाना उद्योगीहरूलाई सचेत गराएको छ । आगामी दिनमा अनुगमनलाई बढाउनेसँगै निरन्तरता दिनु आवश्यक छ ।

उद्योगी तथा व्यवसायीको हिसाबले पनि सबैभन्दा टड्कारो आवश्यकता पनि यही हो । तर, राज्य यसलाई बुझ्न सकेको छैन । त्यति मात्र होइन, उद्योगी तथा व्यापारीले पनि यो बुझ्न सकेका छैनन् । भेटेरिनरी क्षेत्रमा काम गर्नेले पनि यसबारे बुझेका छैनन् । भेटेरिनरीका मान्छेले सुई हान्ने अथवा उपचार गर्ने मात्रै बुझे ।

पशुपन्छी मन्त्रालय स्थापना भएलगत्तै पशुपन्छी उत्पादन दुध, फुल, मासुमा आत्मनिर्भर हुने कार्यक्रम ल्याइएको छ । ४० बुँदे प्रतिबद्धता पनि गरियो । र, यो मन्त्रालयलाई किसानको साथीको रूपमा अघि बढ्छौं भन्ने हिसावकितावमा पनि अगाडि बढियो । तर, विडम्बना के हो भने जुन हिसावले पशुपन्छी विकास मन्त्रालय स्थापना भयो त्यो हिसावमा फड्को मार्न सकेनौं ।

अहिले अन्य मन्त्रालयहरु समेत मर्ज भएर कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय (पशुपन्छी विकास) रहेको छ । यसमा अलि धिमा गतिमा अघि बढ्यौं भन्ने बुझाइ पनि छ । दुध, फुल मासु उत्पादन गर्दा सबैभन्दा पहिले ति उत्पादन गर्ने वस्तुहरू त हुनुपर्यो । दुध उत्पादन गर्न गाईभैँसी वा बाख्रा हुनुपर्यो । मासु उत्पादन गर्न कुखुरा, भैँसी, बंगुर, भेडा–बाख्रा हुनुपर्यो । अण्डाका लागि कुखुरा हुनुपर्यो । तर, पशुपन्छी भएर मात्रै उत्पादन बढ्ने होइन । यसमा पशुपन्छीलाई खुवाउने दानाको भूमिका महत्वपूर्ण हुन्छ । दाना स्वस्थकर छ कि छैन ? यसमा ध्यान पुर्याउनु जरुरी हुन्छ । तर, यसमा न राज्यको ध्यान पुग्न सकेको छ न त दाना उत्पादक व्यावसायीको । पशुपालक किसानले पनि यसमा ध्यान पुर्याउन सकेका छैनन् ।

खर्बौंको कारोबार गर्ने कुखुरा व्यावसायी दानाबाट पीडित छन् भन्ने गुनासो सुनिन्छ । कतिपय त गुणस्तरहीन दानाले कुखुरा मरेको भन्ने गुनासा समेत लिएर आउने गरेका छन् । कुखुरापालकले ल्याएका नमुना परीक्षण गर्दा त्यस्तै देखिन्छ । पशुपन्छीलाई गुणस्तरीय दाना खुवाए मात्रै त्यसको उत्पादन गुणस्तरीय हुन्छ ।

गुणस्तरीय (पोषिलो) दाना खाएको पशुपन्छीहरूको उत्पादन गुणस्तरीय हुन्छ । एन्टिबायोटिक र टक्सिन मिसिएको दाना खाने पशुपन्छीबाट उत्पादित वस्तुमा त्यो सरेर आउँछ । र, त्यो वस्तु उपभोग गर्नेलाई विभिन्न रोगहरू निम्तन सक्ने अवस्था हुन्छ ।

मासु उपभोग गर्नेले मासु स्वस्थ छरछैन भनेर खोज्छौं । तर, मासु उत्पादन गर्ने पशुपन्छी गुणस्तरीय छरछैन भनेर चासो दिँदैनौं । पशुपन्छी स्वस्थ हुन त्यसले स्वस्थकर दाना खाएको छ कि छैन भन्ने ध्यान दिनुपर्छ । अनि मात्रै त्यसको उत्पादन स्वस्थ हुन्छ ।

त्यसैले सात वटै प्रदेशमा लाइभष्टक गुणस्तर प्रयोगशाला हुनुपर्छ । गुणस्तरीय दाना भएन भने सबै क्षेत्रलाई त्यसको असर पर्छ । पहिलो दाना व्यावसायीलाई नै असर पर्छ । किनकि पशुपालक किसानले किनेको कुनै दानाले पशुमा राम्रो प्रभाव देखिएन भने दोस्रोपटक किसानले त्यो दाना किन्दैन । यसले दाना व्यावसायीलाई असर गर्छ ।

दोस्रो, पशुपालक किसानमा यसको असर पर्छ । ‘गुणस्तरहीन’ दाना खुवाएपछि पशुपन्छी मर्न थालेपछि पशुपालक घाटामा जान्छन् । तेस्रो, आम उपभोक्तामा पनि यसको असर पर्छ । गुणस्तरहीन वा विशाक्तयुक्त दाना खुवाएका पशुपन्छीको उत्पादन उपभोग गरे रोग संक्रमणको जोखिम हुन्छ । यसको

उपचारमा ठूलो धनराशी खर्च हुन सक्छ । कतिपय अवस्थामा सन्चो नहुने रोग पनि लाग्न सक्छ । यस्तो अवस्थामा सबैभन्दा बढी असर आम उपभोक्तालाई नै पर्छ । त्यसकारण पशुपन्छीको खुवाउने दानामा सम्बद्ध सबै पक्षको ध्यान पुग्नु आवश्यक छ ।

सबैभन्दा पहिलो पाटो आहारा हो । पशुपन्छी बाँच्नुपर्यो । केही नखाइकन त त्यसले उत्पादन दिन सक्दैन । बाँच्नका लागि आहारा चाहिन्छ । आहारा नै पोसिलो वा गुणस्तरीय छैन भने उसको न वृद्धि विकास हुन्छ, न त प्रजनन तथा उत्पादन नै गर्न सक्छ । प्रजनन् तथा उत्पादन भएन भने त्यही ब्लक भइहाल्यो । उत्पादन भयो भने पनि गुणस्तरहीन हुन्छ । किनकि गुणस्तरहीन पदार्थ खाएपछि गुणस्तरहीन नै उत्पादन हुन्छ ।

यसबारे केही दाना उत्पादकलाई जानकारी नहुन सक्छ । केहीले जानाजान गरेको पनि हुन सक्छ । सबै मानिसहरू बदमास हुन्छन् भन्ने हुँदैन । कसैले गुणस्तरहीन चिज मिसाएर दाना उत्पादन गरेको रहेछ त्यसले पशुपन्छीलाई असर गर्छ । यस्तो दाना खाने पशुपन्छी बिरामी हुन वा मर्न पनि सक्छन् । बिरामी भएर उपचार गराउँदा खर्च हुन्छ भने मर्दा त्यसै घाटा हुने नै भयो ।

मरेको बोका वा खसीको मासु बजारबाट किनेर खाइरहेको छ भने त्यसले त झनै असर गर्ने भइहाल्यो । स्वस्थ देखिएको जस्तो भए पनि त्यो बिसाक्तयुक्त दाना खाएका पशुपन्छीले उत्पादन गरेको दुध, फुल, मासु खाँदा बिरामी हुने सम्भावना हुन्छ ।

त्यसकारण गुणस्तरीय दाना उत्पादनमा सबैभन्दा पहिले दाना उद्योग व्यावसायी जिम्मेवार हुनुपर्छ । दोस्रो, पशुपन्छी व्यावसायी पनि यसमा जिम्मेवार हुनुपर्छ । व्यावसायीले पनि कस्तो दाना खरिद गरिरहेका छौं भन्ने ख्याल गर्नुपर्छ ।

(कुराकानीमा आधारित)

रचनात्मक प्रतिक्रिया दिनुहोस् :