जीनबैंकमा ८ हजार धानका प्रजाति संरक्षित

यो समाचार 16 पटक पढिएको

काठमाडौं, १२ असार । नेपालका कुल ८ हजार ३८९ प्रजातिका धान (जर्मप्लाज्म) जिन बैंकमा सुरक्षित गरिएका छन् ।

संरक्षित धानका जर्मप्लाज्महरू जलवायु परिवर्तनलाई सहन सक्ने क्षमता भएका नयाँ नयाँ जातको विकास गर्न सहयोग हुने गरेका छन् । जीवनशैलीको परिवर्तन तथा उत्पादन र उत्पादकत्व बढी भएका जातका विकास हुँदै गर्दा यी बीउ ओझेलमा परेका हुन् । भविष्यमा धानका नयाँ जात विकास र अध्ययन अनुसन्धानमा सहयोगका लागि नेपालभरबाट संकलन गरिएका स्थानीय तथा जंगली जातका धानका प्रजातिहरूमध्ये २ हजार ४ सय प्रजाति नेपालको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) मा संरक्षित गरिएका छन् ।

अन्यचाहिँ विभिन्न देशमा रहेका जिन बैंकमा सुरक्षित रूपमा राखिएको कृषि विभागका निमित्त महानिर्देशक रेवती रमण पौडेलले बताए । नेपालमा कृषि उपजका विभिन्न बालीका जातहरूको संकलन, विकास तथा सिफारिस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गर्ने गरेको छ भने विकास गरिएका जातका प्रचार प्रसार तथा कृषकसम्म पुयाउन कृषि विभाग मातहतका निकायले गर्दै आएका छन् ।

जिन बैंकमा राखिएका धानका प्रजातिको उपयोग गरी वातावरणीय अनुकुल उत्पादन दिनसक्ने जातहरूको विकास गर्ने गरिएको पौडेलले बताए । “उन्नत जातको प्रयोगले उत्पादन तथा उत्पादकत्वमा बढावा दिने भएकाले नार्कबाट विकास गरिएका उन्नत धानका प्रजातिहरू कृषकसम्म पुयाउदै आएका छौं,” उनले भने, “जलवायु परिवर्तनको अवस्थालाई मध्यनजर गरेर सुक्खा सहन सक्ने र डुबान सहनसक्ने खालका धानका जातहरू विकास गरी कृषकसम्म पुयाएका छौं ।”

नार्कले खेतियोग्य क्षेत्रमध्ये हालसम्म ३० प्रतिशत सुक्खा र १२ प्रतिशत डुबालग्रष्ट जमिनलाई समेतलाई अनुकुलन हुने वर्षे सिजनका लागि ११६ र चैते सिजनका लागि ७ गरि १२३ धानका जात विकास भइसकेको उनले बताए । जनसम्ये ४७ प्रजाति हाइब्रिड जातका छन् । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने कृषि कुल गार्हस्थ्य उत्पादनमा एक्लो धान बालीको योगदान मात्र २० प्रतिशत रहेको छ । कृषि विभागका अनुसार चालू आर्थिक वर्षमा कवि ४० लाख मेटन चामल आवश्यक पर्नेमा ३४ लाख मेटन स्वदेशमै उत्पादिन धानबाट प्राप्त हुने र ६ लाख मेटन अपुग हुने देखिएको छ ।

वार्षिक करिव १ खर्व ५० अर्व रकम बराबरको धान तथा धानका सहायक उत्पादन हुने गरेको छ भने चामल आयातका लागि २५ अर्व रकम बाहिरिने गरेको तथ्यांक छ । सिँचित क्षेत्र कम हुनुु, प्रविधि र प्राविधिकको विस्तार न्युन हुनु, धानको गुणस्तरीय बीउ तथा मलखादको उपलब्धतामा समस्या देखिनु, माटोमा प्रांगारिक पदार्थ न्युन भइ उर्वराशक्ति कमजोर हुनु, मलखादको सन्तुलन नहुनु र बीउ प्रतिस्थापन दर कम हुनु लगाएतका कारण नेपालमा धानको उत्पादन वृद्धि गर्न चुनौति देखिएको स्पष्टोक्ती कृषि विभागको छ । विश्वभर करिव १ लाख ४० हजार धानका जात रहेको अनुमान छ ।

जममध्ये एक लाख १७ हजार धानका जात विश्वभरका जिन बैंकमा संरक्षित छन् । “संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान इन्स्टिच्युट (इरी) लगाएतका संस्थाको सहकार्यमा विश्वभरका जातहरू अन्तर्राष्ट्रिय जिन बैंकमा संरक्षित गरिँदै आएका छन्,” धानविज्ञ भोलामान सिंह बस्नेत भन्छन्, “धानका जातहरू अन्तराष्ट्रिय जिन बैंकमा राख्ने र नयाँ जातको विकासको लागि आवश्यक परेमा विश्वका मुलुकहरूले जिन बैंकबाट लिन पाउने व्यवस्था छ ।”

अन्तर्राष्ट्रिय जिन बैंकहरूमध्ये फिलिपिन्समा ३ हजार ४५०, जापानमा १ हजार २३८, भारतमा ५६०, दक्षिण कोरियामा ४२४, भुटानमा १५०, अमेरिकामा १२१, रसियामा ४० र अफ्रिकामा ६ वटा नेपाली धानका जातहरू राखिएका छन् । करिव ८ देखि १० हजार वर्षअघि खेती थालिएको धानको हालको विश्वभरको वार्षिक उत्पादन करिव ७६ करोड ९६ लाख टन छ । उत्पत्तिको क्षेत्रमध्ये एक मानिने नेपालमा समुद्र सतहदेखि ६० मिटरदेखि ३ हजार ५० मिटर उचाइमा धानको खेती भइरहेको छ । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुन्छ भने कुल उत्पादनको ७० प्रतिशत हिस्सा अन्न भन्डार मानिने तराई क्षेत्रमा हुने गरेको छ । नेपालमा मात्र नभएर एसियामै धानको उत्पादन र खपत अधिक हुने गरेको तथ्यांक छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने छिमेकी मुलुक चीन र भारत छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :