अखाद्य पदार्थ बेचे पाँच वर्ष कैद, दूषित खाद्य र पेयपदार्थबाट ज्यान गए १० लाख क्षतिपूर्ति

यो समाचार 277 पटक पढिएको

काठमाडौं । झुक्याएर बिक्री वितरण गरिएका खाद्य पदार्थका कारण कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो कारोबार गर्ने जुनसुकै वितरक, संस्था तथा व्यक्तिलाई सरकराले पाँच वर्षसम्म कैद सजाय गर्ने भएको छ ।

खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमन गर्न बनेको प्रस्तावित विधेयकअन्तर्गत खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०७५ मा यस्तो सजायको व्यवस्था बनेको हो । झुक्याएर तथा ढाँटेर कसैले पनि खाद्य वस्तुको बिक्री वितरण गर्न नपाइने ऐनमा उल्लेख छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो ऐनको मस्यौंदा तयार पारेको हो ।

यदि कसैले जानाजान झुक्याएर अखाद्य वस्तु बिक्री गरेमा पाँच वर्ष कैद वा चार लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना सजायको व्यवस्था ऐनले गरेको हो । झुक्याएर बेचिएको खाद्य पदार्थका कारण कुनै व्यक्तिको मृत्यु भएमा वा शरीरमा क्षति भएमा त्यो कार्य गर्नेलाई २ देखि ५ वर्ष कैद सजाय हुने ऐनमा भनिएको छ । कुनै व्यक्ति वा संस्थाले उत्पादन गरेको अथवा आयातकर्ताले आयात गरेको खाद्य पदार्थ उपभोग गर्दा उपभोक्ताको मृत्यु भएमा कम्तिमा १० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।

खाद्य पदार्थ स्वच्छता तथा गुणस्तर ऐन २०७५ मा भएको व्यवस्था अनुसार कुनै कम्पनी तथा व्यक्तिले बनाएको खाद्य पदार्थले उपभोक्ताको अङ्गभङ्ग भएमा ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ । अन्य क्षति भएको खण्डमा २ लाख रुपैयाँसम्मको क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।

सो ऐन अनुसार कुनैपनि खाद्य पदार्थ आयात गर्दा अनुमति लिएर मात्र खाद्य पदार्थ आयात गर्न पाइने भएको छ ।

खाद्य पदार्थमा मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक सूक्ष्म जीवाणु देखिएमा तथा रसायन प्रयोग भएको भेटिएमा ६ महिनादेखि एक वर्षसम्म कैद र दुई लाख रुपैयाँ जरिवाना गरिने पनि ऐनमा उल्लेख छ । खाद्य अनुज्ञापत्र नलिईकन खाद्य व्यवसाय सञ्चालन गरेबापत पनि सोहीअनुसार जरिवाना गरिने छ ।

कुनै व्यक्ति वा संस्थाले उत्पादन गरेको वा आयातकर्ताले आयात गरेको खाद्य पदार्थको उपयोगका कारणले कुनै व्यक्तिको मृत्यु भएमा दश लाख, अङ्गभङ्ग वा अपुरणीय क्षति भएमा पाँच लाख र अन्य क्षति भएमा उपचार खर्चबापत जरिवाना गर्ने सकिने प्रस्तावित ऐनमा भनिएको छ ।
खाद्य पदार्थ बिक्री वितरण गर्ने व्यक्ति तथा संस्था मात्रै नभएर उपयोग गर्ने आम उपभोक्ता पनि खाद्य पदार्थको गुणस्तरमा सचेत र चनाखो बन्नुपर्ने उक्त ऐनमा उल्लेख गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन,—२०७५ को मस्यौदामाथि आवश्यक संशोधन तथा छलफलका लागि कृषि मन्त्रालय, खाद्य विभाग तथा खाद्य तथा गुणस्तर निर्धारण समितिबीच बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो । विधेयकमा भएका केही विषय संशोधन र केही विषयहरु थपघट गर्ने गरी मस्यौदामाथि छलफल गरी सरकारलाई सुझाव दिन अन्तरक्रिया गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले बताए ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी आवश्यक नीति निर्माण गर्न र सरकारलाई परामर्श तथा सुझाव दिन ११ सदस्यीय खाद्य स्तरीयता निर्धारण समिति गठन भएको छ ।

विस्तृतमा हेर्नुहोस् ऐनको प्रस्तावित मस्यौंदा

खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमन गर्न बनेको बिधेयक  

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यटोलीबाट परिष्कृत गर्ने क्रममा रहेको मस्यौदा मिति: २०७५/०९/०३

प्रस्तावना: मानव स्वास्थ्यको सुरक्षा एवम् सर्वोत्तम हित संरक्षण र खाद्य व्यवसायमा सहजीकरण गर्नका लागि खाद्य श्रृंखलाका सबै चरणहरुमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण एवम् नियमन गर्न बान्छनीय भएकोले,

संघीय संसदले यो ऐन बनाएको छ |

 

परिच्छेद

प्रारम्भिक

१.   संक्षिप्त नाम प्रारम्भ:(१) यस ऐनको नाम “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०७५” रहेको छ |

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ |

.   परिभाषा : बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

  • कार्यालय भन्नाले बिभाग मातहतका कार्यालयलाई सम्झनु पर्छ ।
  • खाद्य निरीक्षण अधिकारी भन्नाले दफा ३० बमोजिम तोकिएको निरीक्षण अधिकारी सम्झनु पर्छ ।
  • खाद्य पदार्थ भन्नाले मानिसले उपभोग गर्ने अप्रशोधित, अर्ध-प्रशोधित, प्रशोधित खाद्य तथा पेय पदार्थ सम्झनु पर्छ र सो शब्दले आहारपूरक खाद्य पदार्थ, मदिराजन्य पेय पदार्थ, चुइगम, बवलगम लगायतका उपभोग गर्ने खाद्य पदार्थमा प्रयोग गरिने पोषक तत्त्व, खाद्य योगशील र मरमसला लगायतका समिश्रण समेतलाई जनाउँछ ।
  • खाद्य प्रयोगशाला भन्नाले दफा २८ वमोजिम स्थापित प्रयोगशालालाई सम्झनु पर्छ ।
  • खाद्य व्यवसाय भन्नाले खाद्य पदार्थको उत्पादन, प्रशोधन, उपचार, तयारी, प्याकेजिङ्ग, ढुवानी, संचय, भण्डारण, आयात, निर्यात, बिक्रिवितरण जस्ता क्रियाकलापलाई सम्झनु पर्छ र सो शब्दले थोक तथा खुद्रा व्यापार, विद्युतीय प्रणाली मार्फत गरिने खाद्य व्यापार, सहकारी मार्फत हुने उत्पादन र बिक्रिवितरण, करार उत्पादन (कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ्ग), घुमिफिरी खाद्य पदार्थ बेच्ने कार्य (स्ट्रिट भेन्डीङ्ग), होटल, मोटेल, रेष्टुरेन्ट, फुड कोर्ट, फुड पार्क, क्यान्टिन, क्याटरिङ्ग, भोजनालय, होमस्टे जस्ता सेवालाई जनाउँछ ।
  • खाद्य व्यवसायी भन्नाले खाद्य ब्यवसायका संचालक वा प्रोपराइटरलाई सम्झनु पर्छ।
  • खाद्य स्वच्छता भन्नाले सामान्यतया खाद्य पदार्थ तयारी तथा उपभोग (इन्टेन्डेड युज) गर्दा मानव स्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहेको प्रत्याभूतिलाई जनाउँछ ।
  • खाद्य स्वच्छता व्यवस्थापन प्रणालीभन्नाले स्वच्छ खाद्य व्यवसायको निम्ति आवश्यक रहेका असल उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरिङ्ग प्राक्टिस), असल सरसफाई अभ्यास (गुड हाइजिनिक प्राक्टिस), हानि विश्लेषण तथा संवेदनशिल नियन्त्रण विन्दु (हाजार्ड एनालाइसिस एन्ड क्रिटिकल कन्ट्रोल प्वाइण्ट) लगायतका स्वच्छ तथा गुणस्तरिय खाद्य पदार्थ उत्पादन गर्ने उद्देश्यले अपनाइएका राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रणालीलाई सम्झनु पर्छ ।
  • खाद्य स्वच्छता संपरीक्षण (अडिट) भन्नाले खाद्य उत्पादकले अपनाएको खाद्य स्वच्छता नीति, नियम तथा त्यसले लक्षित गरे बमोजिमको प्रणालीको परीक्षण तथा मूल्याङ्कन सम्झनु पर्दछ ।
  • गुणस्तर भन्नाले कुनै खाद्य पदार्थका लागि तोकिएको चारित्रिक गुण, स्तर र मात्रालाई सम्झनु पर्छ |
  • तोकिएको वा तोकिए बमोजिम भन्नाले यस ऐन वा ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ |

(ठ) “प्याकेजिङ्ग” भन्नाले खाद्य पदार्थलाई कुनै कन्टेनर; क्यान, बोटल, कार्टुन, बाकस, केश, बोरा, झिल्ली, प्लाष्टिक लगायतका बस्तुमा बेर्ने, पोका पार्ने, बिर्को बन्द गर्ने, राख्ने वा  छोप्ने लगायत क्रियाकलापलाई सम्झनु पर्छ |

(ड) प्याकेजिङ्ग सामाग्री (मेटेरियल) भन्नाले प्याकेजिङ्गमा प्रयोग गरिने प्लाष्टिक, कपडा, बोरा, काँच वा धातुबाट निर्मित विभिन्न स्वरुपका क्यान, वट्टा, बोटल, कार्टुन, केश, बोरा, बाकस, झिल्ली वा सोबाट बनेका टेट्राप्याक वा मल्टिलेयर प्याक लगायतका सामाग्रीलाई सम्झनु पर्छ |

(ढ) प्रशोधन सहयोगी (प्रोसेसिङ् एड) भन्नाले प्रत्यक्ष खाद्य समिश्रणका रुपमा प्रयोग नहुने तर खाद्य प्रशोधन, उपचार जस्ता प्राविधिक प्रयोजनलाई सहजीकरण गर्न प्रयोग गरिने मेशिनरी औजार बाहेकका सहयोगी पदार्थलाई सम्झनु पर्छ ।

()     मन्त्रालय भन्नाले खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धी बिषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्दछ ।

(त)      महानिर्देशक भन्नाले विभागको महानिर्देशक सम्झनु पर्दछ ।

()    लेवल भन्नाले खाद्य पदार्थ प्याकेजिङ्ग गरिएको प्याकेट वा कन्टेनरको आवरणमा टाँसिएको, लेखिएको, छापिएको, कुँदिएको, इम्बोस गरिएको, समावेश गरिएको वा अन्य उपयुक्त किसिमले राखिएको जानकारी वा विवरण लगायतका बारकोड, ट्याग, चिन्ह, तस्विर र अन्य त्यस्तै किसिमका संकेत सम्झनु पर्दछ ।

(लेवलिङ्ग भन्नाले लेवल लगाउने कार्य सम्झनु पर्दछ .

(ध)    विभाग भन्नाले खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागलाई सम्झनु पर्छ l

(न)    समिश्रण भन्नाले खाद्य पदार्थको उत्पादन वा तयारीमा कच्चा पदार्थको रुपमा प्रयोग भएका खाद्य पदार्थ, पोषक तत्त्व र खाद्य योगशिल लगायतका बस्तुलाई जनाउँछ ।

(प)   सेवा प्रदायक भन्नाले होटेल, मोटेल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिङ्ग, क्यान्टिन र सोही प्रकृतिका अन्य खाद्य व्यवसायलाई सम्झनु पर्दछ ।

 

परिच्छेद

खाद्य स्वच्छता तथा गुणस्तर नियमनका सामान्य सिद्धान्त

.   खाद्य स्वच्छता तथा गुणस्तर नियमनका सामान्य सिद्घान्त:  खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न देहाय बमोजिमका सिद्घान्त रहेका छन् :-

(क) खाद्य श्रृखलाको अवधारणा: प्रारम्भिक उत्पादनदेखि उपभोगसम्मको खाद्य श्रृखलाका सबै चरणहरुमा स्वच्छता तथा गुणस्तर कायम गर्न केन्द्रित रहने,

(ख) पारदर्शिता: खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी प्रावधान एवम् क्रियाकलाप पारदर्शी रहने,

(ग) जिम्मेवारी उत्तरदायित्व: खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम राख्न  सबै सरोकारवालाको जिम्मेवारी एवम् उत्तरदायित्व रहने,

(घ) उपभोक्ता हित: मानव स्वास्थ्यको सुरक्षा एवम् उपभोक्ताको हित संरक्षण प्रमुख लक्ष्य रहने,

(ङ) एकरुपता तथा निष्पक्षता: खाद्य स्वच्छता तथा गुणस्तर नियमन गर्दा एकरुपता र निष्पक्षता कायम रहने,

(च)  जोखिम तथा बैज्ञानिक तथ्यमा आधारित : खाद्य पदार्थको नियमनमा अपनाइने निर्णय प्रकृया एवम् काम कारवाही जोखिमको प्रकृति तथा वैज्ञानिक तथ्यमा आधारित रहने,

(छ) समन्वय एवम् सहकार्य : खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्न सरोकारवालासँग समन्वय एवम् सहकार्य रहने,

(ज) रोकथामका उपाय : नियमन सम्वन्धी क्रियाकलाप खाद्य पदार्थबाट हुने जोखिम रोकथामका उपायमा केन्द्रित रहने,

(झ) स्वमूल्याङ्कन: खाद्य पदार्थको नियमनका लागि भए गरेका कार्यको स्व-मूल्याङ्कन तथा समिक्षा गरी निरन्तर सुधार गरिने,

(ञ) समतुल्यता: खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डसँग समतुल्य गरिने  ।

परिच्छेद

खाद्य पदार्थको मापदण्ड

. मापदण्ड तोक्ने: (१) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल राज्यभर लागू हुने गरी खाद्य पदार्थको आवश्यक गुणस्तर कायम राख्न न्युनतम मापदण्ड तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको मापदण्ड पालना गर्नु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, खाद्य व्यवसायी र सर्वसाधारणको कर्तव्य हुनेछ।

(३) प्रदेश सरकार र स्थानीय तहले आफनो कार्य क्षेत्र भित्र उपदफा (१) को मापदण्ड कार्यान्वयन गर्न आवश्यक कानूनी व्यवस्था गर्न सक्नेछन् ।

 

. खाद्य स्तर निर्धारण समिति: (१) खाद्य पदार्थको गुणस्तर, मापदण्ड र प्रणाली निर्धारण गर्न देहाय बमोजिमको एक खाद्य स्तर निर्धारण समिति रहनेछ:-

(क) सचिव, मन्त्रालय                                         अध्यक्ष

(ख) प्रतिनिधि, कानून सम्बन्धी बिषय हेर्ने मन्त्रालय                       सदस्य

(ग) प्रतिनिधि, वाणिज्य सम्बन्धी बिषय हेर्ने मन्त्रालय                       सदस्य

(घ) प्रतिनिधि, स्वास्थ्य सम्बन्धी बिषय हेर्ने मन्त्रालय                   सदस्य

(ङ) प्रतिनिधि, कृषि विभाग                                      सदस्य

(च) प्रतिनिधि, पशु सेवा विभाग                                   सदस्य

(छ) प्रतिनिधि, बातावरण विभाग                                   सदस्य

(ज) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ                        सदस्य

(झ) बिषय बिज्ञ मध्येबाट अध्यक्षले मनोनयन गरेको एक जना            सदस्य

(ञ) प्रतिनिधि, उपभोक्ता संघ सस्था मध्येबाट अध्यक्षले मनोनयन गरेको एक जना सदस्य

(ट) महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग                         सदस्य–सचिव

 

(२) मन्त्रालय र विभागको प्रतिनिधि सदस्य कम्तिमा उप-सचिव स्तरको हुनु पर्नेछ ।

(३) उपदफा (१) को (झ) र (ञ)‍बमोजिम मनोनित सदस्यको पदावधि तीन वर्षको हुनेछ र निज पुन: एक पटकको लागि मनोनयन हुन सक्नेछन् ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि खाद्य स्वच्छता तथा गुणस्तर बिरुद्धको कुनै काम गरेमा वा समितिको काम, कर्तब्य र अधिकार बिपरित हुनेगरी काम गरेमा अध्यक्षले त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।

(५) उपदफा (४) बमोजिम पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।

(६) समितिको बैठक सम्वन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

. खाद्य स्तर निर्धारण समितिको काम, कर्तव्य अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर, प्रणाली र मापदण्ड तयार गरी स्वीकृत गर्ने,

(ख) समितिले खाद्य पदार्थहरुलाई विभिन्न समूह वा उप-समूहमा समुहिकृत गरी गुणस्तर निर्धारण गर्ने,

(ग) खाद्य पदार्थको स्वच्छता र गुणस्तर मापदण्डको कार्यान्वयन सम्बन्धमा अनुगमन निरीक्षण गर्ने गराउने,

(घ) समितिको कार्यमा सहजीकरण गर्न आवश्यकता अनुसार प्राविधिक समिति                             गठन गर्ने,

(ङ) समितिको अन्य काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

 

परिच्छेद

खाद्य व्यवसाय सम्वन्धी व्यवस्था

. खाद्य व्यबसाय दर्ता गर्नु पर्ने: (१) कसैले खाद्य व्यवसाय स्थापना तथा संचालन गर्न चाहेमा प्रचलित कानून बमोजिम तोकिएको निकायमा दर्ता गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दर्ता गर्नु अघि बिभाग वा कार्यालयबाट सिफारिस लिनु पर्नेछ ।

(३) खाद्य व्यबसाय दर्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

खाद्य अनुज्ञापत्र लिनुपर्ने: (१) खाद्य व्यवसाय गर्न चाहने व्यक्ति वा संस्थाले तोकिए बमोजिमको निकायबाट खाद्य अनुज्ञापत्र लिनु पर्नेछ ।

(२) एकभन्दा बढी स्थानमा खाद्य पदार्थ उत्पादन वा बिक्रिवितरण गर्न चाहने व्यक्ति वा संस्थाले प्रत्येक स्थानका लागि छुट्टाछुट्टै अनुज्ञापत्र लिनु पर्नेछ ।

(३) अनुज्ञापत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

.   आयात निर्यात गुण प्रमाणीकरण: (१) खाद्य पदार्थको आयात गर्दा आयातकर्ताले  बिभागबाट पूर्व-आयात अनुमति पत्र (प्रि-इम्पोर्ट परमिट) लिनु पर्नेछ ।

(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम पूर्व-आयात अनुमति पत्र प्राप्त खाद्य पदार्थ आयात गर्दा आयातकर्ताले विभाग वा मातहतका तोकिएका कार्यालयबाट तोकिए बमोजिमको प्रवेश अनुमति (इन्ट्री परमिट) प्राप्त भएपछि मात्र प्रवेश बिन्दुमा सम्वन्धित भन्सार कार्यालयले खाद्य पदार्थ आयात सम्वन्धी प्रकृया अगाडि बढाउनु पर्नेछ ।

(३) खाद्य पदार्थको आयात निर्यात गुण प्रमाणीकरण नियमन सम्वन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१०उत्पादन, आयात निर्यात तथा बिक्री वितरण गर्न नपाइने: कसैले देहायका खाद्य पदार्थको उत्पादन, प्रशोधन, आयात निर्यात, संचय, ढुवानी तथा बिक्रिवितरण गर्न गराउन पाइने छैन:-

(क) मानव स्वास्थ्यलाई हानी हुने गरी सडे गलेका वा फोहोर मैला वा विषाक्त अवस्थामा राखेको वा तयार वा प्रशोधन गरेको,

(ख) मानव उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतिबाट बनेको,

(ग) कुनै खाद्य योगशिल, खाद्य श्रृंखलाको कुनै पनि चरणमा अन्तरबिकसित वा बहिर्मिश्रित रसायन, जीवनाशक विषादीको अवशेष, पशुजन्य औषधिको अवशेष, गह्रौ धातु, हानिकारक शुक्ष्म जीवाणु वा जीवाणुजन्य बिष (टक्सिन)को लागि तोकिएको अधिकतम सीमाभन्दा बढी हुन गई वा प्रचलित कानूनले निषेध गरिएका पदार्थको प्रयोग भई स्वास्थ्यलाई हानी हुन सक्ने,

(घ)  प्राकृतिक वा कृत्रिम विषजन्य पदार्थ (टक्सिन), हर्मोन वा मनोदिपक रसायनको उपस्थितिका कारण स्वास्थ्यलाई हानी हुन सक्ने खाद्य पदार्थ

(ङ)   तत्कालीन वा दीर्घकालीन असर पुर्याउन सक्ने तोकिएको अधिकतम सीमाभन्दा बढी बिकिरणयुक्त खाद्य पदार्थ,

(च) प्रचलित कानून बमोजिम खाद्य पदार्थ प्याक गर्न उपयुक्त हुने भनी मापदण्ड निर्धारण गरिएका प्याकेजिङ्ग मेटेरियल बाहेक अन्य पदार्थहरुमा प्याक गरिएका खाद्य पदार्थ,

(छ) प्रचलित कानून बमोजिम खाद्य पदार्थमा प्रयोग गर्नका लागि बन्देज लगाइएको पदार्थ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रयोग गरिएको खाद्य पदार्थ,

(ज) खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बाहेक तोकिए बमोजिम गुणस्तर र  मापदण्ड अनुरुप नभएका खाद्य पदार्थ,

(झ) कुनै खाद्य पदार्थको स्वाभाविक गुणभन्दा कमसल हुने गरी प्रमुख अंगको परिमाण घटाइएको वा अर्को कुनै वस्तु मिश्रण गरिएको खाद्य पदार्थ,

तर दुई वा दुईभन्दा बढी बस्तु मिश्रित खाद्य पदार्थहरूमा त्यस्तो मिश्रित खाद्य पदार्थहरूको नाम र परिमाण स्पष्ट उल्लेख छ र ती मिश्रित खाद्य पदार्थहरू स्वच्छ एवम् गुणस्तरीय छन् भने त्यस्तो खाद्य पदार्थको उत्पादन, प्रशोधन, आयात निर्यात, संचय, ढुवानी तथा बिक्रिवितरण गर्न बाधा परेको मानिने छैन |

(ञ) तोकिएको लेवल सम्बन्धी प्रावधान पूरा नभएका खाद्य पदार्थ |

११ढाँटी झुक्याई खाद्य पदार्थ बिक्रिवितरण गर्न नपाइने: कसैले देहायका कार्य गरी खाद्य पदार्थ बिक्रिवितरण गर्न गराउन हुँदैन:-

(क)  कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी ढाँट्न वा झुक्याउन,

(ख) खाद्य पदार्थमा प्रयोग गरेको समिश्रण वा दावीमा झुटो जानकारी दिन वा भ्रामक दावी गर्न,

(ग) नबुझिने बिबरण राखी लेबल वा विज्ञापन वा अन्य माध्यमबाट ढाँट्न वा झुक्याउन,

(घ) प्याक गरिएको खाद्य पदार्थको लेवलमा प्रयोग गरिने कुनै लिखत, भनाई, चिन्ह, डिजाईन लगायतका विवरण झुठो वा भ्रामक रुपमा प्रस्तुत गर्न ।

१२खाद्य योगशील प्रशोधन सहयोगी पदार्थको प्रयोगः  कुनै खाद्य पदार्थमा खाद्य योगशिल तथा प्रशोधन सहयोगी पदार्थ प्रयोग गर्नु परेमा तोकिए बमोजिम प्रयोग गर्नु पर्नेछ ।

१३.  आहारपूरक खाद्य पदार्थ, न्युट्रास्युटिकल प्रोप्राइटरी खाद्य पदार्थको नियमन : (१) मन्त्रालयले आहारपूरक खाद्य पदार्थ, न्युट्रास्युटिकल र प्रोप्राइटरी खाद्य पदार्थको स्वच्छता व्यवस्थापन प्रणाली विकास र नियमन गर्न सक्नेछ ।

(२) खाद्य पदार्थको स्वच्छता व्यवस्थापन प्रणाली विकास र नियमन सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ ।

१४. वितरण गरिने खाद्य पदार्थ गुणस्तरीय हुनुपर्ने कसैले अनुदान, उपहार, सहयोग, भोजभतेर, प्रसाद लगायतका कार्यमा वितरण गरिने खाद्य पदार्थ स्वच्छ तथा गुणस्तरीय हुनु पर्नेछ ।

१५. विज्ञापन गर्न गराउन नहुने: (१) खाद्य व्यवसायीले खाद्य पदार्थको बिज्ञापन तथा प्रचार प्रसार गर्दा मौखिक वा लिखित वा श्रव्यदृष्य मार्फत गलत अर्थ दिने, झुक्याउने वा विरोधाभाष हुने गरी विज्ञापन गर्न गराउन हुँदैन ।

    (२) खाद्य पदार्थको बिज्ञापन सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ ।

१६. प्याकेजिङ्ग सामाग्री सम्बन्धी: (१) खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने प्याकेजिङ्ग सामग्री वा कन्टेनर खाद्य पदार्थ राख्न उपयुक्त स्तरको हुनु पर्नेछ ।

(२) खाद्य पदार्थ प्याकेजिङ्ग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१७. लेवल सम्बन्धी: (१) प्याक गरिएका खाद्य पदार्थको भाँडाको बाहिरी आवरणमा तोकिए बमोजिमका तथ्य वा बिवरण खुल्ने गरी लेवल लगाई बिक्रि वितरण गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम लगाइएको लेवलमा रहने बिवरण कम्तिमा नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनु पर्नेछ ।

(३) लेवल सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

 

 

 

 

परिच्छेद

खाद्य व्यवसायीको दायित्व

१८. उत्पादक तथा प्रशोधनकर्ताको दायित्व: ‍कसैले खाद्य पदार्थको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग गर्दा प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:

(क) खाद्य पदार्थ दफा १० र ११ बमोजिम रहेको सुनिश्चित गर्ने,

(ख) खाद्य पदार्थको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, संचयन, ढुवानी र  बिक्रिवितरण गर्दा तोकिएको स्वच्छता तथा गुणस्तर प्रणालीको अवलम्वन गर्ने,

(ग) तोकिए बमोजिमका कुरा लेबलमा उल्लेख गर्ने,

(घ) खाद्य पदार्थको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने नगराउने,

(ख) खाद्य पदार्थ प्रशोधन गर्ने स्थान, भण्डारण, परिसर, आदि सफा सुग्घर राख्नु पर्ने,

(ग) बिभाग वा खाद्य निरीक्षण अधिकारीले माग गरेको वखत उत्पादन वा प्रशोधन वा प्याकेजिङ्ग र  बिक्रिविवितरण सम्बन्धी विवरण उपलब्ध गराउने,

(घ) सरुवा वा संक्रमित रोग लागेको कामदारलाई काममा नलगाउने,

(ङ) दफा १० र ११ प्रतिकुल भएको शंका लागि बिभाग वा खाद्य निरीक्षण अधिकारीले निश्चित अवधिका लागि प्रतिवन्ध गरेका खाद्य पदार्थ उत्पादन तथा बिक्रिवितरण नगर्ने नगराउने,

(च) खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न तत् सम्बन्धी विज्ञ वा प्राविधिक जनशक्ति तोकिए वमोजिम व्यवस्था गर्ने,

(छ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने ।

१९.  आयातकर्ताको दायित्वः खाद्य पदार्थको आयातकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:

(क) विभागबाट आयात पूर्व-आयात अनुमति लिएर मात्र खाद्य पदार्थ आयात गर्ने,

(ख) प्रवेश विन्दुमा आर्इसकेका खाद्य पदार्थ विभाग वा मातहत निकायले परीक्षण गरी प्रवेश अनुमती जारी गरेपछि मात्र प्रवेश गराउने,

(गग) बिभाग वा खाद्य निरीक्षण अधिकारीले माग गरेको वखत खाद्य पदार्थको विवरण उपलब्ध गराउने,

(घघ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने ।

२०. ढुवानीकर्ताको दायित्व खाद्य पदार्थ ढुवानीकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नुपर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:

(क) ढुवानी गर्ने साधन स्वच्छ, सफा, टुटफुट नभएको, राम्ररी मर्मत गरिएको हुनुपर्ने,

(ख) खाद्य पदार्थ ढुवानी गर्दा अन्य गैर खाद्य पदार्थ ढुवानी नगर्ने नगराउने,

(ग) ढुवानी गरिने खाद्य पदार्थको प्रकृति अनुसार निर्धारित अवधि भित्र नै ढुवानी गर्ने,

(घ) ढुवानी गर्दा उपभोग्य खाद्य पदार्थको स्वच्छता, गुणस्तर तथा सुरक्षात्मक व्यवस्था पालना गर्ने,

(ङ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने ।

२१. संचयकर्ताको दायित्व: खाद्य पदार्थको संचयकर्ताले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:

(क) खाद्य पदार्थको संचय गर्ने स्थान तथा भण्डार स्वच्छ, सफा र सुरक्षित राख्ने,

(ख) खाद्य पदार्थको प्रकृति अनुसार संचयन गर्ने तापक्रम र आर्द्रताको उचित व्यवस्था मिलाउने,

(ग) खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा ह्रास आउने प्रकृतिको कुनै कार्य नगर्ने,

(घ) खाद्य पदार्थको लेवल विवरणमा कुनै पनि किसिमको फेरबदल नगर्ने,

(ङ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने ।

२२. बिक्रेताको दायित्व: खाद्य पदार्थको थोक तथा खुद्रा विक्रेता वा बितरकले कानून बमोजिम पूरा गर्नुपर्ने अन्य दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नुपर्नेछ:-

(क) तोकिएको मापदण्ड बमोजिम हुनेगरी खाद्य पदार्थ बिक्री वितरण गर्ने,

(ख)   खाद्य पदार्थको प्रकृति अनुरुप बिक्री सोकेस वा कक्षमा तापक्रम र आर्द्रताको उचित व्यवस्था मिलाउने,

(ग) तोकिए बमोजिम लेवल विवरण पूरा नभएका र उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थको बिक्री वितरण नगर्ने,

(घ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।

२३. सेवा प्रदायकको दायित्व सेवा प्रदायकले प्रचलित कानून बमोजिम पूरा गर्नुपर्ने अन्य दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-

(क) तोकिएको मापदण्ड बमोजिमका खाद्य पदार्थ उपलब्ध गराउने,

(ख) खाद्य पदार्थको प्रकृति अनुरुप बिक्री सोकेस वा कक्षमा तापक्रम र आर्द्रताको उचित व्यवस्था मिलाउने,

(ग) खाद्य पदार्थ तयार तथा वितरण गर्ने स्थान र परिसर स्वच्छ र सफा सुग्घर राख्ने,

(घ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।

परिच्छेद

 निर्देशक समिति सम्बन्धी ब्यवस्था

२४. राष्ट्रिय  खाद्य  स्वच्छता  तथा  गुणस्तर  निर्देशक समिति: (१) खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी आवश्यक नीति निर्माण गर्न नेपाल सरकारलाई परामर्श एवम् सुझाव दिन र आवश्यक समन्वय गर्न देहाय बमोजिमको राष्ट्रिय खाद्य स्वच्छता तथा गुणस्तर निर्देशक समिति गठन हुनेछ:-

(क) मन्त्री, मन्त्रालय                                       –अध्यक्ष

(ख) सदस्य, राष्ट्रिय योजना आयोग (कृषि सम्वन्धी बिषय हेर्ने)                –सदस्य

(ग) सचिव, मन्त्रालय                                       –सदस्य

(घ) सचिव, कानून सम्बन्धी बिषय हेर्ने नेपाल सरकारको मन्त्रालय        –सदस्य

(ङ)     सचिव, गृह मन्त्रालय                                  –सदस्य

(च) सचिव, वाणिज्य सम्बन्धी बिषय हेर्ने नेपाल सरकारको मन्त्रालय     –सदस्य

(छ) सचिव, स्वास्थ्य सम्बन्धी बिषय हेर्ने नेपाल सरकारको मन्त्रालय      –सदस्य

(ज) सचिव, वातावरण सम्बन्धी बिषय हेर्ने नेपाल सरकारको मन्त्रालय      –सदस्य

(झ) सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (प्रत्येक प्रदेश)    –सदस्य

(ञ)     अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ                         –सदस्य

(ट) खाद्य प्रविधि सम्वन्धी विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरह

उपाधि प्राप्त गरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षेत्रमा कम्तिमा

पन्ध्र वर्षको विशेषज्ञता प्राप्त मध्येबाट अध्यक्षले मनोनयन गरेका

कम्तिमा एक महिला सहित तीन जना                            –सदस्य

  • खाद्य बैज्ञानिक तथा प्राविधिज्ञहरुको पेशागत संस्थाबाट प्रतिनिधित्व

हुने गरी अध्यक्षले मनोनयन गरेको एक जना                       -सदस्य

(ड) महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग                           – सदस्य सचिव

(२) उपदफा (१) को खण्ड (ट) र (ठ)‍बमोजिमका मनोनित सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ र निजहरु पुन: एक अवधिको लागि मनोनयन हुन सक्नेछन् ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि खाद्य स्वच्छता तथा गुणस्तर बिरुद्धको कुनै काम गरेमा वा समितिको काम, कर्तब्य र अधिकार बिपरित हुनेगरी काम गरेमा अध्यक्षले त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।

(४) उपदफा (३) बमोजिम पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।

२५निर्देशक समितिको बैठक: (१) निर्देशक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(२) समितिको बैठक वर्षमा कम्तिमा एक पटक बस्नेछ ।

(३) समितिको सम्पूर्ण सदस्य संख्याको कम्तिमा पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकका लागि गणपुरक संख्या पुगेको मानिनेछ ।

(४) समितिको अध्यक्षले बैठकको अध्यक्षता गर्नेछ र निजको अनुपस्थितिमा बरिष्ठ  सदस्यबाट बैठकको अध्यक्षता हुनेछ ।

(५) समितिले बैठकमा आवश्यकता अनुसार विषयविज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।

(६) समितिको निर्णय समितिको सदस्य सचिवले प्रमाणित गर्नेछ ।

(७)  विभागले समितिको सचिवालयको रुपमा कार्य गर्नेछ।

(८) समितिको बैठक सम्बन्धी अन्य कार्यबिधी समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

२६. निर्देशक समितिको काम, कर्तव्य अधिकारः निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी नीति निर्माण, संसोधन गर्न नेपाल सरकारलाई सुझाव दिने,

(ख) खाद्य ब्यापार र व्यवसायमा स्वच्छता तथा गुणस्तर कायम राख्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह बीच समन्वय र सहजीकरण गर्ने,

(ग) खाद्य सम्बन्धी कानूनको निर्माण एवम् पुनरावलोकन गर्न नेपाल सरकारलाई सुझाव दिने,

(घ) खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण एवम् स्वच्छता प्रणाली अवलम्वनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने,

(ङ) खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी बिषयलाई ‌औपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्नको लागि नेपाल सरकारलाई सुझाव दिने,

(च) तोकिए बमोजिम अन्य कार्य गर्ने ।

 

परिच्छेद

संस्थागत व्यवस्था

 

२७. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागः (१) विभागले यस ऐन बमोजिम खाद्य स्वच्छता तथा गुणस्तर नियामक निकायका रुपमा कार्य गर्नेछ ।

(२)  ऐनमा अन्यत्र लेखिएको अतिरिक्त विभागको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछः-

(क) खाद्य स्वच्छतासँग सम्बन्धित जोखिमको मूल्याङ्कन, व्यवस्थापन, संचार तथा नियमन प्रणाली सम्बन्धी,

(ख) खाद्यजन्य रोगहरुको निगरानी (फुड बोर्न डिजिज सर्भिलेन्स) गर्ने संयन्त्रको विकास तथा व्यवस्थापन सम्बन्धी,

(ग) खाद्य व्यवसायमा खाद्य स्वच्छता व्यवस्थापन प्रणाली तर्जुमा गरी लागू गर्ने तथा खाद्य स्वच्छता संपरीक्षण सम्बन्धी,

(घ) प्रदेश सरकार तथा स्थानीय तहले कार्यान्वयन गरेको खाद्य पदार्थको गुणस्तर निरीक्षण, अनुगमन तथा गुणस्तरको सुनिश्चितताको लागि तोकिएको खाद्य स्वच्छता तथा गुणस्तर नियमनमा सहजीकरण सम्वन्धी,

(ङ) खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरको आधारमा बिभिन्न प्रकारका लोगो एवम् स्टिकरको माध्यमवाट खाद्य व्यवसायको स्तरीकरण तथा ग्रेडिङ्ग सम्बन्धी,

(च) खाद्य निरीक्षण अधिकारी, सार्वजनिक खाद्य विश्लेषक र अनुसन्धान अधिकृत तोक्ने सम्बन्धी,

(छ) खाद्य विज्ञान तथा प्रविधि अनुसन्धान र विकास सम्बन्धी,

(ज) खाद्य पोषण अध्ययन तथा प्रवर्द्धन सम्बन्धी,

(झ) खाद्य स्वच्छता तथा गुणस्तरको जनचेतना अभिवृद्धि सम्बन्धी,

(ञ) खाद्य प्रयोगशालाको पूर्वाधार अनुगमन, दर्ता र संचालन नियमन सम्बन्धी,

(ट) खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रिय निकाय र संघ संस्था, कोडेक्स, इन्फोसानको सम्पर्क बिन्दू सम्बन्धी,

(ठ) स्यानिटरी एण्ड फाईटोस्यानिटरी (एस.पी.एस.) इन्क्वारी पोईन्ट सम्बन्धी,

(ड) खाद्य स्वच्छता तथा गुणस्तर प्रणालीको पाठ्यक्रम विकास तथा तालिम सम्वन्धी,

(ढ) मान्यता प्राप्त (एक्रिडीटेड) खाद्य प्रयोगशाला दर्ता र नियमन सम्बन्धी,

(ण) खाद्य पदार्थको गुण, स्तर, मापदण्ड, प्रणाली सम्बन्धी,

(त) खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी द्विपक्षीय तथा बहुपक्षीय समन्वय सम्बन्धी,

(थ) खाद्य स्वच्छता तथा गुणस्तरका सम्बन्धमा द्विपक्षीय तथा बहुपक्षीय सन्धी सम्झौताका लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने,

(द) खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ वा संस्थासँग सहकार्य गर्न आवश्यक नीति तर्जुमा गर्ने,

(ध) नेपाल सरकार वा राष्ट्रिय खाद्य स्वच्छता तथा गुणस्तर निर्देशक समिति वा राष्ट्रिय खाद्य स्तर निर्धारण समितिले तोकेको कार्यहरु,

(न) तोकिए बमोजिमका अन्य कार्यहरु ।  

२८.      खाद्य प्रयोगशाला: (१) खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर सम्बन्धी अनुसन्धान, परीक्षण, विश्लेषण तथा खाद्य प्रयोगशाला नियमन गर्न बिभाग मातहत केन्द्रीय स्तरमा खाद्य प्रयोगशाला र सन्दर्भ प्रयोगशाला रहनेछन् ।

(२) विभागले प्रदेश सरकारसंग समन्वय गरी प्रत्येक प्रदेशमा खाद्य प्रयोगशाला स्थापना र संचालन गर्न सक्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम स्थापित खाद्य प्रयोगशाला बाहेक विभागले मापदण्ड पूरा गरेका अन्य खाद्य प्रयोगशालालाई तोकिएको कार्य गर्न सुचिकृत (नोटिफाईड) गर्न सक्नेछ ।

(४) खाद्य प्रयोगशालाको काम, कर्तव्य तथा अधिकार र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ |

परिच्छेद

निरीक्षण अनुगमन

२९. निरीक्षण तथा अनुगमन: (१) विभागले खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण, सञ्चय, आयात तथा निर्यात र विक्री वितरण कार्य यस ऐन बमोजिम तोकिएको मापदण्ड अनुसार भए नभएको सम्वन्धमा खाद्य निरीक्षण अधिकारी तोकी आवश्यक्ता अनुसार निरीक्षण तथा अनुगमन गर्न गराउन सक्नेछ ।

(२) प्रदेश सरकार र स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्र उपदफा (१) बमोजिम खाद्य निरीक्षण अधिकारी तोकी निरीक्षण तथा अनुगमन गर्न गराउन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम निरीक्षण तथा अनुगमन गर्दा खाद्य निरीक्षण अधिकारीले मागेको विवरण उपलव्ध नगराएमा वा  निरीक्षण तथा अनुगमन कार्यमा बाधा व्यवधान गरेमा सम्वन्धित खाद्य ब्यवसायीलाई खाद्य निरीक्षण अधिकारीले बीस हजार रूपैयासम्म जरिवाना गर्न सक्नेछ ।

(४) निरीक्षण तथा अनुगमन सम्वन्धी अन्य ब्यवस्था तोकिए बमोजिम हुनेछ ।

३०. खाद्य निरीक्षण अधिकारी तोक्नेः (१) विभागले यस ऐन बमोजिम खाद्य पदार्थको निरीक्षण, अनुगमन एवम् नियमन सम्वन्धी काम कारवाही गर्न तोकिए बमोजिम योग्यता पुगेका विभाग वा मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई खाद्य निरीक्षण अधिकारी तोक्न सक्नेछ ।

(२) विभागले उपदफा (१) बमोजिमको योग्यता पुगेको प्रदेश सरकार वा स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेत आवश्यकता अनुसार खाद्य निरीक्षण अधिकारी तोक्न सक्नेछ ।

(३) खाद्य निरीक्षण अधिकारी तोक्ने सम्वन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

३१. खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य अधिकार:  यस ऐन बमोजिम खाद्य निरीक्षण अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः-

(क)   कसैले यस ऐन बिपरित खाद्य पदार्थ उत्पादन, संचय, भण्डारण, आयात र बिक्रिवितरण गरेको शंका लागेमा जुनसुकै बखत निरीक्षण, अनुगमन, जाँचबुझ गर्न वा नमूना संकलन गर्न सक्ने,

(ख)   खण्ड (क) बमोजिम संकलित नमूना विश्लेषण परीक्षणका लागि सार्वजनिक खाद्य विश्लेषक समक्ष पठाउने,

(ग)   निरीक्षण, अनुगमन र जाँचबुझका क्रममा खाद्य व्यवसायी वा अन्य सम्बन्धित व्यक्तिसँग विवरण वा जानकारी माग गर्ने,

(घ)   कसैले यस ऐन बिपरित खाद्य व्यवसाय गरेको वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कार्य गरेको जानकारी हुन आएमा नमूना लिई निश्चित अवधिको लागि त्यस्तो खाद्य पदार्थको उत्पादन, बिक्रिवितरण, सेवा प्रदान वा खाद्य व्यवसाय गर्न नपाउने गरी स्थानीय तह वा स्थानीय प्रशासनको रोहवरमा रोक लगाई सोको जानकारी महानिर्देशक वा कार्यालय प्रमुखलाई दिने,

(ङ) खाद्य निरीक्षण अधिकारीको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

३२. खाद्य व्यवसायमा रोक लगाउन सकिने: (१) यस ऐन बमोजिम अनुज्ञापत्र प्राप्त गरी व्यवसाय शुरु गरेका खाद्य व्यवसायको निरीक्षण गर्दा उत्पादित खाद्य पदार्थबाट सरुवा रोग फैलिने संभावना भएमा वा तोकिएको गुणस्तर र मापदण्ड बिपरित खाद्य पदार्थको उत्पादन, संचय, बिक्रिवितरण गरेमा वा सिफारिस माग गर्दा पेश गरेको योजनामा उल्लेखित शर्त पुरा नगरेको पाइएमा शर्त अनुसारको व्यवस्था वा गुणस्तरमा सुधार नगरेसम्म खाद्य निरीक्षण अधिकारीको सिफारिशमा विभागले अनुज्ञापत्र रोक्का गरी त्यस्तो खाद्य व्यवसायको उत्पादनमा रोक लगाउन सक्नेछ ।

(२) अनुज्ञापत्र रोक्का गरी उत्पादनमा रोक लगाउन सकिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

३३. खाद्य पदार्थ फिर्ता गर्नेः  (१) निरीक्षण अनुगमनको क्रममा दफा (१०) को  खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बिपरित खाद्य पदार्थको व्यवसाय गरेको प्रमाणित भएमा विभागले उक्त खाद्य पदार्थ तुरुन्त वजारवाट फिर्ता गर्न आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमका खाद्य पदार्थ खाद्य व्यवसायीले आफ्नै खर्चमा तुरुन्त बजारवाट फिर्ता गरी सोको जानकारी विभागमा दिनु पर्नेछ ।

(३) खाद्य पदार्थ फिर्ता सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ ।

३४. खाद्य पदार्थ शिलवन्दी वा रोक्का राख्न सकिने: (१) कसैले यस ऐन बमोजिम तोकिएको गुणस्तर र मापदण्ड विपरीत काम कारबाही गरिरहेको छ भन्ने कुनै उजुरी वा जानकारी प्राप्त हुन आएमा विभागले तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न  गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँचबुझ वा निरीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड विपरीत हुने गरी खाद्य पदार्थ बिक्री वितरण गरेको शंका लागेमा खाद्य निरीक्षण अधिकारीले त्यस्तो खाद्य पदार्थ प्रचलित कानूनले तोकिएको प्रकृया पूरा गरी खाद्य पदार्थ राखेको स्थानमा सिलबन्दी गरी सम्वन्धित ब्यवसायीलाई सो स्थानको जिम्मा लगाई त्यसको भर्पाइ लिई रोक्का राख्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम रोक्का रहेको खाद्य पदार्थ परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड अनुसार भएको पाइएमा खाद्य निरीक्षण अधिकारीले त्यस्तो सिलवन्दी फुकुवा गर्न सक्नेछ र तोकिएको गुणस्तर र मापदण्ड अनुसार भएको नपाइएमा यस ऐन बमोजिम कारवाही अगाडि बढाउन सक्नेछ ।

(४) उपदफा (२) बमोजिम रोक्का खाद्य पदार्थको प्रकृति र अवस्थाका कारण तत्काल त्यस्तो सिलवन्दी फुकुवा गर्नुपर्ने भएमा खाद्य निरीक्षण अधिकारीले महानिर्देशकको आदेशले सिलवन्दी फुकुवा गर्न सक्नेछ ।

३५.  आदेश दिन सक्नेः (१) खाद्य व्यवसायको अनुगमन,  निरीक्षणको क्रममा यस ऐन र ऐन अन्तर्गतका नियमको पालना नभएको पाइएमा कार्यालय प्रमुख वा खाद्य निरीक्षण अधिकारीले निश्चित समयभित्र सोको पालना गर्न खाद्य व्यबसायीलाई लिखित आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको दिइएको आदेशको जानकारी यथासिघ्र विभाग वा तालुक निकायलाई दिनु पर्नेछ।

३६. सार्वजनिक खाद्य विश्लेषक तोक्ने: (१) मन्त्रालयले  खाद्य पदार्थको परीक्षण तथा विश्लेषण गर्नको लागि तोकिएको बमोजिम योग्यता पुरा भएका बिभाग वा मातहतमा कार्यरत कर्मचारीलाई सार्वजनिक खाद्य विश्लेषक तोक्न सक्नेछ ।

     (२) उपदफा (१) बमोजिम तोकिएको सार्वजनिक खाद्य विष्लेषकले खाद्य नमूना खाद्य प्रयोगशालामा परीक्षण गरी, गराई बिभाग र कार्यालमा विष्लेषण प्रतिवेदन दिनु पर्नेछ ।

(३) सार्वजनिक खाद्य विश्लेषकको काम, कर्तव्य र अधिकार  सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ ।

३७. उजुरी दिन सक्ने (१) यस ऐन र यस ऐन अन्तर्गतको नियम विपरीत कसैले कुनै काम कारवाही गरेको कुराको जानकारी पाउने व्यक्तिले आफूसँग भएको जानकारी वा प्रमाण सहित विभाग वा कार्यालय समक्ष लिखित वा बिधुतीय साधन मार्फत उजूरी दिन सक्नेछ ।

    (२) उपदफा (१) बमोजिम उजूरी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहेमा गोप्य राख्न सक्नेछ र सो को सूचना वा जानकारी दिन बिभाग वा कार्यालय बाध्य हुने छैन ।

(३) उजुरी तथा यसको सुनुवाई सम्वन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

३८. अनुसन्धान तथा तहकिकात अधिकारी तोक्न सक्ने: (१) यस ऐन बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्धाको अनुसन्धान तथा तहकिकात गर्नेको लागि बिभाग वा कार्यालयमा कार्यरत कर्मचारीलाई विभागले अनुसन्धान अधिकारी तोक्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम तोकिएको अनुसन्धान अधिकारीले देहायको अधिकार प्रयोग गर्न सक्नेछ :-

(क) कसुरसँग सम्बन्धी स्थानको खानतलासी लिने,

(ख) कसुरसँग सम्बन्धित कागजात वा खाद्य पदार्थहरु कब्जामा लिने,

(ग) अभियुक्तको बयान लिने, तारेखमा राख्ने वा जमानत लिई छाड्ने,

(घ) कसुरसँग सम्बन्धी सबुद प्रमाण संकलन गर्ने,

(ङ)     तोकिए बमोजिमका अन्य कार्यहरु ।

(३) अनुसन्धान तहकिकातको काम पुरा भएपछि अनुसन्धान अधिकृतले मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकिल कार्यालय समक्ष पठाउनु पर्नेछ  र  सरकारी वकिल कार्यालयबाट मुद्दा चल्ने निर्णय भएमा अनुसन्धान अधिकारीले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।

(४) उपदफा (२) बमोजिमको कुनै काम कारवाही गर्दा अनुसन्धान अधिकृतले आवश्यकता अनुसार स्थानीय प्रशासनसँग सहयोग माग गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम सहयोग माग भएमा सहयोग उपलव्ध गराउनु सम्वन्धित स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।

परिच्छेद

कसूर सजाय सम्वन्धी व्यवस्था 

 

३९.  कसूर गरेको मानिने: कसैले देहाय बमोजिमको काम कारवाही गरे वा गराएमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ:-

(क)   दफा ८ बिपरित खाद्य अनुज्ञापत्र नलिई खाद्य व्यवसाय संचालन गरेमा

(ख) दफा ९ बमोजिम पूर्व अनुमति र प्रवेश अनुमति नलिई खाद्य पदार्थ आयात गरेमा,

(ग) दफा १० को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बिपरित खाद्य पदार्थको उत्पादन, आयात, निर्यात वा बिक्रिवितरण गरेमा,

(घ) दफा १० को  खण्ड (ज) र (झ) बिपरित खाद्य पदार्थको उत्पादन, आयात, निर्यात वा बिक्रिवितरण गरेमा,

(ङ) दफा १० को  खण्ड (ञ) बिपरित लेवल सम्बन्धी प्रावधान पूरा नगरेमा,

(च)   दफा ११ बिपरित ढाँटी झुक्याई खाद्य पदार्थको बिक्रिवितरण गरेमा,

(छ) दफा १२ बिपरित खाद्य पदार्थमा खाद्य योगशिल वा खाद्य प्रशोधन सहयोगी पदार्थ प्रयोग गरेमा,

(ज) दफा १५ बमोजिम बिज्ञापन तथा अस्वस्थ व्यापारिक कृयाकलाप गरेमा,

(झ) दफा १६ र १७ बिपरित खाद्य पदार्थको प्याकेजिङ्ग र लेवलिङ्ग गरेमा,

(ञ) दफा १८, १९, २०, २१, २२ र २३ बिपरित क्रमश: उत्पादक वा प्रशोधनकर्ता, आयातकर्ता, ढुवानीकर्ता, संचयकर्ता, बिक्रेता र सेवा प्रदायकले आफ्नो दायित्व पुरा नगरेमा वा दायित्वको उलंघन हुने काम गरेमा,

(ट) दफा ३३ बमोजिम खाद्य पदार्थ फिर्ता नगरेमा,

(ठ) दफा ३५ बमोजिमको आदेश पालना नगरेमा,

(ड) माथि खण्डमा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड र कार्यविधि विपरितको अन्य कुनै कार्य गरेमा ।

४०.   सजाय: देहायको कसूर गर्नेलाई देहाय बमोजिमको सजाय हुनेछ :-

(क)  दफा ३९ को खण्ड (ग) बमोजिमको खाद्य पदार्थ उपभोग गर्दा कुनै व्यक्तिको मृत्यु हुने सम्भावना भएमा वा मृत्यु भएमा वा शरीरलाई अपुरणीय क्षति भएमा वा हुने सम्भावना भएमा त्यस्तो कसुर गर्ने वा गराउनेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा चार लाख रुपैंयादेखि छ लाख रुपैंयासम्म जरिवाना वा दुवै सजाय,

(ख) दफा ३९ को खण्ड (ग) बमोजिमको खाद्य पदार्थमा मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक शुक्ष्म जीवाणुको उपस्थिति वा हानिकारक तत्त्व वा रसायनको अधिक उपस्थिति भएमा त्यस्तो कसुर गर्ने वा गराउनेलाई छ महिनादेखि एक वर्षसम्म कैद वा एक लाख रुपैंयादेखि दुई लाख रुपैंयासम्म जरिवाना वा दुवै सजाय,

(ग) दफा ३९ को खण्ड (ग) बमोजिम खाद्य प्रशोधन वा उत्पादन प्रक्रियालाई अस्वच्छ जनाउने सूचक जीवाणु वा खाद्य योगशील वा प्रशोधन सहयोगी खाद्य पदार्थमा उपस्थित भएमा त्यस्तो कसुर गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैंयादेखि एक लाख रुपैंयासम्म जरिवाना वा दुवै सजाय,

(घ) दफा ३९ को खण्ड (घ), (छ) र (झ) बमोजिम कसुर गर्ने वा गराउनेलाई पचास  हजार रुपैंयादेखि एक लाख रुपैंयासम्म जरिवाना,

(ङ) दफा ३९ को खण्ड (क), (ख) र (ङ) बमोजिमको खाद्य पदार्थ उत्पादन वा बिक्रिवितरण सम्वन्धी कसुर गर्ने वा गराउनेलाई पच्चिस हजार रुपैंयादेखि एक लाख रुपैंयासम्म जरिवाना,

(च) दफा ३९ को खण्ड (च), (ज), (झ), (ञ), (ट) , (ठ) र (ड) बमोजिम कसुर गर्ने वा गराउनेलाई दश हजार रुपैंयादेखि पचास हजार रुपैंयासम्म जरिवाना।

४१पटके कसुर गरेमाः  कुनै व्यक्तिले यस ऐन वमोजिमको कसूर पटक पटक गरेमा निजलाई पहिले भएको सजायको दोव्वर सजाय हुनेछ ।

४२क्षतिपूर्तिः कुनै व्यक्ति वा संस्थाले उत्पादन गरेको वा आयातकर्ताले आयात गरेको खाद्य पदार्थ उपभोग गर्दा सो उपभोग गरेको कारणवाट कुनै व्यक्तिको मृत्यु वा अङ्गभङ्ग वा अपुरणीय क्षति भएमा मुद्दा हेर्ने अधिकारीले देहाय बमोजिमको क्षतिपुर्ति दिन आदेश दिन सक्नेछ:-

(क) मृत्यु भएमा कम्तिमा दश लाख रुपियाँ,

(ख) अपुरणीय क्षति भएमा वा अङ्गभङ्ग भएमा बढीमा पाँचलाख रुपियाँ,

(ग) अन्य क्षति भएमा बढीमा दुई लाख रुपियाँ,

(घ) उपचार गराउनु परेमा उपचारमा लाग्ने सम्पूर्ण खर्च ।

 

परिच्छेद१०

बिविध

४३फर्म वा संगठित संस्थाले गरेको कसूरको दायित्व: (१) कुनै फर्म वा संगठित संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा गुणस्तर वा निर्देशिकाको उलंघन गरेमा फर्मको हकमा सो फर्मको धनी वा साझेदारी फर्म भए फर्मको कामकाज गर्ने मुख्य जिम्मेवार व्यक्ति वा मुख्य प्रशासकीय अधिकारी र संगठित वा सहकारी संस्था भए सो संस्थाको कामकाज गर्ने मुख्य प्रशासकीय अधिकारी जिम्मेवार हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफुले कुनै फर्म वा संस्था वा कम्पनीको जिम्मा लिनुभन्दा अगावै गरेको काम कुराका हकमा वा सो उलंघन भएको कुरा थाहा पाउन नसक्ने स्थिति थियो भन्ने प्रमाणित गरेमा सो व्यक्ति त्यस्तो सजायको भागी हुनेछैन ।

४४विशेषज्ञ समिति: (१) खाद्य पदार्थको स्वच्छता, गुण, स्तर, मात्रा, मापदण्ड र प्रणाली निर्धारण गर्न, खाद्य विश्लेषण गर्न, जोखिम विश्लेषण गर्न, आवश्यक बैज्ञानिक आधार,  सूचना, एवम् तथ्याङ्क उपलब्ध गराउने कार्यका लागि मन्त्रालयले आवश्यकता अनुसार विषयगत विशेषज्ञ समिति गठन गर्न सक्नेछ ।

(२) मन्त्रालयले राष्ट्रिय कोडेक्स समिति लगायत आवश्यकता अनुसार अन्य उप-समिति गठन गर्न सक्नेछ ।

(३) विशेषज्ञ समिति सम्वन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ ।

४५.   अधिकार प्रत्यायोजन: अधिकार प्राप्त अधिकारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफुलाई प्राप्त अधिकारहरु आफूभन्दा मुनिको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

४६निरीक्षण एवम् गुण प्रमाणिकरण सेवा लिन सकिने: विभागले खाद्य पदार्थको गुण प्रमाणिकरण र निरीक्षणको क्षेत्रमा विषेशज्ञता हासिल गरेका संस्था वा फर्मलाई तोकिएको मापदण्ड पूरा गरेमा खाद्य व्यवसाय निरीक्षण वा आयात निर्यात गुण प्रमाणिकरण गर्ने कार्यका लागि तोकिए बमोजिम इजाजत दिन सक्नेछ |

४७.   असल नियतले गरेको कामको बचाउ: महानिर्देशक, खाद्य निरीक्षण अधिकारी, सार्वजनिक खाद्य विश्लेषक, अनुसन्धान अधिकृत, तोकिएको अधिकारी तथा यस ऐन अन्तर्गत बनेका समितिका पदाधिकारीले आफ्नो कर्तब्य पालना गर्दा असल नियतले गरेको काम कारवाही प्रति निज व्यक्तिगत रुपले जवाफदेही हुने छैन ।

४८नेपाल सरकार बादी हुने: यस ऐन अन्तर्गत कसुर हुने मुद्दा नेपाल सरकार बादी हुनेछ ।

४९.  संक्षिप्त कार्यविधि अपनाउने: यस ऐन अन्तर्गतको मुद्दामा संक्षिप्त कार्यविधि ऐन, २०२८ को कार्यविधि अपनाउनु पर्नेछ ।

५०.  मुद्दा हेर्ने अधिकारी: दफा ४० को खण्ड (क) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्धाको शुरु कारवाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई, दफा ४० को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई र दफा ४० को खण्ड (च) बामोजिमको शुरु कारवाही र किनारा गर्ने अधिकार विभागका महानिर्देशकलाई हुनेछ ।

५१पुनरावेदन: दफा ५० बमोजिम गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले तोकिएको उच्च अदालतमा सो निर्णय भएको मितिले पैतीस दिनभित्र पुनरावेदन गर्न सक्नेछ ।

५२वैठक भत्ता: समिति तथा समिति अन्तर्गतका प्राविधिक उप-समितिका पदाधिकारीले नेपाल सरकारले तोके बमोजिम बैठक भत्ता पाउनेछन् ।

५३.  यस ऐन बमोजिम हुने: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम अन्तरगत तोकिएको खाद्य पदार्थको मापदण्ड, गुणस्तर र प्रणालीको कार्यान्वयन सम्वन्धी बिषय यसै ऐन बमोजिम हुनेछ र यो ऐन बमोजिम आवश्यक कारवाही गर्न अन्य कानूनले बाधा पुर्याएको मानिने छैन ।

५४. सहयोग गर्नुपर्ने: खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्ने सम्बन्धमा खटिने कर्मचारीलाई आयश्यक सहयोग पुर्याउनु सरकारी निकाय, स्थानीय तह तथा सर्वसाधारणको कर्तव्य हुनेछ ।

५५. नियम बनाउने अधिकार: यस ऐनको कार्यान्वन गर्नका लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।

५६. निर्देशिका तथा कार्यविधी बनाउन सक्ने:  मन्त्रालयले यस ऐन वा ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका तथा कार्यविधि स्वीकृत गरी लागू गर्न सक्नेछ ।

५७ खारेजी बचाऊ: (१) खाद्य ऐन, २०२३ खारेज गरिएको छ ।

(२) खाद्य ऐन, २०२३ बमोजिम भए गरेका काम कारवाही यसै ऐन बमोजिम भए गरेको मानिनेछन् ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :