आइपुग्यो मदिराको मापदण्ड, गुणस्तरहिन मदिरा उत्पादन र आयात गर्न नपाउने

यो समाचार 304 पटक पढिएको

काठमाडौं । सरकारले मदिरामा मापदण्ड लागू गरेको छ । मदिराको गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो मापदण्ड लागू गरेको हो ।

नेपालमा मदिरा (डिस्टिल्ड अल्कोहोलिक बेभरेज) उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जिवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानिका बारेमा मापदण्ड नहुँदा समस्या थियो । सरकारले डिस्टिल्ड अल्कोहोलिक बेभरेजअन्तर्गत ह्विस्की, रम, जीन, भोड्का र ब्रान्डीका लागि मापदण्ड लागू गरेको हो ।

‘मदिराजन्य पदार्थको क्षेत्र अहिलेसम्म आफूखुसी छाडा रूपमा चल्दै आएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो क्षेत्रलाई नियमनको दायराभित्र ल्याउन मदिरा उत्पादनसम्बन्धी न्यूनतम आधार मान्नुपर्ने शर्तसहित मापदण्ड कार्यान्वयनमा ल्याएका छौुं, विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘अबदेखि मापदण्डको आधारभित्र रहेर स्वदेशी उद्योगले उत्पादन गर्नुपर्छ । भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थ पनि त्यही मापदण्डको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेका छौं ।’

विभागका अनुसार अहिले अन्तःशुल्क कार्यालय र भन्सारले मदिराजन्य पदार्थमा प्रयोग हुने इथाइल अल्कोहल र स्प्रिटको आयात मात्राअनुसार राजस्व असुल गर्दै आएको छ । ‘तर इथाइल अल्कोहल कुन गुणस्तरको छ । मानव स्वास्थ्यलाई हानि गर्छ गर्दैन । आयातीत त्यस्ता इथाइल अल्कोहल र स्प्रिटबाट कस्तो गुणस्तरको मदिराजन्य पदार्थ तयार पारिएको होलगायत विषयमा कुनै पनि निकाय जिम्मेवार नभएकाले छुट्टै मापदण्ड तयार पारिएको हो’, महानिर्देशक कर्णले भने ।

खाद्य विभागले अहिले ह्विस्की, रम, जीन, भोड्का र ब्रान्डीको कच्चा पदार्थ, प्रयोग हुने रसायन, मदिरामा मिथाइल वा स्प्रिटको मात्रा कति राख्नुपर्ने, प्रयोग हुने कच्चा पदार्थ र रसायनबाट मानव स्वास्थ्य र वातावरणमा गर्न सक्ने प्रतिकूल असरलगायत विषयमा यो मापदण्डमार्फत व्यवस्थित गरिएको छ । यस्ता मदिराजन्य पदार्थको उत्पादन, प्याकेजिङ, लेवलिङ, भण्डारण र ढुवानीसम्मको आधार तयार गरिएको छ ।

सरकारले डिस्टिल्ड अल्कोहोलिक बेभरेजअन्तर्गत ह्विस्की, रम, जीन, भोड्का र ब्रान्डीका लागि मापदण्ड लागू गरेको हो ।

मापदण्डविपरीत न्यून गुणस्तरको मदिरा उत्पादन गरिएको अवस्थामा खाद्य ऐनअनुसार कारबाही गरिने व्यवस्था छ । यसका साथै स्वदेशी उत्पादक र आयातकर्ताले पनि विभागबाट अनिवार्य अनुज्ञापत्रसमेत लिनुपर्ने व्यवस्था मिलाइएको छ । लेभलमा उत्पादक, प्याकरको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ । यस्तै मदिराजन्य पदार्थको लेभलमा स्वास्थ्यसम्बन्धी कुनै पनि विषयवस्तु दाबी गर्न नपाइने र प्रकृति, उत्पादन, स्रोत तथा अन्य गुणको बारेमा भ्रामक जानकारी दिन नपाउने मापदण्डमा व्यवस्था गरिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार नेपालमा एक वर्षमा झण्डै ६२ अर्ब रुपैयाँभन्दा बढीको रक्सी कारोबार हुन्छ । मुलुकभित्र उत्पादित दर्ताबाहेकको लोकल ठर्राबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयात गरी करिब ६२ अर्ब बराबरको मदिरा नेपालीले सेवन गर्दै आएका छन ।

कस्ताबाट के बनाउने

मापदण्डले माल्ट ग्रेन, ब्लेन्डेड र अन्य प्रकारको ह्विस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीवन रसायनिक प्रक्रियाबाट फरर्माटेंसन गरी तयार पार्न सकिने जनाएको छ । यस्तै कम्तीमा एक वर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्छ । ह्विस्कीमा इथाइल अल्कोहोलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेल्सियस) सम्म हुनुपर्ने उल्लेख छ ।

यस्तै रम, ह्वाइट रम फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फरर्माटेंसन गरी मात्रै रम बनाउन हुने भनिएको छ । यस्तै यस्ता खाद्य पदार्थबाट तयार भएको न्युट्रल स्प्रिट वा रेक्टिफाइड स्प्रिट वा डिस्टिल्ड वा यस्ता मि श्रणबाट पनि रम तयार पार्न सकिन्छ । रममा कुनै पनि पदार्थ थिग्रेको वा तैरिएको हुनुहुँदैन् ।

यस्तै भोड्काको हकमा आलु, अन्न, मोलासेस वा कार्वोहाइड्रेटजन्य पदार्थको फरर्माटेंसन गरी तयार भएको हुनुपर्छ । ब्रान्डिको हकमा तीन प्रकारको मापदण्ड तोकिएको छ । अंगुरको ब्रान्डिको हकमा ताजा, स्वस्थ र पाकेको अंगुरको फरर्माटेंसन जुसबाट मात्रै तयार गर्नुपर्ने उल्लेख छ । यस्तै फलफूलको ब्रान्डीको हकमा अंगुर वाहेक अन्य फलफूलको फरर्माटेंसन जुसबाट तयार गर्नुपर्ने आधार तोकिएको छ । त्यसैगरी ब्लेन्डेड ब्रान्डीको हकमा फलफूलको ब्रन्वा न्युट्रल स्प्रिट रेक्टिफाइड स्प्रिटमा दुई प्रतिशत अंगुरको ब्रान्डी मिसाएर तयार गर्न सकिने उल्लेख छ । जिनको हकमा जुनिपर बेरीको बाष्पशील तत्वको स्वाद भएको न्युट्रल स्प्रिटबाट तयार गर्न सकिने उल्लेख गरिएको छ ।

यस्ता पदार्थ मिसाउन नपाइने

सरकारले ह्विस्की, रम, भोड्का, ब्रान्डी र जीन उत्पादन गर्न केही पदार्थ प्रयोग गर्न नपाइने गरी प्रतिबन्धसमेत लगाएको छ । पाँच प्रकारकै मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा यो मापदण्डले प्रतिबन्ध लगाएको छ । यस्तो पदार्थ मिसाएर तयार हुने मदिरा नसालु मात्रै होइन, आम उपभोक्ताको ज्यानसमेत लिन सक्छ । ह्विस्की, रम, भोड्का, ब्रान्डी र जीनका लागि इथाइल अल्कोहलको मात्र ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिग्रेड) तोकिएको छ । लेभलमा उल्लेख गरिएको मात्राभन्दा ३ प्रतिशत घटी वा बढीसम्म स्वीकार्य हुने मापदण्ड बनाइएको छ ।
– अन्नपूर्ण पोष्ट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :