मलको बिषयमा कृषि सामग्री कम्पनीमा अख्तियारको छापा

यो समाचार 508 पटक पढिएको

काठमाडौं । कृषि सामग्री कम्पनीको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको क्षेत्रीय कार्यालयले कृषि सामग्री कम्पनीमा छापा मारेको हो । आयोगको क्षेत्रीय प्रमुख कालिप्रसाद पराजुलीले कृषि सामग्रीमा छापा मारिएको जानकारी दिए । उनले भने, ‘हाम्रो टोलीले दिउँसो १ बजे छापा मारेको हो । टोलीले छानबिन गरिरहेको छ ।’ उनका अनुसार प्रारम्भिक चरणको केही बोरा परीक्षण गर्दा दुईदेखि ६ किलोसम्म कम तौल भएको युरिया मलको बोरा फेला पारिएको छ ।

टोलीले थप बोराको परीक्षण गरिरहेको जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गर्न थप छानबिन र कारबाहीका लागि आयोगको केन्द्रीय कार्यालयलाई पत्राचार गरिने बताए ।

‘गोदाममा भएको सबै बोरा अहिले नै हामीले परीक्षण गरेका छैनौं,’ पराजुलीले भने, ‘नमुनाका रूपमा केही बोरामा परीक्षण गर्दा ६ किलोसम्म कम तौल भएको भेटिएको छ । कम तौल भएका केही बोरा छुट्ट्याउन लगाएर छुट्टै राख्न भनेका छौं । थप अनुसन्धान र छानबिन हुँदै छ । अहिले नै सबै भन्न उचित हुँदैन ।’ अख्तियारले छानबिनका क्रममा साँझसम्म ६ सय बोरा कम तौलको अवस्थामा फेला पारेको थियो ।

कृषि सामग्री कम्पनीले ‘गभर्मेन्ट टु गभर्मेन्टु ९जिटुजी० सुविधाअन्तर्गत प्रतिस्पर्धाबेगर भारत आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट खरिद गरी आयात गरेको युरिया मलको अधिकांश बोरा कम तौलको भेटिएको छ । कृषि सामग्री कम्पनीले ५० हजार बोरा युरिया मल भित्र्याएको छ । ५० हजार बोरामै दुईदेखि १० किलोसम्म कम मल रहेको स्रोतको दाबी छ ।

कृषि सामग्रीले डेढ साताअघि २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) युरिया मल भित्र्याएको छ । जिटुजीअन्तर्गत कृषि सामग्रीले भारतीय सरकारीको स्वामित्वको एमएमटीसीमार्फत सरकारी स्वामित्वकै ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीसँग उक्त मल खरिद गरेको हो । कृषि सामग्रीको क्षेत्रीय कार्याल प्रमुख गोविन्दप्रसाद पराजुलीले सोमबार तीन हजार बोरा कम तौलको भेटिएको बताएका थिए । तर, स्रोतले ५० हजार बोरामै कम तौलको रहेको दाबी गरेको छ ।

कम परिमाणका मलका बोरा पाइएपछि क्षतिपूर्ति कसले व्यहोर्ने सम्बन्धमा पनि सम्झौतापत्रमा केही उल्लेख छैन । स्रोत भन्छ, ‘अहिले फेरि भेटिएको कम परिमाणको मलको क्षतिपूर्ति कसले दिने विषयमा कुनै लिखित सम्झौता कृषि सामग्री गरेको छैन । सम्झौतामै गल्ती गर्नेले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उल्लेख हुनुपर्नेमा त्यस्तो उल्लेख गरिएको छैन । यसले गर्दा सिधै राज्यले आफैं क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिन्छ ।’

अख्तियारको निर्देशकविपरीत खरिद

कृषि सामग्री कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत भारतको एक मात्र कम्पनीसँग प्रतिस्पर्धाबेगर युरिया मल खरिद गरेको हो । अघिल्लो वर्ष आयोगले जीटूजीअन्तर्गत प्रतिस्पर्धाबेगर खरिद नगर्न निर्देशन दिएको थियो । आयोगले जीटूजीअन्तर्गत खरिद गर्दा भारतीय सरकारको स्वामित्वमा रहेको चारवटा मल संस्थान कारखानासँग प्रतिस्पर्धा गराएर दररेटका आधारमा कम अंक कवोल गर्ने सरकारी संस्थानसँग मात्रै खरिद गर्न निर्देशन दिएको थियो । तर, कृषि सामग्रीले उक्त निर्देशनविपरीत भारतीय सरकारको स्वामित्वको एक मात्र संस्थानसँग युरिया र डीएपी मल खरिद गर्दै आएको छ ।

मन्त्रालयद्वारा छानबिन

कृषि विकास मन्त्रालयले युरिया मलका बोरामा कम परिमाणमा मल भेटिएको विषयमा छानबिन गर्न मंगलबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले वास्तविक जानकारी लिन छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशक हस्तबहादुर बिष्टको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो । समितिलाई स्थलगत अध्ययन गरी पाँच दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । ‘समितिलाई भोलिदेखि नै कार्यक्षेत्रमा काम सुरु गर्न निर्देशन दिएका छौं,’ सचिव पोखरेलले भने ।

उनका अनुसार ५० किलो तौलको रकम लिएर किसानलाई ४० देखि ४७ किलोको बोरा बिक्री गरी सरकारी संस्थानले ठग्न पाउँदैन । छानबिनका क्रममा कृषि सामग्री संस्थान वा भारतीय कम्पनीको गल्ती भेटिएमा कृषि सामग्रीलाई कारबाहीको दायरामा ल्याइने र भारतीय कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने उनले जानकारी दिए ।

यसैबीच, सोमबार नै भारतीय राजदूत मञ्जिभसिंह पुरी र कृषि विकासमन्त्री रामकृष्ण यादवबीच मलका विषयमा छलफल भएको छ । नेपालमा गहुँबाली लगाउने समयमा युरिया मल र डीएपी मलको चर्को अभाव भइरहेको विषयमा राजदूत पुरी र कृषिमन्त्री यादबबीच भेटवार्ता भएको हो । गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन सरकारीस्तरमा आवश्यक मल उपलब्ध गराइदिन कृषिमन्त्री यादवले राजदूत पुरीसँग आग्रह गरेका थिए । यो विषयमा बुधबार भारतीय दूतावासमा पुनः थप छलफल गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :