बहुगुणी बदाम किन अपहेलित !

यो समाचार 177 पटक पढिएको

डा. श्रीभगवान ठाकुर
बदाम ‘अराकिस हाइपोगाई एल’ नेपालको तराई–मधेसको बगरदेखि मध्य पहाडको टारसम्म हुने पौष्टिक गुणले भरिएको तेलहन तथा नगदेबाली हो । यसको फूल जमिनमाथि फुल्ने तर (फल) कोशा माटोमुनि फल्ने फरक किसिमको बाली हो ।


यसलाई विभिन्न नाम : मोमफली, बदाम, चिनियाँ बदाम, पिनट, ग्राउन्डनट, मोन्डनट, मंकनट, ज्याकनट, अर्थनट, मनिलानट, आदि नामले चिनिन्छ । यो तराई–मधेसको नदी, खोला किनाराका बगरमा र जंगल फडानी भएको स्थानमा तथा मध्यपहाडी जिल्लाहरूमा रातो माटो भएका असिञ्चित टारहरूमा खेती गर्ने गरेको पाइन्छ । यसको उत्पादकत्व अरू देशहरूको तुलनामा कम, ८ सयदेखि १ हजार केजी, प्रतिहेक्टर छ ।

उत्पादकत्व कम हुनुमा उन्नत बिउ तथा उन्नत प्रविधि नअपनाउनु हो । बदाम पोषण र स्वास्थ्यका लागि राम्रो आम्दानी सुधार गर्ने बाली हो । नेपालमा बदाम प्रवद्र्धनको प्रयास धेरै पहिलेदेखि गरिए पनि यसको क्षेत्रफल, उत्पादकत्व र उपयोगिता बढ्न सकेको छैन ।

बदाम गरिब, धनी सबैले गर्छन् । बदामको सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, पौष्टिक, औषधीय एवं औद्योगिक महŒव छ । यसको कोसा भुटेर दिउल खाने र विभिन्न परिकारमा मिसाउने गरिन्छ । वनस्पति घ्यू उद्योग तथा तेल प्रशोधन कारखानाले कच्चा पदार्थका रूपमा बदाम प्रयोग गर्छन् ।

जाडोमा घाम ताप्दै, बस–ट्रेनमा यात्रा गर्दै, सिनेमा–सर्कस हेर्दै, रंगशालामाखेल हेर्दै, आमसभामा भाषण सुन्दै भुटेको बदाम खाने चलन छ । यो बढी भाउमा बिक्ने कोसेबाली, प्रोटिन र तेल दिने नगदे बाली हो । फागु पूर्णिमामा होलिका दहनपछि खुशीयाली मनाउन रंग–अबीरसँगै बदाम सुपारी दिने चलन छ । हिन्दू तथा मुसलमानहरूको बिहेका केटालाई रूमालमा बाँधेर रुपैयाँसँगै बदाम सुपारी दिने चलन छ । बदाम शुभवस्तुका रूपमा पूजापाठ, बिहे र विभिन्न खुशीयालीमा प्रयोग हुन्छ ।

बदाममा २० प्रतिशत कार्बोहाडे«ट, २६ प्रतिशत प्रोटीन र ४५–५० प्रतिशत फ्याट, १३ किसिमका भिटामिन र २६ किसिमका अत्यावश्यक खनिज तŒवहरू पाइन्छ । यसमा उच्चस्तरको प्रोटिनसहित थायमिन, राइबोफ्लाविन, निकोटिनिक एसिड, भिटामिन डी तथा भिटामिन ई पाइन्छ । बदामको पाउडर, पिठो, दूध, चकलेट, क्यान्डी, आदि बनाउन प्रयोग गरिन्छ । खनिजमा क्याल्सियम, फोसफोरस र फलाम बढी पाइन्छ । त्यसैले बदाम ‘गरिबको काजु’ नामले पनि प्रख्यात छ ।

बदाममा प्रोटिनको मात्रा मासुमा भन्दा १.३ गुणा, अन्डामा भन्दा २.५ गुणा र फलभन्दा ८ गुणा बढी हुन्छ । सय ग्राम काँचो बदाममा एक लिटर दूध बराबरको प्रोटिन हुन्छ । दुई २५० ग्राम भुटेको बदाममा जति मात्रामा खनिज र भिटामिन पाइन्छ, त्यो २५० ग्राम मासुबाट पनि पाइँदैन । यसैगरी, २५० ग्राम बदामको मख्खनबाट ३ सय ग्राम पनिर, दुई लिटर दूध, १५ वटा अन्डा बराबरको ऊर्जा प्राप्त हुन्छ ।

एउटा अन्डाको मूल्यबराबरको बदाममा जति प्रोटिन र ऊर्जा हुन्छ, त्यति दूध र अण्डा मिलाउँदा पनि हुँदैन । एक अध्ययनअनुसार सय ग्राम बदाममा ९३ मिलिग्राम क्याल्सियम, ११.४४ मिलि ग्राम तामा, ४.५८ मिलिग्राम फलाम, १६८ मिलिग्राम म्यागनेसियम, १.९३ मिलिग्राम म्यांगनिज, ३७६ मिलिग्राम फोसफोरस, ७०५ मिलिग्राम पोटासियम, १८ मिलिग्राम सोडियम, ३.२७ मिलिग्राम जिंकका साथै १६.१३ ग्राम कार्बोहाइडे«ट, ४९.२४ ग्राम फ्याट, २५.८० ग्राम प्रोटिन, ८.५ ग्राम फाइबर र पानी ६.५ ग्राम पाइन्छ ।

बदामबाट तेल निकालेपछिको पिना प्रांगारिक मल र पशुवस्तुको दानामा प्रयोग हुन्छ । पिनामा ७–८ प्रतिशत नाइट्रोजन, १.५ प्रतिशत फोसफोरस र १.५ प्रतिशत पोटास पाइन्छ । यसको जरामा नाइट्रोजन स्थिरीकरण गर्ने गिर्खा प्रशस्त पाइने हुनाले बदामबाली खेतको बाली फेर्न राम्रो मानिन्छ जसबाट माटोको उर्वराशक्ति बढ्दछ । बदामको हरियो डाँठ घाँसको रूपमा उपयोग गरिन्छ ।

बदाम औषधीय गुणले भरिपूर्ण छ । आधा मुठी बदाममा ४२६ क्यालोरी शक्ति हुन्छ । बदाम आइरन, नियासिन, फोलेट, क्याल्सियम र जिंकको राम्रो स्रोत हो । पौष्टिक पदार्थले भरिभराउ बदाम क्यान्सर प्रतिरोधी हुन्छ । यसले कोलस्ट्रोल कम गर्ने क्षमता राख्छ । मुटुरोग कम गर्न सघाउँछ । यसले पाचनशक्ति बढाउँछ । भुटेको बदाम एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

यसमा अंगुर, अंगुरको रस, हरियो चिया, गोलभेँडा, पालुंगो, ब्रोकाउली, गाजरभन्दा बढी मात्रामा उच्च एन्टिअक्सिडेन्ट क्षमता छ । नुन नहालेको बदाममा मोनो स्याचुरेटेड बोसो धेरै हुन्छ । यो स्वस्थ्य धमनीका लागि राम्रो मानिन्छ । धमनीलाई स्वस्थ राख्न रगतमा कोलेस्ट्रोलको स्तर ठीक हुनुपर्छ । बदाम सेवनले कब्जियत, छालाको रोग, क्षयरोग, हेपाटाइटीस, हिमोफिलिया, रगतको रोग, नाकको रगत बहाव, महिलाको महिनावारीको अधिक रक्तश्राव, कुपोषणजस्ता समस्या कम गर्छ ।

बदाम महिला र पुरुषमा हार्मोनको विकासका लागि समेत उपयोगी हुन्छ । यसमा क्याल्सियम र भिटामिन डी बढी मात्रामा हुने भएकाले दाँत र हाडको लागि राम्रो हुन्छ । काँचो बदाम खानाले सुत्केरी आमाको दूध बढ्छ । यसले शरीरमा गर्मी उत्पन्न गर्ने भएकाले चिसो याममा बढी लाभदायक छ ।

बदाम बलौटेदेखि बलौटे दोमट माटोमा तराई मधेसदेखि मध्य पहाडसम्म जेठ असारमा रोपेर कात्तिकमा बाली निकालिन्छ । कम सिँचाइ सुविधा भएको ठाउँमा धानको विकल्पको रूपमा खेती गरी हिउँदमा मकै, गहुँ, दलहन, तेलहन, तरकारी खेती गर्न सकिन्छ । यसको जरामा गिर्खा भएकोले नाइट्रोजन स्थिरीकरण गर्छ र माटो मलिलो बनाउन मद्दत गर्छ ।

यसका केही जातहरूको जरा एक मिटरसम्म जाने भएकोले, पातको बनावटले पानीको प्रभावकारी सदुपयोग गर्ने भएकोले सुख्खा क्षेत्रमा धेरै फाइदा लिन सकिन्छ ।

बदाम यति गुणी बाली भए पनि हेला भएको छ । बदामको गुण र उपयोगितालाई ध्यानमा राखेर नेपालको समृद्धिका लागि संघीय सरकार, प्रादेशिक सरकार तथा स्थानीय सरकारले हावापानी र माटो सुहाउँदो जग्गामा खेती गर्न सेवा सुविधा दिई बदाम प्रबद्र्धनमा जोड दिनु आवश्यक छ ।
(लेखकले बदाममा विद्यावारिधि गरेका छन् ।)

रचनात्मक प्रतिक्रिया दिनुहोस् :