वागवानी विज्ञ वुवाले राजा विरेन्द्रलाई १५ मिनेट कन्भिन्स गरेपछि बल्ल स्वीकृत

यो समाचार 216 पटक पढिएको

भेटेर कन्भिन्स गराएपछि, राजाले त्यहि वर्ष रातो किताबमा वाइन सम्बन्धी नीति नै ल्याइदिए ।’

युवा पुस्तामा पछिल्लो समय ‘वाइन कल्चर’ बढ्दो छ । बढ्दो आधुनिकता र बदलिदो संस्कृतिसँगै वाइन सर्वप्रिय बन्दै गएको पाइन्छ । पार्टी, भोज, ‘गेट्टुगेदर’, विहे वा कुनै पनि चाडबाडमा वाइनको फर्माइस अचेल भइहाल्छ ।

‘तर, नेपालमा वाइनको विकास कसरी भयो ? कसरी उत्पादन भयो इतिहास पनि त्यतिकै स्वीट र रोचक छ । हाल ८० भन्दा बढि वाइन उत्पादन कम्पनीहरु रजिष्टर छन्, भने, २२ भन्दा बढि कम्पनीका ब्रान्डहरु बजारमा छन् । लगत्तै दर्जन ब्रान्डहरु थपिने क्रममा छ ।

तर, त्यो समय त्यस्तो थिएन जुन अहिले वाइन कल्चरलाई बुझिन्छ, महेश्वर रञ्जितकार नोष्टाल्जिक बने, ‘वाइन के हो ? कसरी बन्छ ? सर्वसाधरणलाई थाहै थिएन । २०४२ साल अघि वाइन कम्पनी नै थिएन ।

साकारो परमेन्टेड वेभरेज प्रालिका प्रोपाइटर रञ्जितकारले नेपालमा वाइन उत्पादनको ऐतिहासिक सन्दर्भलाई यसरी कोट्याए, ‘न त उद्योग दर्ता गर्ने प्रावधान नै थियो न ज्ञान सीप बोकेका ब्यक्ति नै ।’ बुवा (सत्यलाल रञ्जितकार) ले राजा विरेन्द्रलाई खुवै कन्भिन्स गर्नुपरेको थियो’ उनले अनुभव सुनाए ।

‘नेपालको पहिलो वागवानी विज्ञ सत्यलाल रञ्जितकार अर्थात मेरो बुवाको चाहना नेपालमा कसरी फलफुलको विकास गर्न सकिन्छ भन्ने थियो । उहाँ चिन्तनशिल हुनुहुन्थ्यो । बुवा तत्कालिन समयमा श्री पाँचको सरकारमा वागवानी विज्ञ हुँदा ककनीको फर्म, दामनको एग्रिकल्चर फर्म र धनकुटा पारीपात्ले एग्रिकल्चर फर्म सञ्चालनमा आएको थियो’, रञ्जितकारले भने, ‘विसं २०१७ सालमा राजाले शासन हातमा लिएपछि उहाँ जागिर छोडेर घरमै बस्नुभो ।

तर चुपचाप बस्न बुवाको मनले मानेन सायद त्यसैले विराटनगरमा साथीको अनारस उत्पादन कम्पनीमा काम गर्न पुग्नुभो । तर त्यहाँ पनि त्यति सहज भएन । छ महिनापछि घर (काठमाडौं जैसिदेवल) फर्किनुभयो । र आफैँले नेपाल फल उद्योग स्थापना गरेर जुस, तथा जाम उत्पादन शुरु गर्नुभएको मलाई याद छ । २०३८ सालतिर कोक, फ्यान्टा लगायतका तयारी पेयपदार्थको आयातले बजार खस्कियो । र ध्यान वाइन उत्पादनतिर गएको हो ।’ गम्भिर मुद्रामा सम्झदै उनले भने, ‘अहिले उनै सत्यलाल रञ्जितकारले शुरु गरेको वाइन उत्पादनलाई मैले (महेश्वरलाल रञ्जितकार) हुर्काउने बढाउने जगेर्ना गर्ने काम गरेँ ।

उहाँको नाति आश्रय रञ्जितकार अर्थात मेरो छोराले पनि वाइनलाई नै व्यवसायिक रुपमा निरन्तरता दिइरहेको छ ।

वाइन कम्पनी दर्ता गर्दाको त्यो समय

‘स्वदेशको फलफूलको खपत हुने विकास पनि हुने भएकोले वुवाले वाइन उत्पादन गर्न जोड गर्नु भएको हो । हामीले २०४२ सालमा फर्मान्टेड वेभरेज इन्डष्ट्रिज नामक वाइन कम्पनी दर्ता गरेका हौं । वाइनको खुला बजार थिएन त्यसभन्दा अगाडि नेशनल ट्रेडिङले ठूला–ठूला होटलहरुलाई दिन मात्रै निर्यात गर्दथ्यो ।’

दर्ता गर्ने विषयमा पनि एउटा रोचक प्रसङ्ग छ रञ्जितकार मुस्कुराउँदै भन्छन्, ‘त्यतिबेला कुन सेक्टर तथा उद्योग अन्तर्गत राखेर उद्योगलाई दर्ता गर्ने भन्ने नीति नै रहेनछ । र दर्ता हुन सकेन । तर त्यहिँ वर्ष तत्कालिन राजा विरेन्द्र सेन्ट्रल रिजनको भ्रमणमा हेटौंडा गएको बेला वुवाले राजालाई करिब १५ मिनेट भेटेर कन्भिन्स गराए पछि रातो किताबमा वाइन सम्बन्धी नीति नै आएछ ।’

‘नेपाल अधिराज्यभर फलफुल विकास गर्न फलफुलमा आधारित वाइन उद्योगहरुलाई दश वर्षको लागि अन्तशुल्क छुट तथा विक्री छुट दिने निर्देशन नै जारी भएको थियो’ उनले भने । ‘र २०४५ सालदेखि वाइन बजारमा पठाउन शुरु गरँ । ६ महिनासम्म वाइन बजारमा गयो । तर अन्तशुल्क विभागको पत्र पछि म झस्किएँ ।’ रञ्जितकारले गम्भिर हुँदै भने, ‘अन्तशुल्कले एक साताभित्र उपस्थित हुनु भनेकोले हाजिर हुन गएँ ।

मैले थाहा पाएँ कि राजाले दिएको निर्देशनलाई परिमार्जन गर्दै अर्थ मन्त्रालयले अन्तशुल्क छुट र बिक्री करमा १६ वटा विकट जिल्लाहरुलाई मात्रै छुट दिएको रहेछ । वैधानिक रुपमा काम गर्दा गर्दै जानकारी नै नभएकोले आफू फस्न पुगेको उनले त्यसबेला मात्र बुझे ।’

वाइनको स्याम्पल बनाउँदैमा बित्यो दुई वर्ष

वाइन बजार विल्कुल नयाँ थियो र बजार भने आशाजनक थियो । तर काम गर्ने जाँगर नै चलेन । पछि धरानबाट ससुरा बुवाले केहि त गर्नुपर्छ भनेपछि २०५१ सालमा उनी धरानतिर हानिए अनि मकालु वाइन इन्डिष्ट्रिज स्थापना हुन पुगेको हो । र हिँवा वाइन मकालुको ब्रान्ड बन्यो । धरानमा लाहुरेहरुका श्रीमतीहरु घाममा छाता ओढेर वियर पिउँथे । वियर पिउनेले वाइन पिउँछन् भन्ने सोचले धरान बजारमा वाइन पठाइयो । तर ग्राहकहरुले ‘मात्दै नमात्ने पनि वाइन हुन्छ ?’ भनेर प्रतिक्रिया दिए ।

रञ्जितकार निधार खुम्चिने गरि हाँस्दै भने, ‘बजारमा फिँजाइएको ड्राई वाइन कम्पनीले सबै फिर्ता लिनुप¥यो । ग्राहकहरुको रुचि अनुसार वाइन उत्पादन गर्नुपर्छ भन्ने महसुस गर्दै स्याम्पल टेष्ट गराउँदैमा दुई वर्ष वितेछ ।

स्याऊ खेतीको विस्तार

धान चामल नफल्ने कर्णालीमा सरकारले हेलिकप्टरबाट चामल पठाइरह्यो तर खेर गइरहेको स्याऊको बारे केहि सोचेन । ‘हाइअल्टिच्युड’ का मानिसहरु अल्कोहल नभई काम गर्न सक्दैनन् त्यसैले उनीहरुले उक्त चामल कुहाएर मदिरा बनाए-खाए । तर, कर्णालीमा न त स्याऊको सहि सदुपयोग भयो न त चामलको नै । यो हाम्रो विडम्बना थियो । चामल कुहाउनुको सट्टा त्यहिको स्याउलाई अल्कोहल बनाउन सिकाएको भए कति राम्रो हुने थियो । स्याउ खेतीको पनि विकास हुने थियो ।

केमेष्ट्रिका अध्येता रञ्जितकार : चुथ्रोदेखि ऐँसेलुसम्मको यात्रामा

नेपालमा वाइन उत्पादनको लागि पर्याप्त स्रोत साधन छ । ऐसेंलु, चुथ्रो जस्ता जङ्गली जडिबुटीहरु नेपालमा त्यत्तिकै खेर गइरहेको अवस्था छ । यसको प्रयोगबारे नेपालीहरु अनभिज्ञ छन् । केमेस्ट्रीमा विएस्सी गरेका रञ्जितकारले बुवा सत्यलाल रञ्जितकारसँग नेपाली जडिबुटी र वाइनको विषयमा धेरै कुरा सिक्ने अवसर पाए ।

अहिले उनले वर्षको सय टनभन्दा माथि

ऐंसेलु र चुथ्रो सङ्कलन गर्दै आइरहेका छन् । ‘नेपालको मेचिदेखि महाकाली तथा महाभारत क्षेत्रमा ऐँसेलु र चुथ्रो घारी छ । यस्तै विविध जडिबुटि, फलफुलबाट वाइन बनाउन राज्यले प्रोत्साहन गर्ने हो भने खेर गइरहेका बस्तुको सदुपयोग पनि हुने थियो भने रोजगार बृद्धि भई आय आर्जन पनि हुने थियो’, उनले तर्क गरे ।

वाइनप्रति पारखीहरुकै साँघुरो मन

मानिसहरु वाइन शतप्रतिशत अल्कोहलको रुपमा मात्र बुझेका छन् । तर यो फलफुल र जडिबुटीको बन्दछ । अङ्गुरको मात्रै वाइन हुन्छ भन्नु वाइनप्रति साँघुरो मन हुनु हो ।

गुलिया जातका कुनै पनि फलफुलबाट वाइन बनाउन सकिन्छ । र त्यो तुलनात्मक स्वस्थकर पनि हुन्छ । बदलिँदो परिवेश अनुसार हरेक कार्यक्रम, पार्टी, भोज आदिमा वाइनको प्रयोग बढ्दो छ । पारखीहरु बढ्दो छ, तर, खान जानेका छैनन् । बुझेका छैनन् यो हामी उद्यमीले बुझाउनु जरुरी छ ।

फलफूल अनुसार वाइनको नामाकरण

उद्योगी रञ्जितकारले एक वर्ष जापानमा वाइन निर्यात पनि गरे । तर निरन्तरता भने दिन सकेनन् । वार्षिक करोडौं रुपैयाँको वाइन आयात हुँदा नेपाली पैसा बाहिरिएको छ । हामीले त्यो प्रतिस्थापन गर्नै पर्दछ । राज्यले पनि स्वदेशी वस्तुको उपयोग बजारीकरणमा सहजीकरण गर्नै पर्दछ । कम्पनीहरु बढेसँगै बजारमा प्रतिस्पर्धा बद्दो देखिन्छ । उद्योगीले स्वस्थ प्रतिस्पर्धामा उत्रेर गुणस्तर बस्तु दिन सक्नु पर्दछ । भने यता सरकारले स्वदेशी कच्चापदार्थ प्रयोग गर्ने वाइन उद्योगहरुलाई विशेष प्राथमिकता दिनुपर्दछ ।

र अल्कोहलको मात्रा अनुसार यसलाई बर्गिकरण गर्न सक्नुर्दछ, उनले भने । अङ्गुरको बाहेक अन्य फलफुलको वाइन बन्न सक्दैन भन्ने विदेशीहरुको धारणा छ । उनीहरुले नास्पातिको वाइनलाई ‘पेरी’ र महकोलाई ‘हनि मिड’ भन्छन् । यसरी जात अनुसार विभिन्न नाम छन् । हामीले ब्राण्डिङ गर्न सक्नुपर्दछ ।

उनले भने, ‘स्याऊ, अङ्गुर, सिस्नो, हर्बल आदिको वाइन पनि उत्पादनमा छ । एकभन्दा धेरै फलफुलहरु मिसाएर उत्पादन गर्दा वाइनलाई सन्धी गरेर नयाँ नाम राखेका समेत राख्न भ्याएका छन् । जस्तैः स्याऊ (एप्पल) र अङ्गुर (ग्र्याप) लाई सन्धी गरेर ‘ग्र्याप्पल’ । यसरी वाइन संसारमा फरक परिचय र पहिचान बनाउन उनी सधैं तल्लिन देखिन्छन् ।

‘सरकारले युवा लक्षित कार्यक्रम ल्याउनु पर्दछ र कामको वातावरण सिर्जना गरी अवौं रुपैंयाँको आयात हुने फलफूललाई नेपालमै उत्पादन र सदुपयोग गर्नु पर्ने हुन्छ’, उनले भने ।

(महेश्वरलाल रञ्जितकारसंगको कुराकानीमा आधारित) 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :