अटेर गर्ने ३१ ग्यास उद्योगलाई ‘बोटलिङ’ रोक्ने चेतावनी

यो समाचार 378 पटक पढिएको

काठमाडौं, १५ फागुन । गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पालना गर्न उदासीन ३१ ग्यास उद्योगलाई सिलिन्डरमा ग्यास भर्न ९बोटलिङ०बाट रोक्ने चेतावनी दिएको छ । विभागले आइतबार ३१ उद्योगलाई पत्र लेख्दै कारबाहीको चेतावनी दिएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार १७ उद्योगले मापदण्ड पालना भएनभएको बारेमा निरीक्षण गराउन नै चाहेका छैनन् । यसमा उग्रचण्डी, प्रिमा, सहारा, एभरेष्ट, सुगम, गृहलक्ष्मी, शक्ति, नारायणी, लुम्बिनी, भेरी, पाथिभरा, लियोबारा, पराजुली, कन्काई, मेची, सुपर र रोयल ग्यास उद्योग छन् । यी सबै उद्योगलाई मापदण्ड पालना गरे÷नगरेको निरीक्षण गर्न उदासीन भएको आरोपमा कारबाहीको तयारी भएको व्यहोरा उल्लेख गरी विभागले पत्राचार गरेको छ ।

‘विभागमा गुणस्तर नम्बर ५३३ प्रमाणपत्रका लागि विभिन्न मितिमा निवेदन पेस गरेको, तर हालसम्म पनि आवश्यक कागजात पेस नगरी उद्योग निरीक्षणका लागि कुनै तदारुकता नदेखाएको हुँदा सात दिनभित्रमा पनि आवश्यक मापदण्डको कार्यान्वयनसहित विभागमा सम्पर्क नगरेमा बोटलिङ कार्यको सञ्चालनमा रोक लगाइने व्यहोरा निर्देशनानुसार जानकारी गराइन्छ’ विभागका शाखा अधिकृत देवेन्द्र केसीले पत्राचार गरेको पत्रमा उल्लेख छ ।

त्यस्तै, अनुगमनका क्रममा मापदण्ड पालना नगरेका धेरै उद्योगलाई निर्देशन दिइएको, तर अहिलोसम्म मापदण्ड पूरा गरे, नगरेका विषयमा १४ उद्योगले जानकारी नदिएकाले कारबाही हुन लागेको विभागले जनाएको छ । यसमा सगरमाथा, चण्डेश्वरी, सूर्य, श्रीराम, त्रिशूल, सिद्धनाथ, नमस्ते, जगदम्बा, अम्बर, नेपाल ग्यास ९नारायणी०, सत्यनारायण, ओम, भानु र नाबेल ग्यास कारबाहीमा पर्न लागेका हुन् ।

‘उद्योगमा विभिन्न मितिमा गरिएका प्रारम्भिक निरीक्षणका क्रममा औँल्याइएका विभिन्न कैफियतहरू समाधान गरेको भनी हालसम्म कुनै पनि जानकारी नगराएको हुँदा सात दिनभित्रमा पनि तोकिएका मापदण्डको कार्यान्वयनसहित विभागमा सम्पर्क नगरेमा बोटलिङ कार्यको सञ्चालनमा रोक लगाइने’ विभागले निर्देशनसहित जारी गरेको पत्रमा उल्लेख छ । यी उद्योगलाई कम्प्याक्ट भल्ब टेस्टर र इलेक्ट्रिोनिक लिक डिटेक्रसमेत जडान गर्न निर्देशन दिइएको छ ।

अहिले अधिकांश उद्योगले लिकेज परीक्षण गर्दा ग्यास भरिएको सिलिन्डरको भल्वमाथि पानीको थोपा हाल्ने गरेका छन् । यसरी हालिएको पानी थोपामा ग्यास आयो भने लिकेज भएको र ग्यास नआए सुरक्षित रहेको भनेर परीक्षण गर्ने गरिएको छ । ‘यस्तो परीक्षणले ग्यास लिकेज भए, नभएको विषयमा विश्वस्त हुन सकिँदैन’ महानिर्देशक पुडासैनीले भने, ‘त्यसैले आधुनिक प्रविधिको इलेक्ट्रोनिक लिक डिटेक्र जडान गर्नुपर्छ भनेर सबै उद्योगलाई निर्देशन दिएका हौँ ।’

खाना पकाउने एलपी ग्यासको सिलिन्डर बिस्फोट भई बारम्बार दुर्घटना हुन थालेपछि विभागले सुरक्षाको मापदण्ड अनिवार्य लागू गर्न लागेको हो । उद्योगीले ग्यास भर्ने सिलिन्डरमा लापरबाही गर्दा उपभोक्तालाई मर्का पर्दै आएको छ । ‘उपभोक्ताले भरिएको ग्यास सिलिन्डर खरिद गरेर घरमा लगेपछि निर्धक्क प्रयोग गर्न सकून् भन्ने उद्देश्यले सबै उद्योगलाई तोकिएको मापदण्डअनुसार रिफिलिङ र उद्योगको पूर्वाधार तयार गर्न लगाइरहेका हौँ, पुडासैनीले भने ।

यी कैफियतमा सुधारको लक्ष्य
गुणस्तर विभागले ग्यास भर्ने सिलिन्डर र उद्योगको पूर्वाधार मापदण्ड हेर्ने गरेको छ । गुणस्तर ऐनले तोकेअनुसार सिलिन्डर प्रयोग नभएको पाइए कारबाही हुन्छ । सिलिन्डर तोकिएअनुसार बाक्लोपना भएको, मजबुत फुटरिङ, नियमित हाइड्रोलिक टेस्ट भएको, हाइड्रोलिक टेस्ट गर्ने मेसिनको चालू हालत काम गर्न सक्ने, मेसिन चलाउन दक्ष जनशक्ति हुनुपर्ने, सिलिन्डरमा क्याप लगाएको हुनुपर्छ । त्यस्तै सिलिन्डरभित्र फोहोर नजमेको, भल्ब नियमित रूपमा मर्मत गरेको हुनुपर्नेछ । अहिले बजारमा उपलब्ध अधिकांश सिलिण्डरको पिँधमा कम्तीमा आधा किलो लेदो हुन्छ । एनएस लिन यस्तो लेदो नियमित रूपमा सफा गरेर मात्र ग्यास भर्नुपर्ने हुन्छ । लेदो सफा नगर्दा ग्यास कम भरेर उद्योगीले उपभोक्ता ठग्ने गर्छन् ।

-नयाँपत्रिका

रचनात्मक प्रतिक्रिया दिनुहोस् :