सबै प्रकारको इनर्जी ड्रिंकको आयातमा प्रतिवन्ध

यो समाचार 83 पटक पढिएको

काठमाडौं, ३ असार । सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक र फ्लेबर सेन्थेटिक ड्रिक्सलगायत) को आयातमा बन्देज लगाएको छ।

आयात निर्यात सम्बन्धी सूचीत आदेशमा नयाँ व्यवस्था गरी सरकारले विभिन्न मुलुकबाट आयात हुने सबै प्रकारका क्याफिनयुक्त इनर्जी ड्रिंक्स र फ्लेवर ड्रिंक्सको आयातमा प्रतिवन्ध लगाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाएको हो।

सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको छैन। मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार मन्त्रिपरिषदले जेठ १० गते गरेको निर्णयअनुसार स्वास्थ्यमा हानी पुर्‍याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको हो।

नेपालमा मुख्य गरी मलेसिया, भियतनामबाट रेड बुललगायतका विभिन्न शक्तिबद्र्धक पेय पदार्थ आयात हुन्छ । यस्तै वंगालदेशबाट पनि यस्ता प्रकारको पेय पदार्थ आयात हुन्छ । सरकारले मंगलबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनकाअनुसार रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको हो।

यसबाहेक सरकारले २० माइक्रोनको सट्टा ३० माइक्रोभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको छ। यस्तै बस्तुको उपभोग अवधी भन्सार विन्दुमा आइपुग्दा कम्तिमा ७५ प्रतिशत बाँकी रहेको अवस्थामा मात्रै उपभोग्य बस्तु आयात गर्न पाउने व्यवस्था गरिएको छ।

तर जीवनरक्षक औषधिको आयातको हकमा औषधि व्यवस्था विभागको सिफारिसअनुसार व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ। ताजा तरकारी तथा फलफूल आयात गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै चामलको निर्यातमा परिमाणात्मक बन्देज लागेकोमा हिमाली र उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित निकायको अनुमतिमा निर्यात गर्न पाउने व्यवस्था गरिएको छ । दालतर्फ रहरको निर्यात गर्न बाटो खुलाइएको छ ।

इनर्जी ड्रिंक नभई मन्द विष


युवापुस्ता र खेलाडीले  शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।

इनर्जी ड्रिंक्स बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्। केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्।

सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले जस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो। यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो। त्यो बेला यसलाई ‘≈यालुसिनोजेनिक ड्रग’ का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो। रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो।

स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ। उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा  किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ।

त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले किन्न पाउँदैनन्। स्वीडेनमा शक्तिबर्द्धक पेय पदार्थ खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ। मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग शक्तिबर्द्धक पेय पदार्थ मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ।

 

त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा शक्तिबर्द्धक पेय पदार्थ पिएका कारण मृत्यु भएको ठानिएको छ। रक्सी र शक्तिबर्द्धक पेय पदार्थको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु¥याउँछ। ब्रिटिस मेडिकल जर्नलका अनुसार रक्सीसँग शक्तिबर्द्धक पेय पदार्थ खाँदा मानिसको ज्यानै जान सक्ने कुरा उल्लेख गरिएको छ। जर्नलका अनुसार शक्तिबर्द्धक पेय पदार्थ र भोड्का मिसाएर खाँदा त्यो स्वाथ्यका लागि बढी हानिकारक हुन्छ। जर्नलले यी दुई पेय पदार्थको मिश्रणलाई ‘डेड्ली बम’ को उपनाम दिएको छ। नेपालमा पनि अधिकांश युवा पुस्ताले भोड्का र शक्तिबर्द्धक पेय पदार्थ मिसाएर खाने गरेको भए पनि यसले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा भने निकै कम व्यक्ति मात्र जानकार छन्।

अधिकांश खेलाडीले इनर्जी ड्रिंक्सका नाममा शक्तिबर्द्धक पेय पदार्थ पिउने गर्दछन्। तत्कालका लागि यसले शरीरमा शक्ति प्रवाह गरेको महसुस भए पनि यसले दीर्घकालमा देखिने गम्भीर खालका रोगहरू निम्ताउने ब्रिटिस मेडिकल जर्नलमा उल्लेख छ। बेलायतमा लामो समयसम्म अनुसन्धानले गरेपछि शक्तिबर्द्धक पेय पदार्थ पिउँदा मानव स्वास्थ्यमा पर्ने असरका विषयमा उक्त निष्कर्ष निकालिएको हो। ‘फुटबल, ब्याडमिन्टन, बास्केटबल, जिम, मार्सल आर्टस्लगायत अन्य एथ्लेटिक्सका क्रममा शक्तिबर्द्धक पेय पदार्थ पिउँदा यसले मुटुको गति बढाउँछ। मुटुको गति बढेपछि शरीरमा रगत छिटोछिटो प्रवाह हुन थाल्छ र मानिसहरूले तत्कालका लागि केही शक्ति प्राप्त गरेको महसुस गर्दछन्।’ –जर्नलमा भनिएको छ।

यसरी मुटुको गति बढ्दा खेलाडीहरूमा तत्काल हृदयाघात नै हुन सक्ने निष्कर्षमा बेलायतमा गरिएको अनुसन्धानले देखाएको हो। आयरल्यान्डका १८ वर्षीय बास्केटबल खेलाडी रुज कोनीको बाल्केटबल खेल्दा खेल्दै हर्ट अट्याकका कारण मृत्यु भयो। उनको मृत्युका पछाडि बढी मात्रामा पिएर कोर्टमा उत्रनुलाई कारण मानिएको छ। त्यसै गरी, अमेरिकाका ३३ वर्षीय कोरी टेरीको पनि बास्केट खेल्ने क्रममा मृत्यु भएपछि उनको परिवारले शक्तिबर्द्धक पेय पदार्थसँग १८ मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको घटना सेलाउन पाएको छैन।

दैनिकरूपमा व्यायाम नगर्ने व्यक्तिले शक्तिबर्द्धक पेय पदार्थ पिउँदा पनि यसले हृदयाघात हुने सम्भावना बढी हुन्छ। यसको मुख्य कारण भनेको शरीरमा निकै कम शक्ति प्रवाह भएको अवस्थामा पनि शक्तिबर्द्धक पेय पदार्थले मुटुको धड्कन बढाउँछ। शक्तिवद्र्धक पेय पदार्थका रूपमा खेलाडी तथा युवाहरू बढी पिउने गर्छन्। तर यसले पार्ने असरका विषयमा निकै कम व्यक्ति मात्र जानकार छन्।

हेर्नुस सरकारले गरेको निर्णय

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :