धानको उर्वर क्षेत्रमै कम पानी पर्ने : मौसम विभाग

यो समाचार 79 पटक पढिएको

काठमाडौं, ८ असार । अत्याधिक धान उत्पादन हुने मध्य र पूर्वीय क्षेत्रमा यो बर्ष निक्कै कम पानी पर्ने देखिएको छ ।

धानवालीका लागि रसायनिक मलको चरम अभाव व्यहोर्न बाध्य किसानले यो बर्ष मध्य तथा पूर्वीय क्षेत्रमा अकाशे पानीको अर्को अभाव पनि खेप्नुपर्ने भएको हो ।

नेपालमा करिब ८० प्रतिशत क्षेत्रमा अकाशे पानीको भरमा धानवालीको खेती हुन्छ । । यो बालीलाई मनसुनले प्रभाव पार्छ। निरन्तर एकनासले मनसुनले साथ दियो भने उत्पादन अत्यधिक हुन्छ, एक नासे र सबैतिर औसत पानी परेन भने त्यो वर्ष धान उत्पादन घट्छ। चालु आर्थिक वर्ष धानलाई मनसुनले औसतभन्दा बढी साथ दिएको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा विज्ञ सुभास रिमालका अनुसार सामान्यतयाः १० जुनमा सक्रिय हुने मनसुन यो वर्ष करिब १० दिन ढिलो गरी सक्रिय भएको छ। उपत्यकासहित बाहिरी जिल्लामा पानी पर्न थालेको छ। महाशाखाका अनुसार यो वर्ष मध्य र पूर्वी भागमा औसतभन्दा कम पानी पर्ने सम्भावना रहेको अध्ययनले देखाएको छ। धान खेती यही मध्य र पूर्वी भागमा अत्यधिक हुन्छ।

‘पानी नै पर्दैन भन्ने होइन, पानी पर्छ। कतै ठूलो पर्न सक्छ। कतै छिटफुट मात्रै पर्न सक्छ’, रिमालले भने, ‘तर धानलाई जुन परिमाणमा चाहिन्छ, त्यो परिमाणमा पर्न सक्ने सम्भावना देखिएन। मुख्य गरी पूर्वी र मध्य क्षेत्रमा औसतभन्दा कम पानी पर्न सक्ने हाम्रो अध्ययनले देखाएको छ।’ उनका अनुसार मध्य र पूर्वी भागमा मनसुनी पानी औसतभन्दा कम पर्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत सरोकारवाला निकायलाई जानकारी गराइसकिएको छ।

रिमालले भने, ‘नार्कलगायत सरोकार निकायलाई मध्य र पूर्वी क्षेत्रमा औसतभन्दा कम पानी पर्छ भनेर जानकारी गराइसकेका छौं, औसतभन्दा कम परिमाणमा पानी पर्ने भएकाले त्यस्ता क्षेत्रमा त्यहीअनुसार धानको जात लगाउन सुझाव दिएका छौं।’ दक्षिणी गोलाद्र्धबाट हिन्द महासागर हुँदै अरब सागर आइपुग्ने मनसुन बंगाल खाडीबाट नेपालमा प्रवेश गर्छ। यसरी टाढाबाट आउने मनसुनी पूर्वी र मध्यमा पुग्दासम्म कमजोर भएर औसतभन्दा कम परिमाणमा पर्ने सम्भावना बढेको महाशाखाले जनाएको छ।

नेपालको कुल धान खेती हुने क्षेत्रफल १५ लाख हेक्टरमध्ये करिब २५ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ। त्यो पनि जहाँ बढी धानको क्षेत्रफल छ, त्यहाँ सिँचाइ सुविधा पर्याप्त छैन। यसमध्ये वास्तविक रूपमा सिँचाइ पुगेको क्षेत्रफल २५ प्रतिशत मात्रै छ। तर सिँचाइ विभागले भने ४० प्रतिशतमा सिँचाइ पुगेको दाबी गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव डा. सुरोज पोखरेलका अनुसार धानबालीलाई मुलुकको मूल अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ। जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन ९जीडीपी० को अवस्था पनि खुम्चिन्छ। धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ। जीडीपीमा धानको योगदान ४ प्रतिशतभन्दा बढी छ। कृषिको कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब २२ प्रतिशत छ। जीडीपीमा समग्र कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन)  को योगदान भने २७ प्रतिशत छ। धान उत्पादनले जीडीपीको अवस्थालाई दिशा दिने काम गर्छ।

‘मनसुनी वर्षा देशभर एकनाश नहुँदा, रोपाइँ र बाली नफल्दासम्म समयमा एकनास सिँचाइ सुविधा र रासायनिक मल उपलब्ध नहुँदा धान उत्पादन घट्छ’, डा. पोखरेलले भने, ‘यस्तो अवस्थामा जीडीपीमा धानले पुर्‍याउने योगदान पनि खुम्चिन्छ।’ नेपालको कुल खेतीयोग्य जमिनमध्ये ५०. २ प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ। पछिल्लो आर्थिक सर्वेक्षणले भने कुल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत क्षेत्रफलमा धान लगाइने उल्लेख छ। यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत छ। तराई धानबालीका लागि उर्वर भूमि मानिए पनि भूमिगत सिँचाइको भरपर्दो सुविधा नहुँदा आकाशे पानीको भरमा खेती हुन्छ।

कृषि विभागका महानिर्देशक सूर्य पौडेलका अनुसार मनसुनी वर्षाको सुरुआतसँगै हिमाली र पहाडी क्षेत्रमा रोपाइँ सुरु भएको जानकारी दिए। तराई क्षेत्रमा भने मनसुनी वर्षा त्यति सक्रिय नभएकाले केही ढिलो गरी उक्त क्षेत्रमा रोपाइँ सुरु हुने उनले बताए। उनका अनुसार नेपालमा वार्षिक ६९ लाख टन धानको माग छ। चामलको हिसाब गर्दा ४६ लाख ९२ हजार टनको माग छ। तर उत्पादन हुने धानको हिसाब गर्दा बर्सेनि ५ देखि ६ लाख टन चामल अपुग छ। अपुग हुने चामल भारतबाट आयात हुन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :