यि हुन ‘सर्बाधिक धान फलाउने’ १० जिल्ला

यो समाचार 1105 पटक पढिएको

कम उत्पादन हुने जिल्लामा पनि अत्याधिक उत्पादन

काठमाडौं । यो बर्ष दस जिल्लामा अत्याधिक धान उत्पादन भएको छ । मुलुकभरको ७५ जिल्लामध्ये सबैभन्दा बढी धान फलाएर १० जिल्ला धान उत्पादन गर्ने टप टेनको सूचीमा दरिएका छन् । यो बर्ष इतिहासमै सर्वाधिक धान फल्नुमा १० जिल्लाको उत्पादनले अग्रणी भूमिका खेलेको छ । कृषि विकास मन्त्रालयले वर्षेवालीको तथ्यांक सार्वजनिक गर्दै १० जिल्लामा अत्याधिक उत्पादन हुँदा परिमाणमा वृद्धि आएको जानकारी दिएको छ । मन्त्रालयले नेपाल राष्ट्र बैंक र केन्द्रिय तथ्याँक विभागको सहकार्यमा यो बर्ष इतिहासमै सर्वाधिक धान फलेको निश्कर्ष घोषणा गरेको हो ।

पछिल्लो बर्षहरुमा धान उत्पादनमा निकै पछि परेको जिल्ला पनि यो बर्ष उत्पादनका दृष्टिकोणले अग्रता कायम गरेको छ । मौसमले साथ दिंदा यो बर्ष अपत्यारिलो शैली धानको उत्पादनमा बृद्धि भएको छ, कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ‘यो बर्ष मौसमसँगै उन्नत प्रकारका बीउ, रसायनिक मल र प्रविधिले पनि धान उत्पादनलाई सहयोग गर्यो । यो बाहेक आन्तरिक रुपमा कुनै बन्द र हडताल नहुँदा किसानहरुलाई एक स्थानबाट अर्को स्थानसम्म मल, बीउ, प्रविधि विस्तार गर्न पनि सघाउ पुरयायो ।’

मन्त्रालयकाअनुसार यो बर्ष धान उत्पादनमा सबैभन्दा माथि झापा जिल्ला उक्लिएको छ । नेपालमै सबैभन्दा बढी धान झापामा उत्पादन भइरहेको छ । यो बर्ष झापामा ३ लाख ३८ हजार मेट्रिक टन धान उत्पादन भएको छ । त्यसैगरी ३ लाख २५ हजार धान फलाएर मोरङ दोश्रो नम्बर ओगटन सफल भएको छ । २ लाख ८३ हजार दुई सय २४ मेट्रिक टन धान फलाएर कैलाली तेश्रो नम्बरमा आइपुगेको छ ।

मन्त्रालयका वरिष्ठ तथ्याँक अधिकृत रामकृष्ण रेग्मीकाअनुसार रूपन्देहीले २ लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान उत्पादन गरी चौथो नम्बरमा पुगेको छ भने बाराले २ लाख ४० हजार चार सय २५ मेट्रिक टन धान फलाएर पाँचौं स्थान ओगटेको छ । अघिल्लो बर्षहरुमा धान उत्पादनमा निक्कै पछि परेको धनुषा जिल्ला भने यो बर्ष २ लाख २५ हजार तीन सय ९८ मेट्रिक टन धान उत्पादन गरी छैठौं नम्बरमा पुुग्न सफल भएको छ । केही बर्ष यतादेखि धनुषाले खडेरीको मारका कारण निकै कम परिमाणमा धान फलाउदै आएको थियो ।

यस्तै २ लाख १० हजार पाँच सय ८२ मेट्रिक टन धान उत्पादन गरी कपिलबस्तु सातौं नम्बरमा, २ लाख दुई हजार मेट्रिक टन धान उत्पादन गरी बर्दिया आठौं नम्बरमा, १ लाख ८४ हजार मेट्रिक टन उत्पादन गरी सुनसरी नबौं नम्बरमा र एक लाख ८२ हजार मेट्रिक टन उत्पादन गरी नवलपरासी जिल्ला दसौं नम्बरमा पुग्न सफल भएको छ ।

यसैगरी धान उत्पादनमा पछाडी परेका  पर्सा १ लाख ८० हजार मेट्रिक टन उत्पादन गरी पर्सा जिल्ला १२ औं स्थान, १ लाख ६७ हजार मेट्रिक टन उत्पादन गरी कञ्चनपुर जिल्ला १३ औं स्थानमा, १ लाख ६२ हजार मेट्रिक टन उत्पादन गरी सप्तरी जिल्ला १४ औं स्थानमा र १ लाख ५५ हजार मेट्रिक टन धान फलाएर सिरहा १५ औं स्थानमा पुग्न सफल भएको छ ।

यो बर्ष सर्लाही, महोत्तरी, दाँग, बर्दियालगायतका जिल्लामा पनि ठूलै परिमाणमा धान फलेको छ । अघिल्लो आर्थिक बर्षमा भारतको अघोषित नाकावन्दी र आन्तरिक रुपमा भएको बन्द हडतालका कारण नेपालमा निकै कम परिमाणमा धानको उत्पादन भएको थियो । मल, बीउ, औषधीलगायतका आधारभूत तत्वहरु समयमा गत बर्ष उपलब्ध नहुँदा अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले उत्पादनमा कमी आएको थियो ।

इतिहासमै सर्वाधिक धान उत्पादन
यो बर्ष नेपालको धानको इतिहासमै सर्बाधिक धान उत्पादन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा २१।६६ प्रतिशतले उत्पादनमा वृद्धि भएको मन्त्रालयको दावी छ । यो बर्ष एक खर्ब चार अर्ब ५० करोड मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो आर्थिक बर्षमा ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसअघि गत आर्थिक वर्ष २०७०/७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको थियो ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिले ३३ प्रतिशतका दरले पाँच खर्ब ८० अर्बको योगदान गर्दै आएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । धानले मात्रै एक खर्बको योगदान जीडीपीमा पुर्‌याउँदै आएको छ । कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ । कृषिमा धानको योगदान धेरै भएकाले धान उत्पादन घटेको वर्ष मुलुकको आर्थिक वृद्धिदर खुम्चिने र धानको उत्पादन वृद्धिदर दोहोरो अंकमा पुग्दा आर्थिक वृद्धिदर बढ्ने गरेको तथ्यांक छ ।

बढी फलेपनि चामल अपुग
चालु आर्थिक बर्षमा सर्वाधिक परिमाणमा धान उत्पादन भएपनि अझै सम्पूर्ण नेपालीलाई खुवाउन चामल अपुग हुने मन्त्रालयको बिश्लेषण छ । नेपालीहरु बिहान बेलुका भात मात्रै खाने बानीका कारण अत्याधिक परिमाणमा धान फलेपनि चामल अपुग हुने मन्त्रालयले जनाएको छ । यो बर्ष करिब चार लाख मेट्रिक टन चामल अपुग हुने मन्त्रालयले जनाएको छ ।

नेपालको कुल जनसंख्या दुई करोड ८१ लाख चार हजार दुई सय ८९ जनालाई खानाका रूपमा भातमात्रै खुवाउन वार्षिक तीन अर्ब ४२ करोड ८७ लाख २३ हजार दुई सय ५८ किलो (३४ लाख २८ हजार सात सय २३ मेट्रिक टन) चामल आवश्यक पर्छ । सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । एकजनालाई वार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ ।

मन्त्रालयका अनुसार खानाका रूपमा खाद्यान्न (चामल, गहुँ, मकै ) प्रयोग गरेमा सम्पूर्ण जनसंख्याका लागि २६ लाख मेट्रिक टन चामल आवश्यक पर्ने जनाएको छ । खानाका रूपमा चामल, गहुँ र मकै प्रयोग गर्दा भने यस वर्ष पाँच लाख २० हजार चामल बचत हुने अवस्था छ । ‘खाद्यान्नका रूपमा चामलसहित गहुँ र मकै पनि प्रयोग भयो भने यस वर्ष चामल बचत भएर आयात दर निकै घट्ने मन्त्रालयको प्रक्षेपण छ,’ प्रवक्ता कार्कीले भने । सन् २०१६ को जुलाईदेखि डिसेम्बरसम्मको पाँच महिनामा १४ अर्ब ३८ करोड मूल्यबराबरको चामल आयात भएको छ ।

अन्य वालीको उत्पादन पनि बृद्धि
चालु आर्थिक बर्षमा धानसँगै मकै, कोदो र फापरको उत्पादनमा पनि बृद्धि भएको छ । कृषि विभागका महानिर्देशक युवकध्वज जीसीले धानसँगै यस्ता बालीको उत्पादनमा पनि बृद्धि भएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा यस वर्ष मकै, कोदो र फापर उत्पादनमा वृद्धि भएको छ । यो वर्ष २२ लाख ५९ हजार मेट्रिक टन मकै फलेको छ । अघिल्लो आर्थिक वर्षमा २२ लाख ३१ हजार मेट्रिक टन मकै फलेको थियो । यस्तै यस वर्ष तीन लाख ६ हजार मेट्रिक टन कोदो उत्पादन भएको छ ।