पहाडमा फैलिंदै क्यान्सर जन्माउने विषादी

यो समाचार 911 पटक पढिएको

इलाम, ६ फागुन । पाँचथरको याङबरक– ६ का ज्ञानेन्द्र कुमार लक्समलाई विषादी र यसको प्रयोग तथा जोखिमका बारेमा खासै थाहा छैन् । अलैची मर्न शुरुगरेपछि उनले एग्रोभेटले भनेको विषादी छर्किएर तर अ‍लैंचीमा लागेको रोग रोकिएन ।

लक्सम भन्छन्,‘पसलबाट ल्याएर औषधि लगाए तर त्यसले काम नै गरेन । गाउँका धेरै किसानहरु अहिले पनि पसलेले दिएकै भरमा औषधि छर्कने गरेका छन् ।’

पछिल्लो समयमा कृषि मजदुरको अभाव हुनथालेपछि इलाम पाँचथरका किसानले झारमार्ने विषादीको अत्याधिक प्रयोग गर्ने गरेका छन् । फालेलुङ–१ एक्तिनका कृषक हर्क खड्काले केही वर्षदेखि धानको झारमार्न विषादी प्रयोग गर्ने गरेको बताए ।

इलामको सिद्धिथुम्काका टंक न्यौपानेका अनुसार अधिकांश किसानले धान खेतको झार मार्न २–४ डी, राउण्ड अप लगायतका विषादी प्रयोग गर्ने गरेका छन् । चियाको झार मार्नपनि पनि किसानले विषादीको प्रयोग गर्ने गरेका छन् ।

वाली संरक्षण निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा कीटनासक १८१ टन , रोगनाशक २४७.४ टन , झारनासक १३४.२ टन र अन्य ११ टन विषादी आयत भएको छ । नेपालमा तरकारीमा ८५ प्रतिशत विषादी प्रयोग हुने गरेको निर्देशनालयले जनाएको छ । गत आर्थिक वर्षमा नेपालमा ५७४ टन खास विष विषादी आयात हुँदा करिव ६९ करोड रुपैया विदेशीएको निर्देशनालयले जनाएको छ ।

झार मार्ने विषादीले छाला चिलाउने रोग र विभिन्न प्रकारको खटिरा र क्यान्सरसमेत उत्पन्न गराउँछ । अमेरिकाकाको मिसौरी विश्वविद्यालयको अध्ययनअनुसार झारमार्ने विषादीले प्रोस्टेट क्यान्सर, घाँटीको क्यान्सर, स्नायू प्रणालीमा घाउ हुने र वालबालिकाको रगतमा नराम्रो पुग्छ । झारमार्ने विषादीसगै किटनाशक र ढुसीनासक विषादीको प्रयोग पनि अन्जानमै भइरहेको सूर्योदय नगरपालिका कन्यामको सूर्योदय महिला बहुउद्देश्यीय सहकारी संस्थाकी सह–व्यवस्थापक राधा कटुवाल बताउँछिन् । विषादीको प्रयोगले महिलामा स्वास्थ समस्या बढ्दै गएको उनको अनुभव छ ।

बालीसंरक्षण निर्देशिकाका अनुसार रासायनिक विषादीले शत्रुजीवलाई मात्र होइन, प्राकृतिक सन्तुलन ल्याउने मित्रजीवहरु, परागशेचन गर्ने मौरी, पुतली, रेशम कीरा, खपटेकीरा, कुमालकोटी, माकुरा, चराचरुङ्गी, गड्यौला, माछा, भ्यागुता, सर्प, छेपारो लगायतका परजीवी कीराहरु, शिकारी कीराहरु र शिकारी सुलसुले आदिको पनि विनाश गर्दछ ।

निर्देशनालयका अनुसार नेपालमा अन्य देशको तुलनामा प्रति हेक्टर विषादीको प्रयोग निकै कम छ । नेपालमा ३९६ ग्राम खास विष प्रति हेक्टर प्रति वर्ष प्रयोग भइरहेको र्निेशनालयले जनाएको छ । तर, नेपालमा विषादीको अव्यवस्थीत प्रयोगको कारण समस्या बल्झदै गएको कृषि प्राविधिहरु बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :