सात महिनामा ७५ अर्बको कृषिजन्य बस्तु आयात

यो समाचार 1841 पटक पढिएको

सबैभन्दा बढी खाद्यान्न तथा तरकारी

काठमाडौं । नेपालमा पछिल्लो सात महिनाको अवधीमा विभिन्न मुलुकबाट ७५ अर्ब मूल्यबराबरको कृषिजन्य बस्तु आयात भएको छ । कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा कृषिजन्य बस्तुको यो आयात अवस्था अत्याधिक हो । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले ३२ प्रतिशतले योगदान पु¥याउदै आएको छ ।

सरकारले कृषि क्षेत्रको बिकासको लागि बर्षेनी बजेट बृद्धि गरेपनि उक्त बजेटको सदुपयोग नहुँदा ठूलो परिमाणमा कृषिजन्य बस्तु आयात हुँदैआएको छ । चालु आर्थिक बर्षमा सरकारले कृषि क्षेत्रको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित २७ अर्ब ४३ करोड रुपैयाँ बिनियोजन गरेको छ । यसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ७८ करोड रुपैयाँ बिनियोजन गरेको छ । तर यही २०१६ को मध्य जुलाईदेखि २०१७ को मध्य फेबु्रअरीसम्मको सात महिनाको अवधीमा कूल ७५ अर्ब ५४ करोड मूल्यबराबरको कृषिजन्य (खाद्यान्न, माछामासु, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य, गेडागुडी, मह, चिया, कफी, मसला, बीउ) बस्तु आयात भएको छ ।

कृषिमा बिनियोजित बजेट पारदर्शी रुपमा सदुपयोग हुन नसक्दा कृषिका हरेक उपजमा नेपाल परनिर्भर बनेको छ । पछिल्लो समयमा सरकारले धान र तरकारीमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालन गरेको छ । तर कृषि बिज्ञहरुकाअनुसार यो परियोजनाले पनि लक्ष्य पुरा गर्न कठिन छ । बजेट बाँडफाँड र अनुदान बितरणमा पारदर्शी प्रक्रिया अपनाउन नसक्दा नेपालको कृषि क्षेत्र आत्मनिर्भरभन्दा परनिर्भर बन्दै गएको हो ।

कति मूल्य कुन कृषि उपज आयात
भन्सार विभागले सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो सात महिनाको अवधीमा सबैभन्दा बढी खाद्यान्न (चामल, मकै, गहुँ, कोदोलगायत) बस्तु आयात भएको छ । यो अबधीमा करिब २४ अर्ब १९ करोड मूल्यबराबरको खाद्यान्न भारतसहित तेश्रो मुलुकबाट आयात भएको छ । यसै बर्ष नेपालमा इतिहासमै सर्वाधिक धान करिब एक खर्ब चार अर्ब मूल्यबराबरको ५२ लाख मेट्रिक टन फलेको थियो । इतिहासमै सबैभन्दा बढी धान यो बर्ष फले पनि यही बर्षको सात महिनाको अवधीमा ठूलो परिमाणमा खाद्यान्न आयात भएको छ ।

आयात हुने कृषिजन्य बस्तुको दोश्रो नम्बरमा तरकारी र गेडागुडी परेको छ । यो अवधीमा १३ अर्ब ७३ करोड मूल्यबराबरको हरियो तरकारी र गेडागुडी आयात भएको छ । काउली, प्याज, च्याउ, बन्दा, भेडे खुर्सानी, आलु, भान्टालगायतका तरकारी आयात भएको छ । तरकारीमा सबैभन्दा बढी प्याज र लहसुनको आयात भएको छ ।यस्तै सात महिनाको अवधीमा फलफूल ६ अर्ब ४८ करोड मूल्यबराबरको आयात भएको छ । स्याउ, अंगुर, नरिवल, सुन्तला, मेवा, काजु, किसमिस, केरा, अनारलगायतका फलफूल आयात भएको हो ।

ठूलो परिमाणमा कृषिजन्य बस्तु आयात भइरहे पनि कृषि विकास मन्त्रालयले भने अबको केही बर्षमा कृषिका केही महत्वपूर्ण क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन लागिएको दावी गरेको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले आगामी आर्थिक बर्षमा मुलुकलाई ताजा तरकारी र माछामा आत्मनिर्भर बनाउन लागिएको दावी गरे । ‘आगामी बर्षमा ताजा तरकारी र माछामा मुलुकलाई पूर्ण रुपमा आत्मनिर्भर बनाएर निर्यात गर्ने हाम्रो योजना छ,’ कार्कीले भने,‘यस्तै आगामी एक बर्षमा धान र गहुँ, दुई बर्षमा मकै, सात बर्षमा फलफूलमा पनि मुलुकलाई आत्मनिर्भर बनाउदैछौं । त्यसपछि नेपालबाट अन्य मुलुकमा कृषिजन्य बस्तु निर्यात हुनेछ ।’

कृषिमा हरेक बर्ष बजेट बृद्धि भएसँगै निराशाजनक रुपमा कृषिको वार्षिक बृद्धिदर पनि घट्दै गएको छ । बजेटको दुरुपयोगका कारण एकातर्फ आयात दर बढ्दै गएको छ भने अर्को तर्फ कृषिको वार्षिक बृद्धिदर पनि खुम्चिदैं गएको छ । गत आर्थिक बर्ष २०७१।७२ वार्षिक बृद्धि दर २.१९ रहेकोमा पछिल्लो आर्थिक बर्ष २०७२।७३ मा १.९० प्रतिशतमा वार्षिक बृद्धि दर खुम्चिएको थियो । सात महिनाको अवधीमा खाद्यान्न, तरकारी, दलहन र तेलहनको गरी करिब ६ अर्ब २० करोड मूल्यबराबरको बीउ नेपालमा आयात भएको छ । यस्तै मसलातर्फ (अदुवा, लहसुन, बेसार, धनियाँ, मरिच, सुकुमेल, इलाइची, ल्वांग, तोरीलगायत) तीन अर्ब २३ करोड मूल्यबराबरको आयात भएको छ ।

कृषिजन्य बस्तुको आयात यतिमै सिमित छैन । दुई अर्ब २० करोड मूल्यबराबरको माछा र मासुजन्य बस्तु विभिन्न मुलुकबाट आयात भएको छ । मुख्य गरी ताजा माछा, सुकाएको माछा, तयारी माछा, राँगाभैसी, खसी, कुखुरा, हाँस, घोडा, अष्ट्रिजलगायतको मासु नेपालमा भित्रिदै आएको छ ।

यस्तै दूधमा झण्डै आत्मनिर्भरमुखि बनेको नेपालमा दूध र दुग्धजन्य पदार्थ पनि ठूलो परिमाणमा आयात हुँदै आएको छ । दुग्धजन्यतर्फ एक अर्ब २२ करोड मूल्यबराबरको चिज, वटर, धुलो दूध, क्रिम, तयारी फ्लेवर दूधलगायतका बस्तु आयात भएको छ । यो अवधीमा आठ करोड ८१ लाख मूल्यबराबरको प्रशोधित र अप्रशोधित चिया तथा कफी पनि नेपालमा भित्रिएको छ । त्यस्तै आठ करोड ३७ लाख मूल्यबराबरको मह पनि भित्रिएको छ ।

मन्त्रालयकाअनुसार २०७०।७१ मा वार्षिक बृद्धि दर १.१० प्रतिशतमा खुम्चिएको कृषि क्षेत्र २०६९।७० मा ४.६० मा पुगेको थियो । यसैगरी २०६८।६९ मा घटेर वार्षिक बृद्धि दर ४.५० मा पुगेको थियो । कृषि क्षेत्रको सबैभन्दा बढी वार्षिक बृद्धि दर २०६५।६६ मा पुगेको थियो । उक्त बर्ष वार्षिक बृद्धि दर ५.८० प्रतिशतमा पुगेको थियो ।