जो कृषि गर्दैनन्, उ पढ्छन् बिएस्सी एजी

यो समाचार 153 पटक पढिएको

काठमाडौं । कृषि शिक्षामा विद्यार्थीको आकर्षण बढेको छ । यससँगै ब्याचलर अफ साइन्स इन एग्रिकल्चर (बिएस्सी एजी) कार्यक्रम सञ्चालनका लागि सम्बन्धन माग्ने क्याम्पसहरूको दबाब विश्वविद्यालयमाथि बढेको छ । त्रिभुवन विश्वविद्यालय, कृषि विश्वविद्यालय तथा संस्कृत विश्वविद्यालयले समेत यो शैक्षिक कार्यक्रम विस्तार गर्न पहल गरिरहेका छन् ।

हाल त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ । ‘एक जिल्ला कम्तीमा एउटा कृषि क्याम्पस’ सञ्चालनको नीतिमा सरकार छ । निजी क्षेत्रमा कृषि क्याम्पस सञ्चालनका लागि सम्बन्धन माग्नेको निवेदनको चाङ पनि कम्ती छैन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्ना चार आंगिक क्याम्पसमा बिएससी–एजी सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले केही समयअघि आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको थियो । तर, विद्यार्थी तथा प्राध्यापकको विरोधपछि सम्बन्धन खारेज गरेको छ । अहिले आफ्नै थप आंगिक क्याम्पस खोल्ने तयारीमा यो विश्वविद्यालय रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले झन्डै दुई दर्जन कृषि क्याम्पसलाई सम्बन्धन दिने तयारी गरेको छ । सम्भाव्यता अध्ययन गरेर सम्बन्धन दिने तयारी गरेको भए पनि सरकारले नयाँ सम्बन्धन नदिन पत्राचार गरेपछि त्रिवि अन्योलमा छ । कार्यक्रम थपका लागि भने सरकारले बाटो खुला गरेको छ । सीपमूलक तथा व्यावहारिक शिक्षा भएकाले नै कृषि शिक्षामा आकर्षण बढेको हो । बिएससी–एजी अध्ययन गरेका जनशक्तिले देश–विदेशमा पाउने अवसर पनि यसको मुख्य कारण भएको जानकारहरू बताउँछन् ।

विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्दै आएको संस्कृत विश्वविद्यालयसमेत कृषि शिक्षामा आकर्षित देखिनुले यो शिक्षाको व्यावहारिकता पुष्टि गर्छ । सो विश्वविद्यालयले बौद्धिक कृषि कार्यक्रम सञ्चालनको तयारी गर्दै छ । विश्वविद्यालयका रेक्टर प्रा. रमेश ढकालले बौद्धिक कृषि कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरी पाठ्यक्रम निर्माणको तयारी भएको बताए । तुलसीपुर उपमहानगरपालिकाले चासो राखेपछि विश्वविद्यालय सो कार्यक्रमको कोर्स तयार पार्न लागेको उनले बताए ।

जो कृषि गर्दैनन्, उसैलाई कृषि शिक्षाको अवसर
कृषि गर्न नचाहनेले नै स्नातक तहको बिएससी–एजी अध्ययनको अवसर पाउने गरेका छन् । निजी तथा आवासीय (बोर्डिङ) स्कुल पढेका, खेतबारीसँग परिचित नभएकाहरूले नै बिएससी–एजी अध्ययनको अवसर पाउने गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा। ईश्वरीप्रसाद ढकालले बिएससी–एजीको प्रवेश परीक्षामा प्रायः सहरका निजी स्कुलमा पढेकाले नाम निकाल्ने गरेको स्वीकार गरे । ‘पारिवारिक रूपमा कृषि पेसा गर्दै आएको र पछि पनि कृषिलाई नै आफ्नो पेसा बनाउन चाहने सरकारी विद्यालयमा पढेका विद्यार्थीले यो विषय पढ्न अवसर पाउनुपर्ने हो,’ उनले भने, ‘तर, त्यस्ता विद्यार्थी कमैले प्रवेश परीक्षामा नाम निकाल्छन् । नाम निकाल्नेमा कृषिसँग साइनो कमै भएका विद्यार्थी बढी छन् ।’ त्यस्तो अवस्था अन्त्य गर्न प्रवेश परीक्षाको मोडालिटी परिवर्तन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

विदेश जाने धेरै
नेपालमा कृषि शिक्षा लिएका अधिकांश विदेश जाने गरेका छन् । विदेशमा छात्रवृत्ति पाइने र धेरै कमाउन सकिने आशमा धेरैले कृषि शिक्षा लिने गरेको जानकारहरूको भनाइ छ । तर, नेपालमै भने कृषि क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । कृषि पढेर कृषि उद्यमी बन्ने लक्ष्य भएका विद्यार्थीको संख्या कम छ ।

विदेशमा कृषि पढेकाहरू फिल्डमा खटिने गर्छन् । पिएचडी गरेकाले पनि विदेशमा ट्र्याक्टर चलाउने, फिल्डमा जाने जस्ता किसानको काम गर्छन् । तर, कृषि शिक्षा लिएका नेपाली विद्यार्थी भने आफ्नै देशमा काम गर्न लाज मान्छन् । पढेलेखेक मानिसले खेती किसानी गर्नु हुँदैन भन्ने परम्परागत सोच अझै परिवर्तन हुन नसक्दा यस्तो अवस्था आएको विज्ञ बताउँछन् । जागिरे मानसिकताले अझै नेपालीलाई उद्यमशील बनाउन रोकेको छ । कृषि विश्वविद्यालयका उपकुलपति प्रा। ढकाल भन्छन्, ‘आर्थिक अवस्थाले पनि पढेपछि सकेसम्म सरकारी जागिर खानुपर्ने मानसिकताले काम गरेको छ ।’

कोटा कम, आकर्षण बढी
अहिले पनि नेपालका झन्डै ७० प्रतिशत मानिस कृषि पेसामा छन् । तर, व्यावसायिक कृषि गर्ने संख्या भने निकै कम छ । कृषि शिक्षातर्फ युवा आकर्षण बढ्दो भए पनि अवसर भने कम छन् । उपकुलपति ढकालका अनुसार अघिल्लो वर्ष कृषि विश्वविद्यालयको आंगिक कयाम्पसमा दुई सय १५ सिट क्षमता हुँदा अध्ययनका लागि चार हजार दुई सय आवेदन परेका थिए । सस्तो शुल्क र गुणस्तरीय शिक्षाका कारण विश्वविद्यालयका आंगिक क्याम्पसमा आवेदन भर्नेको संख्या धेरै हुने गरेको छ ।

बिएससी–एजी पढेपछि छात्रवृत्तिमा विदेशमा माथिल्लो तह अध्ययनको अवसर पाइने सम्भावना र प्राविधिक विषय पनि पढ्नुपर्छ भन्ने धारणाको विकासले पनि यसमा विद्यार्थीको आकर्षण बढेको छ । यो विषय पढेका विद्यार्थी बेरोजगार छैनन् । सरकारदेखि, उद्योग एनजिओ, आइएनजिओ, ट्रेड स्कुलदेखि धेरै क्षेत्रमा काम पाउँछन् । नार्कमा धेरै जनशक्तिले अवसर पाउने गरेका छन् । यो विषय अध्ययन गर्नेहरूलाई रोजगारीको समेत ग्यारेन्टी छ ।

कुन विश्वविद्यालयमा कति कोटा ?
कृषि तथा वन विज्ञान : ३६५
त्रिभुवन : ५००
पूर्वाञ्चल : २००
जम्मा :  १०६५
स्रोत नयाँ पत्रिका

रचनात्मक प्रतिक्रिया दिनुहोस् :