खाद्य प्रविधि विभागले गर्यो आठ उद्योगलाई सम्मान

यो समाचार 123 पटक पढिएको

काठमाडौं, २५ जेठ । खाद्य स्वच्छताका दृष्टिकोणले यो बर्ष देशभरका आठ उद्योग उत्कृष्ट भएका छन् । उत्कृष्ट ठहरिएका आठै उद्योगलाई शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सम्मानित गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले ११ औं महिनाव्यापी खाद्य स्वच्छता दिवसको अवसर पारेर उक्त उद्योगहरुलाई सम्मान गरेको हो । उद्योगले मानव स्वास्थ्यलाई हानि नगर्ने गरी स्वच्छ र गुणस्तरीय उत्पादन गरेको भन्दै विभागको तर्फबाट कृषि मन्त्री चक्रपाणी खनालले सम्मान प्रदान गरेका हुन् ।

यसरी सम्मानित हुनेहरुमा ठूला तथा मझौला उद्योगतर्फ हिमालयन स्प्रिङ वाटर प्रालि धुन्चे, घरेलु तथा साना उद्योगतर्फ कंचन पाउरोटी उद्योग बिर्तामोड, साई ड्रिकिङ वाटर ईन्डष्ट्रिज जनकपुर, पौडेल बेकरी हेटौंडा, साई कृपा चिया उद्योग बुटवल, हुलास खाद्य उद्योग प्रालि कोहलपुर, अभिषेक मौरी पालन फार्म कैलाली र नेपाल अर्गानिक कफी प्रोडक्टस काठमाडौं रहेका छन् ।

त्यसैगरी खाद्य प्रविधि खाद्य स्वच्छता र पोषणको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने केन्द्रीय प्रविधि क्याम्पस धरानका सहायक डिन प्राडा धनबहादुर कार्कीका साथै विभागका उत्कृष्ट कार्य गर्ने तथा दीर्घसेवा पुर्याउने कर्मचारीलाईसमेत पुरष्कृत गरिएको थियो । दिवसको अवसरमा विभिन्न रचनात्मक गतिविधिमा उत्कृष्ठ भएकालाई पनि सम्मान गरिएको थियो ।

सम्मान गर्दै कृषि मन्त्री खनालले जनचेतनाको माध्यमबाट खाद्य स्वच्छता प्रवद्र्धनका लागि शिक्षण संस्था तथा बिद्यार्थीको बिशेष भूमिका हुने बताए । दक्षिण एसिया नै खाद्य स्वच्छता र खाद्य सुरक्षामा पछाडि रहेकाले परम्परा, धर्म संस्कृतिभन्दा माथि उठेर खानेबानीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । नियमित अनुगमन तथा क्वारेन्टाइन जाँचलाई अझ मजबुत बनाउन निर्देशनसमेत दिए ।

कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कानुन बिपरित कार्य गर्ने उद्योगी, ब्यबसायीलाइ दण्ड गर्न र गुणस्तरीय उत्पादकलाई प्रोत्साहन गर्न निर्देशन दिइन् । मन्त्रालयका सहसचिव डा गोविन्दप्रसाद शर्माले मासु, तरकारी र दूधमा बढी ध्यान दिएर प्रभावकारी अनुगमन गर्न निर्देशन दिए । विभागका महानिर्देशक संजीव कुमार कर्णले खाद्य स्वच्छता कायम राख्न सबै सरोकारवालाको महत्वपूर्ण भुमिका हुने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :