हरियो डाँडामाथि हलो जोत्ने साथी, हो हो माले हो हो…..

यो समाचार 1149 पटक पढिएको

 

हरियो डाँडामाथि हलो जोत्ने साथी

हो हो माले हो हो, हो हो तारे हो हो
ह ह ह ह ह ह हो ……

चाम्रो माटो माथि बाल्दै मनको बाती
डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई
हो हो झुले हो हो हो हो लुरे हो हो ।

जनकवि केशरी धर्मराज थापाको यो सदाबहार गीत असारमा मात्र होइन, अन्य महिनामा पनि उत्तिकै सुनिने गरिन्छ । धर्मराज थापाको यो गीत मात्रै होइन, हाम्रा गाउँबेसी र तराईका फाँटहरुमा पनि असारमा आफ्नै परम्परा र संस्कृति झल्काउने खालका असारे गीत प्रचलनमा रहेका छन् । असारे रोपाँईको समयमा यो गीतको आफ्नै महत्व छ । रोपाँईको रमझम राजधानीदेखि ग्रामिण परिवेशसम्म त्यतिकै झल्किन्छ ।

बिशेष गरी ‘माना रोपेर मुरी उब्जाउने’ भनि धान दिवस र असारको रोपाइँलाई भन्ने गरिन्छ । किसानहरुको राष्ट्रिय पर्व असार १५ राष्ट्रिय रुपमा भव्यतामा मनाउनै पर्ने हाम्रो चलन छ । दहि च्युरा खाएर हिलाम्मे खेतमा हिलो छ्यापेर मनाइने यो पर्वको मौलिकतालाई नकार्न सकिंदैंन् । असार १५ को अवसरमा धानसम्बन्धी केही विशेष फोटो फिचर हेर्नुहोस् ।
यो बर्ष मनसुनी पानीले धानबालीलाई त्यति साथ दिएको छैंन् । यसले गर्दा यस वर्ष धानबाली उत्पादनमा ५ प्रतिशत कमी आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मौसमका कारण ५ प्रतिशत कम उत्पादन हुने उल्लेख छ। अर्थात् ५६ लाख १० हजार टन हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण गरिएको छ। समयमा रासायनिक मलसमेत उपलब्ध नहुने हो भने धानबाली उत्पादनमा थप परिमाणमा गिरावट आउने सम्भावना छ।
मनसुनी वर्षा सबैतिर सक्रिय नहुँदा अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब साढे ४ प्रतिशतले यस वर्ष कम रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा १५.९ प्रतिशत हाराहारीमा रोपाइँ सकिए पनि यस वर्ष ११.६४ प्रतिशत हाराहारीमा मात्रै रोपाइँ सकिएको छ। सबैभन्दा कम तराईमा करिब ९.५९ प्रतिशत, सबैभन्दा बढी तर क्षेत्रफल निकै कम भएको उच्च पहाडमा २६.३१ र मध्यपहाडी भेगमा १५.१२ प्रतिशतका दरले किसानले धान रोपाइँ गरेका छन्। धान रोपाइँका लागि तराईमा १० लाख ९४ हजार ६ सय ३६ हेक्टर, मध्यपहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र उच्च पहाडमा ५८ हजार एक सय ५८ हेक्टर जमिन छ।
नेपालको कुल धानखेती हुने क्षेत्रफल १५ लाख हेक्टरमध्ये करिब २५ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ। धानबालीलाई मुलुकको मूल अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ। जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को अवस्था पनि खुम्चिन्छ। धान उत्पादनमा १० प्रतिशतले तल–माथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ। जीडीपीमा धानको योगदान ४ प्रतिशतभन्दा बढी छ। जीडीपीमा समग्र कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान भने २७ प्रतिशत छ। तर, धानले मात्रै जीडीपीमा २० प्रतिशतले योगदान पु¥याउँदै आएको छ ।

नेपालको कुल खेतीयोग्य जमिनमध्ये ४८।३ प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। उनका अनुसार नेपालमा वार्षिक ६९ लाख टन धानको माग छ। चामलको हिसाब गर्दा ४६ लाख ९२ हजार टनको माग छ। तर, उत्पादन हुने धानको हिसाब गर्दा बर्सेनि ५ देखि ६ लाख टन चामल अपुग छ। अपुग हुने चामल भारतबाट आयात हुन्छ।