खाद्य स्वच्छता दिवस सम्पन्न

यो समाचार 426 पटक पढिएको

काठमाडौं । हामी सवैको सरोकारः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर भन्ने नाराका साथ आयोजित १० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस सम्पन्न भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बिहीबार आयोजित कार्यक्रममा वोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य स्वच्छता र गुणस्तरका लागि सरकारमात्र नभइ सबै सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताइन् ।

उनले आफू जिम्मेवारीमा रहेको वेला केही नगर्ने तर जिम्मेवारीबाट हटेपछि वा अवकासपछि सरकारलाई नै गाली गर्दै हिँड्ने प्रबृत्ति रहेको भन्दै पदमा रहेको वेला काम नगर्ने र जनताको पैसाबाट तलव सुविधा लिने कसैलाई अधिकार नभएको बताइन् । उनले भनिन्–मन्त्री होस् या कर्मचारी कसैलाइ यो छुट छैन, जनताले दिएको तलव भत्ता सुतेर खानका लागि होइन, काम गर्नका लागि हो ।

उनले खाद्य स्वच्छता कायम गर्न कर्मचारीहरु शहरमामात्र केन्द्रित नभइ ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने बताइन् । उनले गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेर जन जनस्वास्थ्यमाथि खेलवाड गर्नेमाथि कडा कारवाही हुने गरी ऐन संसोधन प्रक्रियामा रहेको पनि जानकारी दिइन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य स्वाच्छताका लागि पहिले मुहानमै सफा गर्नुपर्ने बताए ।

उत्पादनस्थलदेखि नै खाद्य स्वच्छता कायम हुनुपर्ने उनको भनाइ थियो । उनले खाद्य स्वच्छता अभियानलाई व्यापक बनाउन विभागलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता औल्याए । पूर्व सविच उत्तम कुमार भटटराइले सबै स्थानीय निकायहरुमा खाद्य प्राविधिकहरुको व्यवस्था गरिनुपर्नेमा जोड दिए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले खाद्य स्वच्छतासँगै खानेवानीमा पनि परिवर्तन आवश्यक रहेको बताए ।

आलु खाएपछि भातको आवश्यकता नपर्ने भएपनि नेपालीहरुमा आलु पनि टन्न खाएपछि पनि भात खाने परम्परा रहेको बताए । राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विभागले ४१ जना खाद्य प्राविधिकबाट ३ करोडभन्दा बढी उपभोक्ता सबैलाई सेवा दिन नसक्ने भन्दै उपभोक्ता स्वयम पनि सचेत हुनुपर्ने बताए ।

विभागका महानिर्देशक संजिवकुमार कर्णको सभापतित्वमा भएको कार्यक्रममा पूर्व महानिर्देशक जीवनप्रभा लामा, खाद्य उद्यमी कुमुदकुमार दुगडलगायत विभिन्न उपभोक्ताकर्मीहरुले खाद्य स्वच्छता र गुणस्तरका लागि खाद्य स्वच्छता नीति र खाद्य स्वच्छता ऐनलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उत्कृष्ट खाद्य उद्यमी, खाद्यविज्ञ, कर्मचारी उपभोक्ताकर्मी र सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो । विभागद्धारा आयोजित महिनाव्यापी खाद्य स्वच्छता कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :