मोदी भ्रमणमा रेलमार्ग र जलमार्ग कार्यान्वयनका विषयमा छलफल हुने

यो समाचार 209 पटक पढिएको

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण तीन वटा विषयमा केन्द्रित हुने जानकारी दिएका छन् ।

उनले भ्रमणमा दुई देशबीच विश्वासको वातावरण अभिवृद्धि, पहिला भएका सहमतिको कार्यान्वयन र सहयोगको नयाँं क्षेत्रका विषयमा बृहत छलफल हुने जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल–भारत ब्यापार प्रबद्र्धन सम्बन्धमा आइतबार राजधानीमा भएको छलफलमा मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री मोदीको यो पटकको भ्रमणमा रेलमार्ग अनि जलमार्ग कार्यान्वयनका विषयमा केन्द्रित रही छलफल हुने बताए । उनले भ्रमणमा क्रममा विगतका सहमतिलाई कार्यान्वयनका लागि वृहत छलफल हुने जानकारीसमेत दिए । साथै नेपाल र भारत दुई देशबीच सन् १९९६ मा भएको वाणिज्य सन्धिको परिमार्जनको पहल हुने पनि उनले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै नेपालबाट निर्यातयोग्य वस्तुलाई सरकारले सहुलित दिनुपर्ने बताए । गएको साउनदेखि फागुनसम्म ८ महिनाको नेपालको भारततर्फको निर्यात आयातको तुलनामा १७ गुना कम रहेको उल्लेख गर्दै उनले वर्तमानको ब्यापार घाटा नेपाल सरकारको समृद्धिको सपनामा प्रमुख बाधक रहेको स्पष्ट पारे ।

उनले त्यसको अन्त्यका उपाय खोज्न ढिलाइ नगर्न सरकारलाई सुझाव दिए । नेपालले मुख्यगरी बौद्ध पर्यटन सर्किटलाई प्रवद्र्धन गर्नुपर्ने, सीमावर्ती क्षेत्रको सडक स्तरोन्नति गर्नुपर्ने, विद्यमान नेपाल–भारत वाणिज्य सन्धिलाई नेपालको हित अनकूल हुने गरी पुनरावलोकन गरिनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा भारतीय लगानी भएका कम्पनीबाट उत्पादित जलविद्युत् मात्र खरिद गर्ने भारतीय दृष्टिकोण नेपालको ब्यापार र आर्थिक विकास प्रतिकूल रहेकाले उक्त कुरा सच्याउन पहल गर्नुपर्ने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :