कारखानाको विषालु रसायनले सिंगै गाउँ क्यान्सर पीडित !

यो समाचार 802 पटक पढिएको

मानव वस्ती नजिक खोलिएका उद्योगको असर

• सुमनराज पन्त

काठमाडौं । पैसा ठूलो कि स्वास्थ्य रु अहिले यो प्रश्नले भारतको केरला सरकार द्विविधामा छ । त्यहाँ खुलेका कारखानाहरु राज्यकै सर्वाधिक कमाइ दिने स्रोत भएका छन् । तर, अर्कातिर तिनै कारखानाले उत्सर्जन गर्ने विषालु रसायनका कारण हजारौं नागरिकको स्वास्थ्य संकटमा परेको छ । २० भन्दा गाउँका बासिन्दा क्यान्सरजस्ता जटिल रोगले प्रभावित भएका छन् । कारखानानको प्रभाव क्षेत्रमा रहेको गाउँ नै क्यान्सर भएको भन्दै यी वस्तीका बासिन्दाले अरु जिल्ला र गाउँतिर विवाह गर्ने वरवधुसमेत पाउन समस्या भएको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।

केरलाको कोल्लम जिल्लास्थित चावरा खण्ड र आसपासका २० वटा गाउँ विषालु रासायनिक पानी बगिरहेको छ । पानीसँगै विषालु ग्यास पनि । चावरास्थित सरकारी स्वामित्वको केरल मिनरल्स एण्ड मेटल्स लिमिटेडबाट उत्सर्जन हुने विषालु रसायनले वर्षौंदेखि हजारौं बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । सन् १९८४ देखि कारखानाबाट विषालु रसायन उत्सर्जन गरिरहेको छ । ती रसायन व्यवस्थापन नगरी खुलेआम बगाउने गर्दा समस्या आएको हो । यसमा तेजाब, आइरन अक्साइडलगायतका रसायन मिसिएको हुन्छ । जसको संक्रमणले क्यान्सर, छाला, स्नायु, पाचनजन्य रोगहरु सिर्जना गर्दछ ।

यो कारखानाले इल्मेनाइटबाट टाइटेनियम डाई अक्साइड बनाउने गर्दछ । इल्मेनाइट खानी चावरापट्टी गाउँमा छ । विषालु रसायन घरायसी प्रयोग हुने कुवा, तलाउ र इनारमा समेत प्रवेश गर्नाले स्थानीय बासिन्दा जोगिन सकेका छैनन् । विषालु रसायनकै कारण वनस्पतिहरु नाश भएका छन् । गाउँ मरुभूमि बन्दै गएको छ ।

चित्तुरकी ५८ वर्षीया विजया शास्त्रीय गायिका हुन् । उनी अहिले गाउन नसक्ने अवस्थामा पुगेकी छिन् । यही विषालु धुँवा र पानीले उनको घाँटी थलिएको छ । अहिले उनी इन्हेलरको सहायताले पनि श्वास लिन सक्दिनन् ।

स्थानीय संगठन प्रदूषण क्षेत्र कल्याण सोसाइटीका सचिव डा सुरेश कुमार पछिल्लो २० वर्षदेखि करिब २० गाउँका बासिन्दामा क्यान्सरको संक्रमण फैलिएको बताउँछन् । क्यान्सर फैलिएको गाउँ भनेपछि चेलिबेटीको विहे हुन छाडेको उनको भनाइ छ ।

४८ वर्षीया लीलाले चार महिनाअघि स्तन क्यान्सरको शल्यक्रिया गराइन् । उनी कारखानानजिक बस्ने गरेको र कारखानाले विषालु धुँवा, रसायनको कारण आफू रोगी भएको बताउँछिन् । ‘मेरो विकल्प छैन, पति पनि यहीं काम गर्छन्’ उनी भन्छिन् । अहिले उनको टाउको दुख्ने र छाला एलर्जी पनि भइरहेको छ । कारखानाकै कारण माझीको रोजीरोटी पनि गुमेको छ । ६० वर्षीया पी सुभाषिनी स्थानीय वटक्कयाल दहमा विषालु रसायन भरिएपछि माछा हुन छाडेको छ । ५९ वर्षीया राधाकृष्ण पिल्लै खेतभरि विषालु रसायन फैलिएपछि धान फल्न रोकिएको बताउँछन् । खेतभरि आइरन अक्साइड फैलिएको कारण खेत स्थायी मरुभूमि भएको उनको विश्लेषण छ । विषालु रसायनकै कारण दुई हजार ५ सय परिवारले गाउँ छोडिसकेका छन् । शिशुहरुमा पनि छाला संक्रमण हुने गरेको छ ।

अब त्यहाँका बासिन्दालाई अदालतको मात्र भर लागेको छ । हालै मानवअधिकारवादी कार्यकर्ता जोय काइथरतले उक्त कारखानाले विषालु रसायन फैलाएको र मानवीय अस्तित्व संकटमा परेकोमा मुद्धा दायर गरेका छन् । तर राज्य सरकार यो कारखाना प्रतिवन्ध गर्न चाहँदैन । किनकी राज्य सरकारको मुख्य आयस्रोत यही कारखाना हो । राज्य सरकारले हरेक वर्ष एक एक अर्ब २० करोड भारु यही कारखानाबाट पाउँछ । त्यसैले राज्य सरकारका लागि अहिले टाउको दुखाइ भएको छ, आय गुमाउने कि नागरिकको स्वास्थ्य गुमाउने बारे ।

हुन त नेपालमा पनि कारखाना आसपसा यस्तो अवस्था आउने गरेको छ, तर अध्ययनको कमीले तथ्य बाहिर आउन सकेको छैन । भारतको यो एउटा घटनाबाट पनि हामीले जानकारी लिन सक्छौं कि औद्योगिक विकासको ‘बोझ’ निकै कष्टदायी हुँदोरहेछ।
(एजेन्सीको सहयोगमा)