झापाको किसानको बिकेन धान

यो समाचार 117 पटक पढिएको

भद्रपुर । झापाका किसान धानको मूल्य नपाउँदा समस्यामा परेका छन्।

सरकारले नकिन्ने र व्यापारीले भाउ नदिएपछि किसानले फलाएका धानले मूल्य पाउन सकेको छैन। व्यापारीले लागत नै नउठ्ने गरी आपूmखुसी भाउ तोकेका कारण किसानले धान त्यसै थन्क्याएका छन्। सरकारले धानमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा पटक–पटक गरेको छ। तर स्वदेशी किसानले फलाएका धानले मूल्य पाउन सकेको छैन। अर्कोतिर वार्षिक २४ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात हुने गरेको छ।

झापाका किसान मोहन राजवंशीले व्यापारीले भनेको जति पैसामा दिए मात्र धान उठ्ने गरेको बताए। ‘धान थे्रसर गरेर राख्यो। काँटा लिएर व्यापारी जोख्न आउँछन। जति पैसा दिन्छन्, हात थाप्नुपर्छ। हामी आफूले गरेको खेतीमा हामीले मूल्य तोक्न पाउँदैनौं’, उनले भने। किसानका अनुसार व्यापारीले धान प्रतिमन ६ देखि ७ सय रुपैयाँमा किन्छन्। तर यसबाट लगानीसमेत नउठ्ने उनीहरू बताउँछन्। प्रतिमन आठ सय रुपैयाँ पाए मात्र किसानलाई फाइदा पुग्छ।

झापाका कृषि अधिकृत सागर विष्टका अनुसार एक मन धान फलाउन ६ देखि सात सय रुपैयाँ लाग्छ। तर व्यापारी किसानले चाहेको मूल्य दिन तयार छैनन्। झापामा चैते धान सस्तो पर्छ भने मंसिरमा उत्पादन हुने धानले मूल्य पाउँछ। मंसिरको धानले प्रतिमन ११ सय रुपैयाँमा बिक्री भएको किसान बताउँछन्।

विष्टका अनुसार दक्षिण झापाको धान सुपरजोन क्षेत्रमा एक हजार सात सय जना किसानले चैते धान उत्पादन गरेका छन्। गत साल प्रतिकट्ठा सय किलो फलेको थियो भने यसपालि प्रतिकट्ठा एक सय १० किलो फलेको अनुमान छ। उत्पादनमा भने प्रतिवर्ष उकालो लाग्ने क्रम जारी छ। ‘धान त फल्यो नि तर के गर्नु मूल्य छैन। भारतबाट आएका जस्तोसुकै चामललाई पनि पैसा टन्न हालेर खान्छन्। नेपालमै उत्पादन भएको चामल खस्रो भनेर खादैनन्’, कृषक रुद्रप्रसाद गौतम भन्छन्।

झापाको दक्षिण भेग कचनकवल नेपालकै होचो ठाउँ हो। जहाँ केही वर्ष अघिसम्म सबै जमिन बाँझो र केही फाट्टफुट्टले मात्र चैते धान लगाउँथे। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन क्षेत्र घोषणा गरेसँगै यो ठाउँले नयाँ परिचय पाएको छ।

स्वदेशी किसानले फलाएका धानले मूल्य पाउन सकेको छैन। तर वार्षिक २४ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात हुन्छ।

पहिला–पहिला खेती लगाउँदा खर्च र दुःख पनि अत्यधिक हुनाले प्रशस्त जमिन भए पनि सिँचाइलगायत सुविधा थिएन। किसानमा खेती गर्ने जाँगर हुँदैनथ्यो। किसान उत्तमलाल गणेश भन्छन्, ‘सरकारले दक्षिणी झापालाई धान सुपरजोन घोषणा गरेपछि किसानले धेरै सुविधा त पाएका छन्। तर धान बिकेको छैन।’

उनका अनुसार चैते धानमा चिस्यानको मात्रा बढी हुने हुनाले यो धान घरमा लामो समयसम्म राख्दा पनि कुहिने र उम्रिने डर हुन्छ। ‘सरकारले धान कसरी धेरै फलाउने भनेर सिकायो तर फलेको धान कहाँ बेच्ने रु र कसले किन्छ भन्ने ठेगान लगाउन सकेन’, गणेश भन्छन्, ‘मेहनेत खेर जाने भो।’

झापाका कचनकबल गाउँपालिकाका ७ वटै वडा र भद्रपुर नगरपालिकाको १,२,३ नम्बर वडा धान सुपरजोन क्षेत्र हुन्। सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि अधिकांश कृषक २ बालीतर्पm लागेको धान सुपरजोन सञ्चालक समितिका संयोजक नवराज भट्टराईको भनाइ छ। भट्टराईका अनुसार अहिले सुपर जोन क्षेत्रमा ‘हर्दिनाथ १’ भन्ने नामको चैते धान कृषकले मन पराएका छन्। उक्त धानको उत्पादन पनि सोचेभन्दा राम्रो निस्कियो। तर जति सुकै उत्पादन भए पनि किसानले मूल्य नपाउने भएकाले कतिपय कृषकले पाकेको धान पनि काटेका छैनन्।

धान सुपरजोनका वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा खाद्यान्नमा आत्मनिर्भर भई निर्यात गर्न पुग्ने गरी किसान उत्पादन गर्न तयार रहेको तर राज्यले बजारीकरणमा कुनै पहल नगर्दा यो समस्या आएको बताउँछन्। उनका अनुसार गत वर्ष ८ सय हेक्टरमा लगाइएको चैते धान यो वर्ष १५ सय हेक्टर क्षेत्रफलमा लगाइएको छ। अहिले फलेको धान असार १० गतेसम्म भण्डारण गरिसक्नुपर्छ नत्र बिग्रिने डर हुन्छ। धानका लागि विराटनगरका राईस मिलमा कुरा राखिएको र १ हप्ताभित्रमा मूल्य निर्धारण गरेर किसानले उत्पादन गरेका धान खेर जान नदिइने उनले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :