९० प्रतिशत रोपाइँ सकियो

यो समाचार 137 पटक पढिएको

काठमाडौं । पूर्णरूपमा मनसुन सक्रिय भएपछि यो वर्ष उल्लेख्य मात्रामा रोपाइँ भएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष करिब १३ प्रतिशत बढी रोपाइँ भएको हो । रोपाइँपश्चात मनसुन नियमित हुने र मलको अभाव नहुने हो भने यो वर्ष धानको उत्पादन उच्च हुने सरकारी अनुमान छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार पहिलो सातादेखि साउन १७ सम्म देशभर करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत आर्थिक वर्षको यस अवधिमा ७७ प्रतिशतहाराहारी रोपाइँ भएको थियो ।

आर्थिक वर्ष ०७३/७४ को यस अवधिमा ९० प्रतिशतहाराहारी रोपाइँ भएको थियो । जसले गर्दा त्यस वर्ष धान उत्पादन अहिलेसम्मकै बढी छ । त्यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । ‘अहिलेसम्मको मनसुनी वर्षाले देशभर रोपाइँ राम्रो भएको सन्देश दिएको छ’, मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘सन्तुलित वर्षा र मल समयमै उपलब्ध भए दुई वर्षअघिको रेकर्ड तोडिने अपेक्षा गरिएको छ ।’

उनकाअनुसार मौसम अनुकूलता र समयमै मल उपलब्ध भए यो वर्ष ५२ लाख मेट्रिक टनभन्दा बढी धान फल्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा १।५ प्रतिशतले धानको उत्पादनमा कमी आएको थियो । सरकारी आँकडाअनुसार गत आर्थिक वर्षमा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । मन्त्रालयकाअनुसार यो वर्ष तराइँमा अहिलेसम्ममै बढी रोपाइँ भएको छ । मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म तराईमा ८९.८५ प्रतिशतहाराहारी रोपाइँ भएको छ । यस्तै उच्च पहाडी क्षेत्रमा ८९.०५ प्रतिशत र मध्य पहाडी क्षेत्रमा ८९.४८ प्रतिशत रोपाइँ सकिएको छ । तराईका दुई जिल्ला सप्तरीमा ५० र सिराहामा ७५ प्रतिशत बाहेक सबैमा रोपाइँ सन्तोषजनक छ ।

धानबालीको कुल क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमध्ये हालसम्म १३ लाख ९२ हजार नौ सय ५२ हेक्टरमा रोपाइँ भएको छ ।

धान उत्पादनमा हुने उतार चढावले मुलुकको कूल गार्हस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धान खेती हुन्छ । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत छ । विज्ञहरूका अनुसार रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्म हो । साउन महिनापछि हुने रोपाइँले उत्पादन कम दिन्छ । नेपालमा मौसमका आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :