कालिमाटी तरकारी तथा फलफूल बजारमा ९० करोड घोटाला

यो समाचार 505 पटक पढिएको

काठमाडौ । बाहिर साईनबोर्ड हेर्ने हो भने कालिमाटीको तरकारी तथा फलफूल बजार कृषि मन्त्रालयको मातहतमा रहेको देखिन्छ तर भित्री व्यवस्थापनको पाटोलाई हेर्ने हो भने बजार बिचौलियाहरुको नियंत्रणमा छ ।

सरकारले बजार व्यवस्थित गर्न संचलक समिति गठन गरेको त छ तर संचालक समिति पनि बिचौलियाहरुको नियंत्रणमा छ । बिचौलियाहरुको सामुन्ने संचालक समिति निरीह छ । बिचौलियाहरुले गरेको बदमासी र लुटतन्त्र विरुद्ध समिति बोल्नै सक्दैन ।

४५ रोपनी जग्गामा फैलिएको कालिमाटी तरकारी तथा फलफूल बजारमा ५ सय स्टलहरु छन् । ती स्टलहरु प्रति महिना ७ हजार भाडा दिनेगरी समितिसँग बिचौलियाहरुले लिएका छन् । तर प्रत्येक बिचौलियाले आफूले भाडामा लिएको स्टल अन्य ५ जनालाई प्रति महिना ३०–३० हजार उठाउने गरी भाडामा दिएका छन् ।

संचालक समितिमा रहेका कृषक प्रतिनिधि राजन प्रसाद न्यौपाने भन्छन् समितिको श्रेष्तामा ५ सय स्टलहरु छ र त्यसको मासिक भाडा वापत रकम ३५ लाख उठ्छ । तर बिचौलियाहरुले अन्य १ हजार जनालाई स्टलहरु बाँडेर भाडामा दिएका छन् । त्यसवापत ७ करोड ५० लाख रुपैया उठाउँछन् ।

यो लुटतन्त्रबारे कालिमाटी तरकारी तथा फलफूल वजार संचालक समिति र कृषि मन्त्रालय दुवै जानकार छन् तर कसैले कुनै कारवाही गर्दैनन् । न्यौपाने भन्छन्, बिचौलियाहरुको पैतृक सम्पत्ती बनेको छ कालिमाटी तरकारी तथा फलफूल बजार ।

बिचौलियाहरुले नाजायज भाडा रकम उठाएको कालिमाटी तरकारी तथा फलफूल वजार समितिलाई पनि थाहा छ । तर समितिले बिचौलियालाई हटाउन सक्दैनन् । समितिको वोर्डमा बिचौलियाहरु हटाउने प्रस्ताव नउठेको होईन तर त्यहाँका कार्यकारी निर्देशकभन्दा पनि बलियो स्थितिमा छन् बिचौलियाहरु । कालिमाटी फलफूल तथा तरकारी बजार संचालक समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल भन्छन्, ‘बिचौलियाहरु लाई हटाउन मैले बोर्डमा प्रस्ताव राखें तर म अल्पमतमा परें । ’ समितिले बिचौलियाहरुलाई हटाउन नसकेपछि समितिले फाईल कृषि मन्त्रालयमा पठाएको छ । तर मन्त्रालयले कुनै कदम चालेको छैन ।

बोर्ड सदस्य राजन प्रसाद न्यौपाने भन्छन् , “बिचौलियाहरुले नाजायज रुपमा उठाउने ७ करोड १५ लाख रकम तरकारी खरिद गर्ने उपभोक्तको थाप्लोमा बज्रिन्छ । ” कालिमाटी तरकारी तथा फलफूल वजारमा कृषकले पाउने तरकारीको मूल्य भन्दा ५ गुणा महगोमा उपभोक्ताले खरिद गर्नुपर्ने बाध्यता छ ।

न्यौपाने भन्छन् , ‘तरकारी उत्पादन गर्ने कृषकले सिधै उपभोक्तलाई तरकारी बिक्री गर्न पाउदैनन् । कृषकले कालिमाटीको बिचौलियाहरुलाई तरकारी बेच्नु पर्छ ।’ बिचौलियाहरुले स्टल र साईकलमा तरकारी बेच्नेहरुलाई ४ गुण मुनाफा गरेर तरकारी बेच्छन् । त्यसपछि खुद्रा बिक्रेताहरुले नाफा खाएर तरकारी बिक्री गर्दा कृषकले २० रुपैया प्रतिकिलोमा बिक्री गरेको तरकारी एक सय रुपैया किलोमामा उपभोक्ताहरुले खरिद गर्नुपर्छ ।

बिचौलियाहरुले कालिमाटी तरकारी तथा फलफूल वजारबाट उठाइएको अवैध रकम कृषि मन्त्रालयका पदाधिकारीहरुसम्म भाग शान्ति लगाएर पुग्ने बोर्ड सदस्य न्यौपानेको दाबी छ । सरकारले मात्र ७ हजार मासिक भाडा दरमा दिएको कालिमाटीको तरकारी स्टलबाट डेढ लाख भाडा उठाउने बिचौलियाहरुका कारण तरकारीको मूल्य आकासिएको न्यौपानेको कथन छ ।

नेपाल सरकारले यातायात क्षेत्रको सिन्डिकेट तोडेपछि अब तरकारी बजारमा व्याप्त सिन्डिकेट हटाउने भनेको छ । कार्यकारी निर्देशक पौडेल भन्छन्,“कालिमाटीमा ७ हजार मासिक भाडा दरमा स्टल भाडामा लिएर त्यही स्टल अन्य ५ जनालाई डेढ लाख प्रति महिना भाडामा दिने बिचौलियाहरुको दादागिरी र आधिपत्य समाप्त पार्न आवश्यक छ । ”कृषि मन्त्रालयले यसका लागि कडा कदम चाल्नु पर्ने पौडेलको कथन छ ।

बजार अनुगमन गर्न कालिमाटी तरकारी तथा फलफूल बजार कालिमाटी पुगेका कृषि मन्त्रालयका सचिव डा। युवकध्वज जिसीले भने, “कालिमाटी तरकारी र फलफूल वजारमा बेथिति छ र त्यसको अध्ययन प्रारम्भ भएको छ । ” उनले चाँडै बिचौलियाहरुको सिन्डिकेट समाप्त हुने दाबी गरे । कृषि मन्त्रालयका सचिव जिसीले उत्पादन गर्ने कृषकहरु कै सहकारीलाई कृषि बजार संचालन गर्न दिने र उपभोक्ताले सिधै कृषकहरुसँग तरकारी खरिद गर्ने व्यवस्था मिलाउन कृषि मन्त्रालयले गृहकार्य थालेको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :