चाडपर्वका बेला चामल अभाव

यो समाचार 123 पटक पढिएको

हुम्ला । दसैं नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दालाई समस्या भएको छ । पाँच किलोग्राम चामलका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दिनभर लाइन बस्नुपर्ने अवस्था आएको छ ।

नेपाल खाद्य संस्थानमा चामलको अभाव हुँदा विहान ५ बजेदेखि लाइनमा बस्नु परेको गुनासो स्थानीयको छ । नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि गएको बुधबारदेखि चामल बिक्री गर्न थालेको छ । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको नेपाल खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । “जिल्ला खाद्य सुरक्षा समितिले पाँच किलोभन्दा बढी बिक्री वितरण नगर्ने निर्णय गरेको छ, सोहीअनुसार बिक्री गरिरहेका छौं,” विष्टले भने ।

जिल्लाको खाद्य आपूर्ति र व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीकोे नेतृत्वमा जिल्ला खाद्य समिति रहेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले हुम्ला सदरमुकामस्थित संस्थानको सिमकोट डिपोबाट चामल बिक्री गर्ने निर्णय गरेको हो । सिमकोट बजारका बासिन्दा र कर्मचारीलाई प्रतिमहिनाको पाँच किलोग्राम चामल बिक्री गर्ने निर्णय गरेका छ । महिनामा एक जनालाई पाँच किलोग्राम चामलले के कसरी परिवारको व्यवस्थापन गर्ने र चाडपर्व कसरी मनाउने हो भन्ने बारेमा हुम्लीलाई समस्या परेको छ ।

उत्पादित खाद्यान्नले ६ महिना पनि नपुग्ने भएकाले हुम्लाका बासिन्दा नेपाल खाद्य संस्थानको भर पर्ने गरेका छन् । चामलका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस दिने गरेको छ । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर रहेको सिफारिस ‘कुपन’ लगेपछि मात्रै खाद्य संस्थानले पाँच किलो चामल बेच्ने गरेको छ । चामल कम भएकाले सबैलाई समान रूपमा बिक्री गर्न जिल्ला प्रशासनबाट सिफारिस लिने व्यवस्था गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट पाँच किलोग्राम चामल खरिदका लागि सिफारिस लिन सर्वसाधारणलाई चटारो हुने गरेको छ । सदरमुकाम सिमकोटका बासिन्दा र कर्मचारीलाई रासन कार्डका आधारमा जिल्ला प्रशासनले सिफारिस दिने गरेको छ । तर त्यसभन्दा बाहिरका बासिन्दालाई सिफारिस पाउन समस्या भएको छ । सदरमुकाम बाहिरका खाद्य संस्थान डिपोमा चामल नभएर खाली नै रहेको अवस्था छ । चामलका लागि सर्वसाधारण ४ देखि ५ दिनसम्म हिँडेर सिमकोट आउन थालेका छन् ।

उनीहरू सिफारिसका लागि जिल्ला प्रशासन कार्यलयमा हारगुहार गर्दै आएका छन् । कुपनका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको कार्यकक्षमा घुइँचो लाग्ने गरेको छ । सदरमुकाम सिमकोट डिपोबाट चामल बिक्री गर्न थालिएपछि गाउँका अन्य डिपो भने रित्ता रहेका छन् । संस्थान र ठेकेदारको लापरबाहीले चार महिनादेखि गाउँको डिपोमा चामल नभएको स्थानीय बासिन्दाले बताए । श्रीनगर, छपेला, सर्केगाड, दार्मको देउली, नाम्खाको याल्वाङ खाद्य डिपोमा चामल छैन । डिपोमा चामल ढुवानीका लागि सम्झौता भएको र केहीमा सम्झौता गर्ने क्रममा रहेको संस्थानले जनाएको छ ।

दार्मको देउली डिपोमा गतवर्ष नै ढुवानी गर्नुपर्ने १ सय ५० क्विन्टल चामल अझै पुगेको छैन । “गत मंसिरमा एक बोरा चामल मिलेको थियो, त्यसयता आएको छैन,” चंखेली गाउँपालिका–१ का वडाध्यक्ष नन्दबहादुर बोहोराले भने । मुगुबाट ल्याउँदै गर्दा ठेकेदारले बाटोमै चामल बिक्री गरेकाले देउली डिपोमा चामल नपुगेको बोहोराको भनाइ छ ।

खाद्य संस्थानका अनुसार सिमकोट डिपोमा ५ सय २९ क्विन्टल चामल छ । त्यो पनि बुधबारदेखि बिक्री गर्न थालेकाले घटिसकेको संस्थानका प्रमुख रामबहादुर विष्टले बताए । संस्थानका अनुसार सुर्खेतबाट १ सय ४४ क्विन्टल र नेपालगन्जबाट ८ सय १६ क्विन्टल चामल समयमै ढुवानी नभएपछि अभाव भएको हो । त्यस्तै, सिमकोट डिपोका लागि साउन मसान्तभित्रै थप गरिएको नेपालगन्ज र सुर्खेतबाट एक÷एक हजार क्विन्टल चामल पनि हुम्ला पुगेको छैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :