कृषि उपजमा भारतकै भर

यो समाचार 267 पटक पढिएको

बुटवल । बुटवलको कृषि उपज तथा थोकबजार केन्द्रमा भारतीय उत्पादनका तरकारी तथा फलफूल कारोबार बढी हुने गरेको छ ।

यस केन्द्रमा नेपालका किसानले फलाएका तरकारीभन्दा भारतबाट उत्पादीत तरकारी तथा फलफूल बढी आउने गरेको हो । बजारमा बढी खपत हुने कागती पूर्णरुपमा भारतीय आयातमा निर्भर छ । बुटवलको पुरानो बसपार्कमा रहेको कृषि उपज केन्द्रमा मेघनाथ पौडलले दिनमा ३० देखी ४० बोरा कागती बिक्री गर्छन् । ‘कागती सबै भारतीय उत्पादन हो’, उनले भने, ‘नेपाली कागती ठूलो हुन्छ । उपभोक्ताले हलुका र सानो साइजको कागती खोज्छन् ।’

व्यापारीले खरीद गर्दा र थोकमा बेच्दा किलोको हिसाबमा जाने कागती खुद्रा किन बेचमा प्रति गोटाको हिसाबले कारोबार हुन्छ । कागतीका साथै खुर्सानी र टमाटर पनि अहिले भारतीय उत्पादनले धानेको छ । थोक बजारमा ६० देखी ७० प्रतिसत टमाटर भारतबाट आयात हुने गरेको छ । त्यस्तै हरियो खुर्सानी पनि अहिले धेरै जसो भारतबाटै आउने गरेको थोक व्यवसायी पौडेलले बताए । हरियो तरकारी भने नेपालका पनि छन् ।

पछिल्लो समयमा व्यवसायीक रुपमा हरियो तरकारी उत्पादनमा केही सुधार भएको थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थी बताउँछन् । ‘८ वर्षअघि थोक बजार केन्द्र स्थापना हुँदा बार्षिक २० प्रतिसतमात्र नेपाली उत्पादनका हरीयो तरकारी आउँथ्यो, अहिले झण्डै ७०–८० प्रतिसत पुगेको छ’, उनले भने ।

हरियो तरकारीको उत्पादन बढे पनि आलु, प्याज र लसुन लगभग बाहिरी मुलुकको आयातमा भर पर्नु परेको छ । आलु र प्याज भारतबाट र लसुन चिनबाट बढी आयात गरिँदै आएको छ । बुटवलको थोक बजार केन्द्रबाट दैनिक ८० टन आलु, ४० टन प्याज र २ टन लसुन खपत भई मुलुकका विभिन्न ठाउँमा पठाउने गरिएको छ ।

सिजनमा किसानले नेपाली आलु उत्पादन गरे पनि भारतबाट आयात भएको आलु सस्तो हुने भएकाले समस्या छ । शीतमण्डार नहुँदा नेपाली उत्पादन सीजनमा मात्रै सिमित हुने गरेका गर्छ । ‘आलु फल्ने समयमा नेपालमा भारतको आलु प्रतिकिलो १२ रुपैयाँमा बेचिन्छ । नेपाली आलु ४० –४५ रुपैयाँ सम्म पर्छ’, केन्द्रका अध्यक्ष पन्थीले भने, ‘सुदुर पश्चिमबाट आएको आलु २० रुपैया, काभ्रेको २६–२७ र कास्कीको आलु यहाँ आइपुग्दा ४५ रुपैयासम्म पर्छ ।’

नेपालमा प्राविधिक र व्यवसायीक उत्पादन नहुँदा मूल्य बढी पर्छ । यहाँ तरकारी भण्डारण गर्ने कोल्ड स्टोरको व्यवस्था पनि छैन । फलफूलतर्फ सुन्तला र केरा बाहेक अन्यमा धेरै जसो भारतीय उत्पादनमै भर पर्नुपरेको छ । सुन्तलाको बजार भने नेपाली उत्पादनले धान्ने गरेको छ ।

फागुनपछि केहीमात्र भारतबाट आउँछ । केराको ८५ प्रतिसत बजार नेपाली उत्पादनले धानेको केन्द्रले जनाएको छ । अहिले आपको सिजन चले पनि ६० प्रतिसत आँप भारतबाटै आयत हुने गरेको छ । स्याउको बजार २ प्रतिसत मात्र नेपाली उत्पादनले धानेको छ भने अंगुर सबै भारतबाट आयात हुने गर्छ ।

सरकारले प्रस्तुत गर्ने बजेटमा कृषिको लागि विभिन्न कार्यक्रम आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रदेश ५ सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटमा कृषिलाई व्यवसायीकरण, आधुनीकिरण र यान्त्रिकरण गर्नमा जोड दिइने र प्रतिष्पर्धी बनाएर युवालाई आकर्षित गरिने उल्लेख छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम, एक पालिका एक शीत भण्डारको योजनालाई पनि बजेटमा उल्लेख गरिएको छ । ‘यो वर्ष १० वटा सित भण्डारको लागी बजेट बिनियोजन गरेका छौ’, प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटाले भने, ‘युवालाई कृषिमा आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएका छौ । अब नेपाली उत्पान पनि बढ्ने अपेक्षा गरेका छौं ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :