भाइमसलाको मूल्य केजीमै हजार रुपियाँसम्म बढ्यो

यो समाचार 43 पटक पढिएको

काठमाडौँ । तिहारमा बढी खपत हुने भाइमसला तिहार नजिकिँदै गर्दा बजारमा यसको मूल्य अत्यधिक बढेको छ ।

बढी खपत हुने मौका छोपेर व्यवसायीहरूले भाइमसलाको मूल्य बढाएको उभोक्ताको गुनासो गर्दै आएका छन् । भाइमसला भन्नाले काजु, किसमिस, पेस्ता, नरिवल, बदाम, मिस्रीलगायतलाई बुझाउँछ ।

खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाको मूल्य केजीमै हजार रुपियाँसम्म बढेको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले गतवर्षको तुलनामा यो वर्ष भाइमसलाको मूल्य थोकमै तेब्बरसम्म बढेको जानकारी दिनुभयो । थोक व्यापारीहरू भने गत वर्षभन्दा केहीमा मात्रै १०र१५ प्रतिशतसम्म महँगो भए पनि तेब्बर मूल्य महँगो नभएको दाबी गर्छन् ।

नेपाल थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार थोकबाट खुद्रामा पुग्दा धेरै बढेको छैनन् । खुद्रा बजारमै मूल्य वृद्धि भएको छ । यता खुद्रा व्यापार सङ्घका अध्यक्ष श्रेष्ठले थोकमा नबढी खुद्रामा मात्रै मूल्य बढ्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘समग्रहमा भाइमसलाको मूल्य २० प्रतिशतसम्मले बढे पनि केहीको ७५ प्रतिशतसम्म महँगो भएको छ । ’

सङ्घ स्वयंले भाइमसलाको मूल्य २० प्रतिशत बढेको दाबी गरिरहँदा उपभोक्ता भने गत वर्षभन्दा हरेकको भाउ दोब्बर महँगो हुँदै गएको गुनासो गर्दै आएका छन् । तिहारलाई भाइमसला किन्न बानेश्वरबाट मखनमा आइपुगेकी सरिता घिमिरेले भाइमसला गतवर्षको तुलनामा तेब्बरसम्म महँगो भएको अनुभव गर्नुभयो । उहाँले भन्नुभयो “तिहारको भाइमसला त किनिसाध्यै नै छैन, नकिनी पनि भएको छैन । ”

सङ्घका अनुसार भाइमसला गतवर्षको तुलनामा यो वर्षको तेब्बरसम्म महँगो भएको छ । गतवर्ष किसमिस प्रतिकेजी गर्त वर्ष तीन सय रुपियाँ खुद्रामा कारोबार भएकोमा यो वर्ष बढेर छ सय रुपियाँ पुगेको सङ्घले जनाएको छ । यस्तै देसीबदाम गतवर्ष एक हजार १५० रुपियाँ भएकोमा यो वर्ष एक हजार पाँच सय रुपियाँ पुगेको छ ।

त्यसैगरी नरिवल प्रतिकेजी तीन सय रुपियाँबाट पाँच सय रुपियाँ, ओखर तीन सयबाट बढेर प्रतिकेजी सात सय रुपियाँ, पेस्ता प्रतिकेजीबाट एक हजार तीन सयमा किनबेच भएकोमा यो वर्ष केजीमै पाँच सय रुपियाँ बढेर एक हजार आठ सय रुपियाँ पुगेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष श्रेष्ठले काजु, छोक्डा, मिश्रीमा भने गत वर्षभन्दा यो वर्ष खासै मूल्य नबढेको बताउनुभयो । उहाँका अनुसार यो वर्ष तिहारमा बढी माग हुने खुर्पानी र मखनाको मूल्य अत्यधिक बढेको छ । गतवर्षको तिहारमा ३५० रुपियाँमा पाइने खुर्पानी यस पटकको तिहारमा प्रतिकेजीमै ६५० रुपियाँ बढेर प्रतिकेजीको एक हजार पुगेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस्तै सङ्घका अनुसार ल्वाङ, सुकमेललगायतमा अत्यधिक मूल्य बढेको छ ।

उपभोक्ता अधिकारकर्मीहरूले सीमित व्यापारीको मिलेमतो र त्यसमा सरकारी बेवास्ता नै मूल्य वृद्धिको कारण भएको बताउँदै आएका छन् । बजार अनुगमन गरी अनियमिततालाई नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमविपरीत काम गर्ने व्यापारीलाई तत्काल कारबाही गर्ने बताउँदै आएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ मा बजार निरीक्षण अधिकृतका सम्बन्धमा भएको स्पष्टताका कारण विवाद उठेपछि विभागले उजुरी परेका ठाउँमा जाने र बुझ्नेबाहेक अनुगमन गर्न छोडेको विभागले कालोबजारी गर्नेलाई कारबाही गर्छु भन्न छोडेका छैनन् ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले बिहीबारदेखि नै तिहार लक्षित बजार अनुगमन पुनः थालिएको जानकारी दिनुभयो । साविककै ऐनको व्यवस्थाअनुसार अनुगमन गर्ने निर्णय भएपछि आजैदेखि हामी अनुगमन शुरू गरेको भन्दै उहाँले अनुगमन नहुँदा पनि बजारमा व्यापारीले मनपरि मूल्य वृद्धि गर्ने अवसर पाएकाले यसलाई पुनः निरन्तरता दिएका छौँ भन्नुभयो । विभागका महानिर्देशक गौचनले अहिले खुद्रा बजारमा मूल्य वृद्धिको ठूलो समस्या रहेको बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :