मिलोमतोमा साल्टलाई महँगोमा चिनीको प्रस्ताव

यो समाचार 142 पटक पढिएको

काठमाडौं । स्वदेशी चिनी उद्योगीहरुले मिलोमतो गरी बजार मूल्यभन्दा महँगो मूल्यमा साल्ट ट्रेडिंग कर्पोरेशनलाई चिनी खरिद गर्न प्रस्ताव गरेको छ । उद्योगीहरुले बजारमा बिक्री गर्ने मूल्यभन्दा प्रति किलो दुई रुपैयाँ बढी मूल्य राखेर मिलोमतोमा चिनी खरिद गर्न साल्टलाई प्रस्ताव गरेको हो ।

नीजि क्षेत्रका चिनी उद्योगहरु एभरेष्ट, रिलायन्स, इन्दुशंकर र इस्टर्न सुगर मिलले मिलोमतो गरी प्रति किलोलाई कारखानाको गेटमा भ्याटसहित ६४ रुपैयाँ प्रस्ताब गरेको हो । नीजि क्षेत्रका उद्योगहरुले भने बजारमा प्रतिकिलो भ्याटसहित ६१ देखि ६२ रुपैयाँमा बिक्री गर्दैआएका छन् । भ्याट वाहेक नीजि उद्योगले चिनीको बजार मूल्य ५४ रुपैयाँ राखेका छन् ।

उखु किसानको भुत्तानी दिन बाँकी रहेको रकम भुत्तानी गर्न बजार मूल्यमै साल्टलाई चिनी बिक्री गर्न तयार रहेको नेपाल चिनी उद्योग संघले दावी गरेको छ । तर व्यवहारमा भने उद्योगीले मिलोमतोको आधारमा प्रति किलोलाई भ्याटसहित ६४ रुपैयाँ प्रस्ताव गरेको छ ।

‘पाकिस्तानबाट सस्तो मूल्यमा भित्रिएको चिनीका कारण हामीले उत्पादन गरेको चिनी बिक्री नभएर उखु किसानलाई समयमा भुत्तानी दिन सकेनौं,’ संघका अध्यक्ष अग्रवालले भने,‘बजारमा पाकिस्तानी चिनीसँग प्रतिस्र्पधा गर्न नसकेर हामीले भ्याट बाहेक स्वदेशी उद्योगबाट उत्पादित चिनीको मूल्य ५४ र भ्याटसहित प्रतिकिलो ६१ देखि ६२ रुपैयाँ तोकेर बिक्री गर्दैछौं । साल्टले चाह्यो भने यही मूल्यमा हामी चिनी दिन तयार छौं ।’

संघले पाकिस्तानबाट सस्तो मूल्यमा चिनी आयात भएका कारण स्वदेशी उद्योग धरासायी बन्दै गएको दावी गरेको छ । संघले भारतसहित तेश्रो मुलुकबाट आयात हुने चिनी पूर्ण रुपमा बन्द हुनुपर्ने मागसमेत गर्दैआएको छ ।

साल्ट ट्रेडिंग कर्पोरेशनका सह महाप्रवन्धक कुमार राजभण्डारीले बजार मूल्यभन्दा दुई रुपैयाँ बढी प्रस्ताव परेको मूल्यलाई स्वीकार गरेर टेण्डर स्वीकृत गर्न नसकिने बताए । उनकाअनुसार चारवटा उद्योगले प्रस्ताव गरेको मूल्य कारखानाको गेट ‘प्राइस’ हो । कारखानाबाट काठमाडौंसम्म उक्त चिनी खरिद गरी ल्याउँदा प्रति किलोमा तीन रुपैयाँ ढुवानी खर्च र तीन रुपैयाँ भ्याट शुल्क जोडिने छन् ।

‘यसरी हेर्दा नाफा बाहेक उक्त चिनीको मूल्य प्रतिकिलो ७० पुग्छ,’ सहमहाप्रवन्धक राजभण्डारीले भने,‘बजार मूल्यभन्दा महँगोमा खरिद गरी उपभोक्तालाई महँगो मूल्यमा चिनी बिक्री गर्न सक्दैनौं ।’ राजभण्डारीकाअनुसार तेश्रो पटकको टेण्डरमा टेण्डर खरिद गरेका चारवटा उद्योगका प्रतिनिधीलाई बोलाएर मूल्य घटवढ गर्ने प्रयास गरिएपनि मूल्य घटवट भएन । ‘मूल्य घटवढ नहुँदा तत्कालका लागि टेण्डरबाट चिनी खरिद गर्ने योजना रद्द गर्दैछौं,’ राजभण्डारीले भने ।

साल्टले पछिल्लो पटक गत् जेठ १३ गते तेश्रो पटक स्वदेशी उद्योगबाट उत्पादित १० हजार मेट्रिक टन चिनी खरिद गर्न टेण्डर आह्वान गरेको थियो । त्यो बेला पाकिस्तानी चिनी बजारमा प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको थियो । यो टेण्डरमा एभरेष्ट, रिलायन्स, इन्दुशंकर र इस्टर्न सुगर मिलले मिलोमतोको आधारमा प्रतिकिलोलाई ६४ रुपैयाँ प्रस्ताव गरेको थियो । यसअघि पहिलो पटक साल्टले गत् माघमा २० हजार मेट्रिक टनको लागि टेण्डर आह्वान गरेको थियो ।

पहिलो पटकको टेण्डरमा नेपालका कुनै पनि उद्योगीले सहभागिता जनाएनन् । त्यसपछि दोश्रो पटक गत् फागुनमा २० हजार मेट्रिक टन खरिद गर्नका लागि साल्टले टेण्डर आह्वान गरेको थियो । दोश्रो पटकको टेण्डरमा महाकाली र बागेश्वरी चिनी उद्योगले टेण्डर खरिद गरेपनि टेण्डर प्रक्रियामा भने सहभागिता जनाएनन् ।

उद्योगीले मिलोमतो गरी टेण्डर हाल्दा साल्टलाई यसअघि पनि ठूलो घाटा लागेको थियो । करिब ६ बर्षपनि बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलवहादुर थापाले अर्थमन्त्रालयको दबाबमा चिनीको अभाव टार्न नीजि उद्योगीसँग पाँच–पाँच हजार गरी १० हजार मेट्रिक टन चिनी खरिद गरेको थियो । नीजि उद्योगसँग चिनी खरिद गर्दा घाटा लागेको अवस्थामा आवश्यक क्षतिपूर्ति अर्थमन्त्रालयले व्यहोर्ने आश्वासन दिएको थियो ।

राजभण्डारीले भने,‘आश्वासनको आधारमा हामीले बजार मूल्यभन्दा प्रतिकिलोमा झण्डै चार रुपैयाँ महँगोमा दुईवटा नीजि उद्योगसँग १० हजार मेट्रिक टन चिनी खरिद गरेका थियौं । नीजिसँग खरिद गरिएको उक्त चिनीको बजार मूल्य प्रतिकिलो ६५ कायम गरी बिक्री गर्न लाग्दा नीजि क्षेत्रले आफ्नो चिनीको बजार मूल्य ५७ मा झारेका थिए ।’ यसले गर्दा साल्टले चार करोड ८५ लाख रुपैयाँको घाटा व्यहोर्नु परेको थियो ।

घाटा लागेको उक्त रकम तत्कालिन उद्योग, बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले अर्थ मन्त्रालयलाई डाकेर आश्वासनअनुसारको रकम उपलब्ध गराउन दर्जनौं पटक डाकेर निर्देशन दिएको थियो । ‘तर यो रकम अहिलेसम्म उपलब्ध भएन्,’ उनले भने,‘यसपटक पनि उद्योगीले फेरी मिलोमतो गरी एउटै मूल्य प्रस्ताव गरेका थिए । हामीले चिनी खरिद गरेपछि उद्योगीले पहिलेको जस्तै चिनीको बजार मूल्य घटाएपछि हामी फेरी लाखौं मूल्यको घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यही भएर बजार मूल्यभन्दा महँगो मूल्यमा तत्कालका लागि चिनी खरिद नगर्ने तयारी गरेका छौं ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :