अवैद्य नेशनल अस्पताल बन्द गर्न निर्देशन

यो समाचार 328 पटक पढिएको

काठमाडौं, २४ माघ । सरकारले काठमाडौंको कलंकीस्थित नेपाल नेशनल हस्पिटलको सेवा बन्द गर्न निर्देशन दिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सात दिनभित्र अस्पताल खाली गर्न निर्देशन दिएको छ ।

नेशनलले सरोकारवाला निकायहरुबाट आवश्यक स्वीकृती नलिइ अस्पताल सञ्चालन गरिरहेको पाएपछि विभागले यो बन्द गर्नका लागि सोमबार पत्राचार गरेको छ । उक्त पत्रमा उल्लेख भएअनुसार, विभागको अनुगमन तथा प्रारम्भिक अनुसन्धानबाट नेशनलले सम्बद्ध निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरेको देखिएकाले उपभोक्ता संरक्षण ऐन – २०५४ को दफा १३ (१) र दफा १५ (२), स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका – २०७० को दफा ३ ९१० बमोजिम सात दिनभित्र अस्पतालका सबै सेवा बन्द गरी विभागलाई जानकारी गराउन विभागले नेशनललाई निर्देशन गरेको छ ।

विभागको टोलीले गत पुस १८ मा अस्पतालको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नेशनलले जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वीकृती नलिई अस्पताल सञ्चालन गरेको पाइएको थियो । गतवर्षको माघ २५ मा अस्पतालले मनशाय पत्र लिएको थियो । तर सञ्चालन स्वीकृती भने नलिएको भेटिएको छ ।

जनस्वास्थ्य कार्यालयबाट मनसायपत्र लिएर पनि संचालन स्वीकृती नलिइ संचालन गर्नुको कारण र सोको पुष्ट्याइसहित तीन दिनभित्र आधिकारिक व्यक्ति उपस्थित हुन विभागले निर्देशन दिएको थियो । अस्पताल संचालकसँग बयान लिएपछि विभागले जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंसँग पनि राय सुझाव माग गरेको थियो । सोको प्रत्युत्तरमा कार्यालयले गत माघ २९ मा आपूर्ति विभागलाई सञ्चालन स्वीकृतीबिना नै अस्पताल सञ्चालन गर्नु गैरकानुनी भएको जानकारी गराएको थियो । सोही आधारमा विभागले अस्पताललाई पत्र पठाउदै सात दिनभित्र अस्पताल खाली गराउन निर्देशन दिएको हो ।

जनस्वास्थ्य कार्यालय (काठमाडौं) का अनुसार, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकाको परिच्छेद ४, दफा १४ (क) अनुसार नेशनलको अस्पताल रहने भवन पनि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति भएको छैन । साथै, उक्त अस्पताल भवन सम्बन्धित नगरपालिका वा नगर विकास समितिले जारी गरेको मापदण्ड बमोजिम छ भनी सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयबाट अनुमति पनि नलिएको भेटिएको छ । नेशनल अस्पताल रहेको भवन गत बैशाख २९ मा निर्माण पूरा भएको थियो । यद्यपि यो निर्धारित मापदण्डहरु बमोजिम नभएको पाएपछि जनस्वास्थ्य कार्यालयले नेशनल अस्पताल संचालनको अनुमति दिएको थिएन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :