सात प्रदेशमा १२.३३ हजार मेगावाट विद्युत उत्पादन गरिने

यो समाचार 263 पटक पढिएको

काठमाण्डौ । उर्जामन्त्री वर्षमान पुनले उर्जा विकासका लागि निकै महत्वकांक्षी मार्गचित्र सार्वजनिक गरेका छन् ।

अर्थमन्त्रालय बजेट निर्माणमा जुटिरहँदा उर्जामन्त्री पुनले भने आफ्नो मन्त्रालयबाट बजेटमा समेटिने कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत गरेका हुन् ।

उनले प्रस्तुत गरेको ३४ पृष्ठ लामो मार्गचित्रमा ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’को महत्वकांक्षी योजना अगाडि सारिएको छ । यसअन्तर्गत हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो जलविद्युत तथा सौर्य उर्जा आयोजना निर्माण गर्ने मन्त्री पुनले उद्घोष गरेका छन् । उनले हरेक प्रदेशमा निर्माण गर्न सकिने आयोजनाको फेहरिस्त प्रस्तुत गरेका छन् । जसअनुसार ७ वटा प्रदेशमा विभिन्न आयोजना निर्माण गरी १२ हजार ३ सय ३४ मेगावाट विद्यूत उत्पादन गर्न सकिने उनले प्रष्ट्याएका छन् ।

उनले प्रदेश १ मा ७६२ मेगावाटको तमोर जलाशय, ८०० मेगावाटको दूधकोशी जलाशय र ७२५ मेगावाटको अपर अरुण पिकिंग रन अफ दि रिभर आयोजना निर्माण गरिने बताएका छन् । यस्तै, यही प्रदेशमा ४५० मेगावाटको किमाथांका अरुण पिकिंग रन अफ द रिभर, ३७२ मेगावाटको अरुण ४ पिकिंग रन अफ द रिभर र ६७९ मेगावाटको तल्लो अरुण पिकिंग रन अफ द रिभर आयोजना निर्माण गरिनेछ ।

प्रदेश नम्बर २ मा कम्तीमा २०० मेगावाट क्षमताको सौर्य उर्जा आयोजना निर्माण गरिने बताइएको छ ।

प्रदेश ३ मा १६४६ मेगावाट क्षमताको सुनकोशी २ र ३ जलाशययुक्त आयोजना, १०१ मेगावाटको तामाकोशी ५ पिकिंग रन अफ द रिभर, ५०० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त तथा १११ मेगावाटको कोखाजोर जलाशययुक्त आयोजना निर्माण गरिनेछ ।

प्रदेश ४ मा १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना, १४० मेगावाटको अपर सेती आयोजना, ८२८ मेगावाटको उतरगंगा जलाशययुक्त आयोजना र १८० मेगावाटको आँधीखोला जलाशययुक्त आयोजना निर्माण गर्ने मार्गचित्र प्रस्तुत गरिएको छ ।

यसैगरी, प्रदेश ५ मा २४५ मेगावाटको नौमुरे, ८७० मेगावाटको कालीगण्डकी २ जलाशययुक्त, २५३ मेगावाटको माडी जलाशययुक्त आयोजना र १०० मेगावाटको अपर झिम्रूक जलाशययुक्त आयोजना निर्माण गरिनेछ ।

प्रदेश नम्बर ६ तर्फ ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना, ४२६ मेगावाटको फूकोट कर्णाली पिकिंग रन अफ द रिभर तथा १०० मेगावाटको जगदुल्ला पिकिंग रन अफ द रिभर आयोजना निर्माणलाई मार्गचित्रमा समेटिएको छ ।

मन्त्री पुनले प्रदेश नम्बर ७ मा भने ७५० मेगावाटको पश्चिमसेती, २७६ मेगावाटको एसआर ६ जलविद्युत आयोजना र २१० मेगावाटको चैनपुर सेती पिकिंग रन अफ द रिभर आयोजना निर्माण गर्ने बताएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :