घट्यो अण्डाको मूल्य, प्रति क्रेट ठूलोलाई ३५० र सानोलाई ३३०

यो समाचार 729 पटक पढिएको

चितवन । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य समायोजन गरेको छ । संघले प्रति क्रेट अण्डामा १० रुपैया मूल्य घटााएको छ ।

चर्को मूल्यमा अण्डा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत दिन मूल्य समायोजन गरिएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । मंगलबारदेखि लागू हुनेगरी ठूलो अण्डाको फार्म मूल्य ३४५ र बिक्री मुल्य ३५० रुपैयाँ प्रति क्रेट कायम भएको छ । यस्तै मिडियम अण्डा प्रति क्रेट फार्म मूल्य ३२५ र बिक्री मूल्य ३३० कायम गरिएको छ ।

यसअघि ठूलो अण्डा प्रति क्रेट फार्म मुल्य ३५५ र बिक्री मुल्य ३६५ कायम गरिएको थियो भने मिडियम अण्डा फार्म मुल्य ३४० र बिक्री मुल्य ३५० कायम गरिएको थियो । गएको पुसमा अहिले सम्मकै उच्च बनेको अण्डाको मुल्य बढेको एक महिनापछि घटाइएको हो । अण्डाको माग बढे पनि जाडो र हिमपातका कारण देशका पहाडी तथा उच्च स्थानमा अण्डा पुर्‍याउन नसकिएको उनले बताए ।

साथै अहिलेको समयमा स्कुल कलेजमा जाडो बिदा हुनु र स्वस्थानीको ब्रत शुरु भएकोले गर्दा खपत कम भएको र उत्पादित अण्डा यातायातको पहुँच भएको स्थानमा खपत होस भनेर मूल्य समायोजन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

उहांँले अब आउने मौसम र समयको परिस्थिती हेरी फेरी अण्डाको मुल्य हेरफेर हुने बताए । चितवनमा मात्रै दैनिक करीब ९ लाख अण्डा उत्पादन हुदै आएको छ । उत्पादनको करीब ९० प्रतिशत अण्डा काठमाडौ, पोखरा लगायत पूर्वी नेपालमा जाने गर्दछ । नेपालमा हाल दैनिक २५ लाख अण्डा उत्पादन हुने गरेको संघका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताए । देशभर करिब १६ सय फार्मले अण्डा उत्पादन गर्दछन् ।