अब रेस्टुरेन्ट र बारले सेवा शुल्क लिन नपाउने, सेवा शुल्क खारेजपछि रेष्टुरेन्ट संचालकलाई धम्की

यो समाचार 202 पटक पढिएको

काठमाडौं । मुलुकभर सञ्चालित रेस्टुरेन्टले लिँदै आएको सेवा शुल्क खारेज भएको छ । रेस्टुरेन्ट व्यवसायीको संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को बैठकले अब कुनै पनि रेस्टुरेन्टले सेवा शुल्क नलिने निर्णय गरेको हो ।

रेबानका अध्यक्ष प्रमोद जैसवालले व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए । यसअघि रेस्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो । त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका भ्रातृ संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो ।

रेबानमा आबद्ध रेस्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू हुनेछ । यद्यपि सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्नेछ । रेबानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ ।

पछिल्लो समय सामाजिक सुरक्षाकोषबाट मजदुरको सुरक्षा भएको र स्वैच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकाले मजदुरलाई असर नपर्ने रेबानले जानकारी गराएको छ । यसले कामदार र व्यवसायी दुवैलाई फाइदा हुने रेबानले जनाएको छ ।

सेवा शुल्क खारेजपछि रेष्टुरेन्ट संचालकलाई धम्की, खारेज गर्ने रेष्टुरेन्टमा प्रतिकार

यसैबीच रेवानले सेवा शुल्क खारेज गरेपछि अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले रेष्टुरेन्ट संचालकलाई धम्कीसहितको पत्र पठाउन थालेका छन्।

आन्दोलित भएका मजदुरले रेष्टुरेन्टका संचालकलाई रेवानले जारी गरेको विज्ञप्तीप्रति आफ्नो आधिकारिक धारणा २४ घण्टा भित्र प्रष्ट पार्न र रेवानकै धारणा आधिकारिक भएमा प्रतिकारमा उत्रने चेतावनीसहितको पत्र पठाएका छन्। रेष्टुरेन्ट संचालकका अनुसार उपत्यकामा रहेका अधिकांश संचालकलाई यस्तै धम्कीयुक्त पत्र पठाइएको छ। रेष्टुरेन्टभित्रै रहेका मजदुर युनियनका शाखामार्फत यो पत्र पठाइएको हो।

सेवा शुल्क खारेजीपछि मजदुर संघले बुधबार दरवामार्गमा विरोध गर्दै रेवानको विज्ञप्ती समेत जलाएका छन्। मजदुर यनियनको विरोधका बाबजुद रेवानले भने शुल्क खारेजीको निर्णय फिर्ता नलिने बताएका छन्। रेवानका महासचिव अरनिको राजभण्डारीले उपभोक्तालाई सस्तोमा सेवा दिन गरिएको निर्णय फिर्ता नहुने बताए।

‘यो निर्णयले आम उपभोक्ता खुशी भएका छन्। यो निर्णयबाट ब्याक हुन सकिन्न। रेष्टुरेन्टमा कार्यरत मजदुरलाई न्यूनतम तलब र सामाजिक सुरक्षा दिन तयार छौं। हाम्रो मजदुरलाई खुशी बनाएर उपभोक्तालाई पनि खुशी बनाउन चाहन्छौं।’ उनले बिजमाण्डूसँग भने। राजभण्डारीले उपभोक्ता खुशी भएर दिने टिप्स प्रवृतिलाई प्रोत्साहन गर्न चाहेको बताए।‘सेवा शुल्क मात्रै खारेज भएको हो। योसँगै उपभोक्ता खुशी भएर दिने टिप्सले प्रोत्साहन पाउँछ’ उनले भने,’टिप्सलाई एक ठाउँमा जम्मा पारेर सबै मजदुरलाई बाँड्ने प्रणालीको विकास गर्नेछौं।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :