तराईमा आज दिमाग ठण्डा राख्न कृषि पर्व जुडसितल मनाइदैं

यो समाचार 256 पटक पढिएको

काठमाडौं । बढ्दो गर्मी र लगातार बहँदो तातो हावा चलिरहेको अहिलेको मौसममा मिथिलामा आज(बैंशाख २ गते) जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउँदै छन् ।


वैशाख संक्रान्तिअर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुरु गरिन्छ । पहिलो दिन चना ९बदाम०, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ ।

पर्वको दोस्रो दिनअर्थात् आज घर(घरमा श्रेष्ठ सदस्यले घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा कृषि उपजहरु चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल (मिथिलावासी) आज मध्याह्न साथीसंगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गरी सिरुवा पर्व पनि खेलेका छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो ।

सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिन जुटेका छन् । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नुनै सो आशिषको मुख्य उद्देश्य हो । त्यसकारण, मैथिल समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्छन् ।

यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।

सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी बासीभात, दही, चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका ‘बासीभात’ नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।

यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार, सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।

गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन र वैशाख महिनामा हावा पनि चल्ने गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।

यसका साथै, एक अर्कामाथि हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।

यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी, दही र चिनी अनिवार्य रुपमा खाने गरिन्छ । मैथिल, थारु, राजवंशी, सतारलगायतका समुदायले आ–आफ्ना धार्मिक एवं संस्कतिअनुसार पर्व मनाउने गर्छन् । मैथिल समुदायबाहेक अन्य समुदायले मासु पनि खाने गर्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :