कोरियाको भिसा त्यागेर माछापालन

यो समाचार 439 पटक पढिएको

बेंसीसहर । केही वर्ष अघिसम्म हिमाली जिल्ला मनाङ माछा नपाइने जिल्लाको रूपमा चिनिन्थ्यो। तर अहिले यसको पहिचान फेरिएको छ। मनाङमा पनि माछा पाउन थालिएको छ।

मनाङको नासों गाउँपालिका–९ दानाक्युमा रेम्बो ट्राउट माछापालन थालिएको हो। समुन्द्री सतहबाट २ हजार २ सय मिटर उचाइमा रहेको दानाक्युमा स्थानीय ३३ बर्से अपिल लामाले रेन्बो ट्राउट माछापालन गरेका हुन्।

सिंगापुरमा ‘ए’ लेभल पढ्दापढ्दै स्वदेशमा फर्केर लामाले माछापालन थालेका हुन् । उनको दक्षिण कोरियाका लागि बहुआयमिक भिसा पनि लागेको थियो। तर भिसा सिरानीमा राखेर उनी माछा स्याहार्न व्यस्त छन्। उनलाई पत्नी दिलमाया गुरुङले पनि साथ दिएकी छन् ।

माछा राख्न ३० वटा रेसवे बनाइएको छ । भुरा उत्पादनका लागि ८ वटा रेसवे छ । करिब ३ रोपनी क्षेत्रफलमा संरचना बनाइएको छ। एउटा रेसवेमा ५ हजार माछाका भुरा राखिएका छन्। लामाका अनुसार अहिले ७ हजार माछा हुर्काइएको छ । नुवाकोट सुनखानीबाट माछाका भुरा ल्याएर उनले माछापालन गरेका हुन्। मत्स्य अनुसन्धान केन्द्र बेगनास तालले प्राविधिक सहयोग गरिरहेको उनले बताए ।

प्रतिकिलो १ हजार ३ सय रुपैयाँका दरले माछा बिक्री हुने गरेको छ । माछा बिक्रीबाट मासिक १ लाख २० हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको लामाले बताए । उनको मासिक खर्च भने ३० हजार मात्र छ । प्रत्येक दिन १२ देखि १५ किलोसम्म माछा बेच्ने गरेको उनले बताए। मागअनुसार माछा पु¥याउन नसकिएको उनले बताए। हिमाली आयोजनाको ५६ लाख सहयोग, आफ्नै २५ प्रतिशत गरी कुल ८५ लाख रुपैयाँ लगानीमा माछापालन थालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३३ लाख रुपैयाँ बराबरको सोलार पनि सहयोग गरेको छ । माछापालनस्थलमा २ वटा स्ट्रिट लाइट राखिएका छन्।

अन्नपूर्ण पदमार्गको छेउमै रहेको यस फार्ममा स्याक्यु खोलाको चिसो पानीमा माछाहरू खेलिरहेको मनोरम दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :