कृषि बिमा गर्न ३ बिमा कम्पनीलाई १० जिल्ला बाँडफाँड

यो समाचार 215 पटक पढिएको

काठमाडौं । बिमा समितिले तीन नयाँ निर्जीवन कम्पनीलाई कृषि व्यवसाय गर्न १० वटा जिल्ला विभाजन गरेको छ ।

समितिले अजोड इन्स्योरेन्स कम्पनीलाई ४ वटा, सानिमा जनरल र जनरल इन्स्योरेन्सलाई ३र३ वटा जिल्ला तोकेको हो ।

बिमा समितिले २०७१ मै १७ वटा निर्जीवन बिमा कम्पनीलाई ५१ वटा जिल्ला विभाजन गरी कृषि बिमा गर्न निर्देशन दिएको थियो । सोही बमोजिम अजोड इन्स्योरेन्सलाई गुल्मी, पर्वत, पूर्वी रुकु्म र रौतहट जिल्ला तोकिएको बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । त्यस्तै, जनरल इन्स्योरेन्सलाई रसुवा, सिरहा र पर्सा तथा सानिमा जनरल इन्स्योरेन्सलाई कपिलवस्तु, नवलपुर र मोरङ जिल्ला तोकिएको छ ।

कम्पनीले अटेरी गरेपछि तोकियो जिल्ला
नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले १ माघ ०६९ देखि कृषि बिमा कार्यक्रमको सुरुवात गरेको हो । मन्त्रालयले सुरु गरेको कार्यक्रमलाई अगाडि बढाउँदै बिमा समितिले आव ०७०/७१ देखि कृषि तथा पशु बिमालाई अनिवार्य गरेको छ । तर, बिमकहरू कृषि बिमाप्रति अटेरी भएपछि समितिले २०७१ फागुनमै कम्पनीहरूलाई जिल्ला तोकेरै कृषि बिमा गर्न निर्देशन दिएको हो ।

जिल्ला तोकेपछि व्यवसाय वृद्धि
बिमा समितिले कम्पनीहरूलाई जिल्ला नै तोकेर कृषि बिमा गर्न निर्देशन दिएपछि कृषि बिमा व्यवसाय तीव्र रूपमा बढेको हो । कृषि बिमामा सञ्चालन खर्च अधिक हुने देखिएपछि अधिकांश कम्पनीहरू कृषि बिमा व्यवसाय गर्न आनाकानी गरेका थिए । तर, समितिले कम्पनीका लागि जिल्ला नै तोकेपछि कम्पनीहरू कृषि बिमा व्यवसाय गर्न बाध्य भए । फलस्वरूप कृषि बिमा व्यवसाय उल्लेखनीय रूपमा बढेको समितिका उपनिर्देशक सापकोटाले बताए ।

आव ०७०/७१ मा ६२ करोड ५४ लाख रुपैयाँबराबरको कृषि बिमा भएको थियो । तर, जिल्ला तोकेपछि आव ०७१/७२ मा ३ अर्ब १८ करोड रुपैयाँ पुगेको थियो । त्यस्तै, आव ०७२/७३ मा कृषि बिमा व्यवसाय ६ अर्ब ३ करोड रुपैयाँ पुग्यो भने आव ०७३/७४ मा ९ अर्ब २५ करोड रुपैयाँबराबरको कृषि बिमा व्यवसाय भएको समितिको तथ्यांकमा उल्लेख छ ।

अनुदान बढायो सरकारले

कृषि बिमाका लागि सरकारले वितरण गर्दै आएको अनुदान रकम प्रतिवर्ष बढ्दै गएको छ । चालू आव ०७५/७६ मा भने अनुदान रकम शतप्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चालू आवमा कृषि बिमाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको छ । पशु बिमाका लागि ४० करोड रुपैयाँ र बाली बिमाका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ ।
गत आवमा भने सरकराले कृषि बिमाका लागि ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

जसमध्ये कृषि विकासका लागि १० करोड ५० लाख र पशुपक्षी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको थियो । कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव ०७०/७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । दोस्रो आव ०७१/७२ मा जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष भने कृषि बिमा व्यापक रूपले बढ्यो । विनियोजित रकम अपुग भएपछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव ०७२/७३ का लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । उक्त वर्ष पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :