राजापुरमा कृषिमन्त्रीको धान रोपाइँ , देशभर १४ प्रतिशत रोपाइँ

यो समाचार 48 पटक पढिएको

काठमाडौं, १५ असार । १६ औं धान दिवस यो पटक बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतिमा प्रबिधी र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो । दिवसको कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले राजापुरमा ट्रयाकटर जोतेर र धान रोपेर उद्घाटन गरे ।

मन्त्रालय मातहतको बाली बिकास तथा जैविक बिविधता संरक्षक केन्द्रको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिनको खण्डीकरण गर्दै यान्त्रीकीकरण र आधुनिकीकरण गरिनुपर्ने बताएका छन् ।

नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको बताउदै मन्त्री खनालले कृषि प्रणाली सुधा गर्न सरकार लागि परेको बताए । युवा जनशक्ति विदेश पलायन जमिन बाँझो हुँदै गएकाले कृषि उत्पादनमा कमी भएको उनले बताए । ‘अहिले २५ लाख युवा पलायन खाडी मुलुकमा काम गर्छन् । जमीन बाझो हुँदै गएको छ’ उनले भने, ‘त्यसैले कृषि प्रणालीमा सुधार गर्नुपर्छ । नत्र कृषिको हालत यस्तै हुन्छ ।’

कृषि नै रोजगारीको मुख्य आधार रहेको भन्दै मन्त्री खनालले भने, ‘कृषि नै हो जस्ले एकै पटक लाखौं युवालाई रोजगारी दिन्छ । कृषकको जीवनशैली बदल्नु पर्छ त्यस्को लागि कृषियोग्य जमीनको खन्डिकरन गरि यान्त्रिकीकरण र आधुनिकीकरण गरिनु पर्छ ।’

कृषिजन्य वस्तुको उत्पादन बढाउन नसक्दा पनि आयात बढिरहेको मन्त्री खनालको भनाइ थियो । ‘डेढ सय अर्बको आयात गर्दा १३ अर्ब मात्र निर्यात भएको छ । बिदेशबाट आयातको माग भैरहेको छ तर हामी उत्पादन बढाउन सकेका छैनौ’ उनले भने, ‘जबकी हाम्रो देशमा उत्पादन नहुने केही छैन । त्यसको लागि राम्रो योजना र व्यवस्थापन हुनुपर्छ ।’

बिषादीयुक्त तरकारी आयातमा प्रतिबन्ध लगाउदा आलोचना हुने गरेको सुनाउँदै मन्त्री खनालले जतिनै आलोचना गरे पनि स्वास्थ प्रमाणपत्र नभएका खसी बोका र तरकारी आयात हुन नदिइने ठोकुवा गरे । राजापुरमा ५ हजार हेक्टरमा चैते धान रोपाइँ हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । २०६१ साल्देखि धान दिवस मनाउन थालिएको हो। नेपालमा ५६ लाख मेट्रीक टन धान उत्पादन हुन्छ । ७ अर्बको पराल मात्र उत्पादन हुन्छ। र, पनि २७ अर्बको धान आयात भएको छ ।

कृषि बिभागका अनुसार नेपालमा अहिले १ लाख २५ हजार हेक्टरमा चैते धान उत्पादन हुने गरेको छ । त्यसलाई बढाएर ४ लाख हेक्टर पु¥याउने हो भने चामल आयात गर्नु नपर्ने विभागले जनाएको छ ।

देशभर १४ प्रतिशत रोपाइँ

देशभर १४. २५ रोपाइँ सम्पन्न भएको छ। प्रमुख खाद्यान्न बाली धानका लागि पानी अभाव हुँदा यस वर्ष रोपाइँ न्यून भएको हो। यस वर्ष पहाड र तराई दुवै स्थानमा मौसमले साथ दिएको छैन। पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा भएका स्थानमा समेत खेत बाँझै छ।

नेपालका थुप्रै स्थानमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमा पानी नपर्दा रोपाइँ कम भएको जानकारी दिएको छ। सरकारी तथ्यांकअनुसार १५ गतेसम्म उच्च पहाडमा ३९ प्रतिशत, पहाडमा २२ र तराईमा ११ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा १५.९ प्रतिशत रोपाइँ भएको थियो।

कृषि विभागका निमित्ता महानिर्देशक डा. रेवतीरमण पौडेलले मनसुनी वर्षाको अभावमा यो वर्ष कम परिमाणमा रोपाइँ भएको जानकारी दिए। तराईमा १० लाख ९४ हजार ६ सय ३६ हेक्टर, मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र उच्च पहाडमा ५८ हजार एक सय ५८ हेक्टर जमिनमा धानखेती गरिन्छ।

मौसमको प्रतिकूलताका कारण यस वर्ष धान उत्पान करिब ५ प्रतिशत घट्ने सरकारी अनुमान छ। सरकारी प्रतिवेदनअनुसार यो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ। समयमा रासायनिक मल उपलब्ध नहुने हो भने धान उत्पादन ठूलै परिमाणमा घट्ने किसानको भनाइ छ।

नेपालको कुल धानखेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टरमध्ये १८ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ। त्यो पनि जहाँ बढी धानको क्षेत्रफल छ, त्यहाँ सिँचाइ सुविधा पर्याप्त छैन। धानबालीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ। जुन वर्ष धान उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को अवस्था पनि खुम्चिन्छ ।

धान उत्पादन १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ। जीडीपीमा यसको योगदान ४ प्रतिशतभन्दा बढी छ। जीडीपीमा समग्र कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान भने २७ प्रतिशत छ। तर धानले मात्रै जीडीपीमा २० प्रतिशतले योगदान पुर्‍याउँदै आएको कृषि विभागका निमित्ता महानिर्देशक डा। रेवतीरमण पौडैलले जानकारी दिए।

पौडेलका अनुसार नेपालको कुल खेतीयोग्य जमिनमध्ये ४८.३ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ। यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। नेपालमा वार्षिक ६९ लाख टन धानको माग छ। चामलको हिसाब गर्दा ४६ लाख ९२ हजार टन माग छ। यसरी हेर्दा बर्सेनि ५ देखि ६ लाख टन चामल अपुग छ। चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्बको चामल आयात भएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :