दूधमा सुधार, खानेतेलको गुणस्तरको भरै छैंन : कृषिमन्त्री खनाल

यो समाचार 163 पटक पढिएको

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर अभियान—२०७५ सुरु भएको छ ।

उपभोक्तामा खासगरी दूध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, खाने तेल लगायतका अन्य खाद्यवस्तुको स्वच्छता र गुणस्तरबारेमा व्यापक जनचेतना फैलाउने उद्देश्यले अभियान सुरु भएको हो ।

अभियानको बिहीबार उद्घाटन गर्दै कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले आर्थिक वर्ष २०७५/०७६ का लागि खाद्य स्वच्छता तथा गुणस्तर अभियान सफल पार्न सबै पक्षलाई आग्रह गरे । उनले सङ्घीय सरकारले यस अभियानमा प्रदेश सरकारलाई पनि समावेश गरेकाले सबै मातहतका निकाय, विभाग, सङ्घ, संस्था, उपभोक्ता सबैले यस अभियानमा साथ दिनुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा अभियानका संयोजक युवकध्वज जीसीले खाद्य वस्तुको उत्पादन, बजारीकरण, मूल्य तथा निरन्तरता कायम गर्दै गुणस्तरीय वस्तु उपभोगमा आम उपभोक्ता सचेत बन्नुपर्ने बताए । उपभोक्तामा पनि खाद्यको गुणस्तरसम्बन्धी सचेतना बढ्दै गएकाले अभियान सफल बनाउन आग्रह समेत गरे ।

कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरीले पनि खाद्य तथा पोषण सुधारका लागि अभियान महत्त्वपूर्ण रहेकाले यसको प्रभावकारी कार्यान्वयनमा सबै लाग्नुपर्ने बताइन् । कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश ५ की मन्त्री आरती पौडेल, प्रदेश ४ का मन्त्री लेखबहादुर थापा, प्रदेश २ का मन्त्री शैलेन्द्र शाहले सङ्घीय सरकारको अभियानमा प्रदेश सरकारले पनि सहयोग र कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने बताए ।

खाद्य स्वच्छता, ऐन तथा निर्देशिका, अनुमगन प्रणाली र प्रदेश सरकारले गर्ने काम कर्तव्य र विधिका बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका योजना अनुगमन तथा मूल्याङ्कन शाखा अधिकृत नवराज दाहालले प्रस्तुतीकरण गरेका थिए ।

विभागले खाद्य ऐन नियमावली तथा निर्देशिकाको कार्यान्वयन, आम उपभोक्तालाई सचेतना तथा प्रचार, नियम तथा अनुगमन र असल उत्पादन अभ्यास र क्षमता अभिवृद्धिमा अभियान केन्द्रित रहेको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । अभियान सङघ, प्रदेश तथा स्थानीय सरकार मातहत सञ्चालन हुने उनको तर्क छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :