बर्दियामा अब बाह्रै महिना धानखेती

यो समाचार 1493 पटक पढिएको

बर्दिया । खाद्यान्नको अन्न भण्डारका रूपमा लिइने बर्दियाको राजापुर क्षेत्रमा यस वर्षदेखि बार्‌ह्रै महिना धानखेती गरिने भएको छ । नेपाल सरकारले राजापुर क्षेत्रमा थप खाद्यान्न उत्पादन वृद्धि गराउने उद्देश्यले यसै आर्थिक वर्षदेखि राजापुर नगरपालिका क्षेत्रभित्र हिउँदे, चैतेलगायत वर्षे धानखेती विस्तार कार्यक्रम लागू गरेपछि अखण्ड धानखेती सुरु हुने भएको हो ।

वर्षे बालीमा धान र हिउँदे बालीमा गहुँखेती राजापुर क्षेत्रको मुख्य उत्पादन हुन् । राजापुर क्षेत्र सिँचित क्षेत्र भएकाले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धानबालीमा जोन कार्यक्रम लागू गरेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए ।

उनी भन्छन्, ‘अब राजापुर नगरपालिका क्षेत्रमा हिउँदे, चैते र वर्षे गरी बार्‌ह्रै महिना धानखेती हुन्छ । त्यस क्षेत्रमा बोरिङबाट सात सय र राजापुर सिँचाइ आयोजनामार्फत १२ हजार दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ यसले गर्दा धान उत्पादन राम्रो हुन्छ,’ उनले थपे, ‘यस वर्ष बर्दियामा गरिएको धानखेतीबाट दुई लाख दुई हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ जसमा एक तिहाई उत्पादन राजापुर क्षेत्रको हो ।’

धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको बर्दिया जिल्लामा ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । यसमध्ये राजापुरको १४ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जिल्ला कृषि विकास कार्यालय बर्दियाका अनुसार राजापुर क्षेत्रको कुल २१ हजार नौ सय ९७ हेक्टर जमिनमध्ये १८ हजार ६ सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य छ ।

रावत थप्छन्, ‘बर्दियाको राजापुर क्षेत्र खाद्यान्न उत्पादनको भण्डार हो तर पनि त्यस क्षेत्रमा प्राकृतिकलगायतका विभिन्न चुनौती बेलाबेलामा आउने गरेका छन् । यसै वर्ष राजापुरलगायत जिल्लाका विभिन्न स्थानमा गरिएको धानखेतीमा गवारोको प्रकोप देखियो । समयमै किसानलाई सचेत पार्न सकेकाले नै नियन्त्रण गर्न सफल भयौं । नत्र जिल्लाकै धानखेती स्वाहा हुने थियो ।’

जिल्लाको कृषि क्षेत्रमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा वृद्धि भए पनि निम्न आयस्तर भएका कृषक आधुनिक कृषि औजारको प्रयोगबाट वञ्चित छन् । जिल्ला कृषि विकास कार्यालयले पनि बेलाबेलामा यन्त्रिक उपकरण अनुदान दिने गरेको छ । तर, जिल्लाको कृषिमा सरकारले सोचेजति लगानी गर्न नसकेको किसानको गुनासो छ । थ्रेसर, धान तथा गहुँ काट्ने मेसिनजन्य उपकरणको पहुँच वढाउन सके उत्पादनमा समेत वृद्धि हुने किसानको ठहर छ ।

बाढीको चुनौती

राजापुर क्षेत्रलगायत जिल्लाका विभिन्न स्थानमा आउने बाढी कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको छ । बाढीका कारण सिँचाइका पूर्वाधार बिग्रदा धानलगायत खेतीपाती प्रभावित हुने गरेको छन् । बाढीले सिँचाइको क्षेत्रमा मात्र होइन करिब दुई हजार हेक्टर खेतीयोग्य जमिन कटान गरी क्षेत्रफलसमेत घटाएको छ ।

जिल्ला भएर बग्ने देशकै ठूला कर्णाली, बबई जस्ता नदी प्रयोगविहिन अवस्थामा छन् । नदीको सहत पुरिँदै जाँदा बर्सेनि बाढीको समस्या हुने गरेको छ । बाढीबाट एकातिर कटानको समस्या त छँदैछ अर्को तिर सिँचाइका लागि बनाइएका भौतिक संरचना तथा पूर्वाधारसमेत बाढीले बिगारिदिने गरेको प्रमुख रावतको भनाइ छ । यसले गर्दा पनि किसानलाई समस्या थप्दै समग्र खाद्यान्न उत्पादनमै ह्रास गराउने खतरा बढ्दै गएको छ ।

प्राकृतिक प्रकोपबीच बर्दियामा यसवर्ष धानको उत्पादन भने बढेको छ । बिगत तीन वर्षको तुलनामा यस वर्ष धानको उत्पादनमा चार प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष ७१/७२ देखि बर्दियामा ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । बर्दियामा आएको भिषण बाढीपछि करिब दुई हजार हेक्टर धानखेती गर्ने जमिनको क्षेत्रफल घटे पनि उत्पादनमा कुनै असर परेको छैन ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार गतवर्ष बर्दियामा गरिएको धानखेतीबाट एक लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भयो यस वर्ष बढेर दुई लाख दुई हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको औसत उत्पादन ३.९ मेट्रिकटन प्रतिहेक्टरबाट बढेर यस वर्ष ४.०५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको हो ।

गतवर्ष भारतीय नाकाबन्दी, कीराको प्रकोप, रासायनिक मल अभावले गर्दा उत्पादन घटेको थियो तर यसवर्ष केही प्राकृतिक प्रकोप भए पनि त्यसलाई कृषि कार्यालय र कृषकको समन्वयले परास्त गर्न सकेकाले नै उत्पादन बढेको अधिकृत रावतको दाबी छ । समग्रमा जिल्लामै चार प्रतिशत धान उत्पादन बढेको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय बर्दियाको तथ्यांकमा धान उत्पादमा वृद्धि देखिए पनि स्थानीय किसान धान घटेको बताउँछन् । राजापुर नगरपालिका निवासी छप्पुराम थारु भन्छन्, ‘यस वर्ष धानको उत्पादन बढेको बताइए पनि एउटा खेतमा आधा उत्पादन घटेको छ ।’ कृषि कार्यालयको तथ्यांकमा आश्चर्य प्रकट गर्दै उनले थपे,’खोई कसरी उत्पादन वृद्धि भएको देखियो महशुस गर्न सकिएन ।’

बजारीकरण समस्या

अन्न उत्पादनको हिसाबले पकेट क्षेत्र मानिने राजापुर क्षेत्रमा बजारीकरणको समस्या छ । किसानले मानो रोपेर मुरी त फलाउँछन् तर प्रतिफलको आम्दानी नगन्य हुँदा कृषि व्यवसायप्रति नै वितृष्णा उत्पन्न भएको छ । जापान सरकारको सहयोगमा २०४५ सालमा स्थापना भएको मध्यपश्चिम क्षेत्रकै उत्कृष्ट नेपाल खाद्य संस्थानको अत्याधुनिक चामल कारखाना भए पनि किसानलाई धानको राम्रो मूल्य दिन सकेको छैन । संस्थानले धानको मूल्य थोरै कायम गरेपछि किसानले बाहिरी व्यापारीलाई धान बेचेका छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मूल्य निर्धारण समितिले मोटो धान प्रतिक्विन्टल एक हजार नौ सय ५० रुपैयाँ, मकवानपुर धान दुई हजार दुई सय र मद्यम धान दुई हजार दुई सय ५० रुपैयाँ मूल्य कायम गरेको छ । बाहिरी व्यापारीले मौका छोपेर अलिकति मूल्य वृद्धि गरेपछि स्थानीय किसानले व्यापारीलाई धान बेचेका हुन् ।

नेपाल खाद्य संस्थान आधुनिक चामल कारखाना राजापुरले मंसिर ६ गतेदेखि धानको खरिद सुरु गरेको छ । यस वर्ष संस्थानको ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहे पनि किसानबाट धान खरिद गर्न नपाउँदा लक्ष्य अनुरुप धान खरिद गरी भण्डारण गर्न नपाउने भएको छ ।

मकवानपुर जातको धानबाट चिउरा र भुजाको उत्पादन राम्रो हुने भएकाले नेपालका सुनौल, नेपालगन्ज, चितवनलगायतका जिल्लामा बढी माग हुने र महँगो मूल्य पाउने हुनाले व्यापारीले मकवानपुर जातको धान खरिद गर्ने गरेको नेपाल खाद्य संस्थान आधुनिक चामल कारखाना राजापुरका मिल प्रबन्धक भोजराज पाण्डेले बताए । उनले भने, ‘तत्कालीन बजार मूल्यलाई आधार बनाएर हामीले मूल्य निर्धारण गरे पनि बाहिरी व्यापारीले ५० देखि एक सय रुपैयाँसम्म बढी दिएकाले किसान बाहिरी व्यापारीलाई धान बेचेका हुन् ।’

पाण्डेका अनुसार राजापुर क्षेत्रमा ८५ प्रतिशत मकवानपुर जातको धान उत्पादन हुन्छ । त्यसैले गर्दा पनि भुजा र चिउरा उद्योगको मागअनुसार सबैजसो धान बाहिर जाने गरेको हो । राजापुर चामल कारखानाबाट उत्पादन भएको चामल मध्यपश्चिमका जुम्ला, हुम्ला, डोल्पालगायतका पहाडी जिल्लामा पुर्‌याउने गरिन्छ । खाद्य उत्पादनको भण्डारका रूपमा मानिने बर्दिया जिल्ला धान उत्पादनका दृष्टिले अझ महत्त्वपूर्ण मानिन्छ ।

रोजगारको लागि विदेशिने युवालाई कृषि व्यवसायतर्फ आर्कषण गर्न सके देशकै आर्थिक अवस्था सुध्रिने निश्चित देखिन्छ । यसका लागि कृषि क्षेत्रमा थप लगानी गर्दै सिँचाइ, कृषि उपकरण, बिउ, मलको सहजरूपमा उपलब्ध गराई किसानको पहुँच बढाउनु जरुरी छ ।