नौं महिनामै साढे ३२ अर्बभन्दा बढीको खाद्यान्न आयात

यो समाचार 256 पटक पढिएको

काठमाडौं । कृषि मुलुकभनेर चिनिने नेपालमा पछिल्लो नौं महिनाको अवधीमा ३२ अर्ब ६६ करोड ७२ लाख मूल्यबराबरको खाद्यान्न आयात भएको छ । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीइसी) ले शुक्रबार नौं महिना(गत् साउनदेखि चैत) को आयात निर्यातसम्बन्धी तथ्याँक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।


टीइपीइसीकाअनुसार अघिल्लो बर्षको नौं महिनाको तुलनामा यो बर्षको नौं महिनामा ११ प्रतिशतले बढी खाद्यान्न आयात भएको छ । यो बर्ष ३२ अर्ब ६६ करोड ७२ लाख मूल्यबराबरको खाद्यान्न नेपालमा आयात भएको छ । अघिल्लो बर्षको साउनदेखि चैतसम्ममा २९ अर्ब ४३ करोड ९७ लाख मूल्यको खाद्यान्न नेपालमा भित्रिएको थियो ।

सोयाबीनको कच्चा तेलको आयात दर पनि बृद्धि भएको छ । चालु बर्षको नौं महिनाकै अवधीमा अघिल्लो बर्षको नौं महिनाको अवधीमा १६.३ प्रतिशतले आयात दर बृद्धि भएर ११ अर्ब ५१ करोड ८९ लाख मूल्यबराबरको सोयाविनको कच्चा तेल पनि आयात भएको छ । यो बर्षको नौं महिनाकै अवधीमा अघिल्लो बर्षको तुलनामा २.६ प्रतिशतले आयात दर घटेर तीन अर्ब ४६ करोड ८० लाख मूल्यको कच्चा पाम आयल पनि आयात भएको छ ।

नौं महिनाको अवधीमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । गत् बर्षको यही अवधीमको तुलनामा ३४.४ प्रतिशतले बढी परिमाणमा पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधीमा एक खर्ब १७ अर्ब २९ करोड ३४ लाख मूल्यबराबरको आयात भएको छ । गत् बर्षमा यही अवधीमा ८७ अर्ब ३८ करोड ९२ लाख मूल्यबराबरको हाराहारीमा पेट्रोलियम पदार्थ आयात गरिएको थियो । यो बर्ष इन्धनको खपत उच्च परिमाणमा बृद्धि भएको र सीमा क्षेत्रबाट अवैध रुपमा भारतीय क्षेत्रमा समेत चोरी निकासी हुँदा इन्धनको आयात दर बृद्धि भएको हो । भारतभन्दा नेपालमा इन्धन सस्तो छ ।

अत्याधिक परिमाणमा आयात हुने सूचीमा दोश्रो नम्बरमा आइरन, स्टील र यसको उत्पादन परेको छ । अघिल्लो बर्षको नौं महिनाको अवधीमा २६.४ प्रतिशतले बृद्धि भएर यो बर्ष ९७ अर्ब २१ करोड २७ लाख मूल्यबराबरको आइरन तथा स्टीलजन्य उत्पादन नेपालमा आयात भएको छ । तेश्रो नम्बरमा मेसिनरी र उपकरण परेको छ । ५४.२ प्रतिशतले बृद्धि भएर ९४ अर्ब १८ करोड मूल्यको मेसिनरी र उपकरण आयात भएको छ भने चौथो नम्बरमा १.५ प्रतिशतले आयात दर कम भएर ६२ अर्ब ३४ करोड १९ लाख मूल्यको यातायातका सबारी साधन र पार्टसहरु आयात भएको छ ।

यसपछि आयात हुनेमा क्रमशः बिद्यूतीय सामाग्री, दुरसञ्चारसम्बन्धी सामाग्री, सुन, औषधी, सिमेन्टको क्लिन्कर, पोलिथिन, चाँदी, केमिकल, रबरलगायतका सामाग्री पनि आयात भएको छ ।

चालु बर्षको नौं महिनाको समिक्षा अवधीको प्रतिवेदनअनुसार आयात निर्यातको मुख्य मुलुक भारत नै देखिएको छ । यो बर्ष भारतसँग निर्याततर्फ ३४ अर्ब १७ करोडको कारोबार भएको छ । यस्तै आयाततर्फ यही अवधीमा भारतसँग पाँचसय ७६ अर्ब सात करोड मूल्यबराबरको कारोबार भएको छ ।

आठ खर्ब ७४ अर्बको आयात
चालु आर्थिक बर्षको नौं महिनामा आठ खर्ब ७४ अर्ब मूल्यबराबरको उपभोग्य बस्तु नेपालमा आयात भएको छ । टीईपीइसीका अनुसार नौं महिनामा कूल ब्यापार नौं सय ३४ अर्ब ५० करोडको भएको छ । अघिल्लो बर्ष यही अवधीमा सात सय ८२ अर्ब १३ करोडको कूल ब्यापार भएको थियो । यो बर्ष आठ सय १५ अर्ब २६ करोड मूल्यबराबरको ब्यापार घाटा भएको छ । अघिल्लो बर्ष ६ सय ७१ अर्ब १३ करोड मूल्यबराबरको ब्यापार घाटा भएको थियो । नौं महिनाको समिक्षा अवधीमा यो बर्ष आयात र निर्यातको अनुपात १ ः१४ भएको छ ।

भारतलगायत तेश्रो मुलुकबाट गत् बर्षको यही अवधीको तुलनामा यो बर्ष ९३.६ प्रतिशतले कूल आयात दर बृद्धि भएको छ । नौं महिनाको अवधीमा यो बर्ष आठ खर्ब ७४ अर्ब ८८ करोड मूल्यबराबरको विभिन्न प्रकारका बस्तु नेपालमा आयात भएको हो । गत् बर्ष यही अवधीमा सात खर्ब २६ अर्ब ६३ करोड मूल्यबराबरको बस्तु आयात भएको थियो ।

६० अर्बको झिनो निर्यात

यसैगरी निर्याततर्फ नौं महिनाको अवधीमा गत् बर्षको यही अवधीको तुलनामा ६.४ प्रतिशतले कूल निर्यात दर बृद्धि भएर ५९ अर्ब ६२ करोड मूल्यबराबरको नेपाली बस्तु भारतलगायत तेश्रो मुलुकमा निर्यात भएको छ । प्रतिवेदनअनुसार गत् बर्ष यही अवधीमा ५५ अर्ब ५० करोड मूल्यबराबरको नेपाली बस्तु निर्यात भएको थियो ।

निर्याततर्फ उनको कारपेट सबैभन्दा बढी भएको तथ्याँकले देखाएपनि अघिल्लो बर्षको समिक्षा अवधीमो तुलनामा निर्यात दरमा १० प्रतिशतले गिरावट आएको छ । यो बर्ष पाँच अर्बको उनको कारपेट निर्यात भएको छ । गत् बर्षको समिक्षा अवधीको तुलनामा १३ प्रतिशतले बृद्धि भएर ७३ करोड २० लाख मूल्यको दाल निर्यात भएको छ । यसैगरी २५.८ प्रतिशतले बृद्धि भएर तीन अर्ब ८७ करोड ९९ लाख मूल्यको अलैंची निर्यात भएको छ ।

यस्तै २५.१ प्रतिशतले बृद्धि भएर दुई अर्ब ३५ करोड ११ लाख मूल्यको चिया, अघिल्लो बर्षको नौं महिनाको अवधीमा १६९ प्रतिशतले बृद्धि भएर ५१ करोड ६७ लाखको अदुवा निर्यात भएको छ । नेपालबाट अघिल्लो नौं महिनाको तुलनामा निर्यात दर बृद्धि भएर जुटको ब्याग, रेडिमेड गारमेन्टस्, हाड तथा छाला, सुगन्धित तेल, टुथपेस्टलगायतका बस्तु भारतसहित तेश्रो मुलुकमा निर्यात भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :