खाना पकाउने ग्यासको खपतमा ३ गुणाले वृद्धि

यो समाचार 545 पटक पढिएको

काठमाडौं । पछिल्लो समय नेपालमा खाना पकाउने ग्यासको खपत वर्षेनि अत्यधिक मात्रामा बढ्दै गएको छ । नेपाल आयल निगमको तथ्याङ्कअनुसार पछिल्लो १० वर्षको अवधिमा ग्यासको खपत ३ गुणाभन्दा बढीले वृद्धि हुन पुगेको हो । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६२/६३ मा देशभर कुल ८१ हजार ५ मेट्रिकटन ग्यास खपत भएको थियो ।

आव २०७१/७२ मा भने उक्त खपत ३ दशमलव १८ गुणाले बढेर २ लाख ५८ हजार ३ सय मेट्रिक टन पुगेको हो । हाल नेपालमा प्रत्येक वर्ष ग्यासको खपत बढ्दै गएको निगमले बताएको हो । मधेश आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण आव २०७२/७३ मा भने करीब २ लाख १४ हजार ३ सय मेट्रिक टन ग्यास आयात भएको निगमले जानकारी गराएको छ । निगमका अनुसार उक्त वर्ष भने ग्यासको आयातमा कमी आएको हो ।

बढ्दो शहरीकरण, खपतमुखी अर्थतन्त्र, इन्धनका लागि भरपर्दो विकल्पका साथै कम प्रदूषण हुनेजस्ता कारणले ग्यासको खपत बढ्न थालेको हो । निगमका अनुसार हाल नेपालमा मासिक २८ हजार मेट्रिक टन ग्यासको माग रहेको छ ।

विगतका वर्षहरूमा ग्यासको खपत र मागलाई ध्यानमा राख्दा आगामी वर्षहरूमा ग्यासको खपत निकै उच्च गतिमा बढ्दै जाने अनुमान आयल निगमले गरेको छ । निगमको प्रक्षेपणअनुसार आव २०८६/८७ सम्ममा नेपालमा वार्षिक १५ लाख मेट्रिक टन ग्यास खपत हुनेछ । त्यसैगरी, आगामी ५ वर्षमा मात्रै मुलुकमा मासिक ४० हजार मेट्रिक टनको हाराहारीमा ग्यास खपत हुने अनुमान आयल निगमले गरेको हो ।

समयअनुसार नेपालीको जीवनशैलीमा आएको परिवर्तन र प्रयोग गर्न सजिलो हुनाका कारण पनि प्रतिदिन ग्यासको माग बढ्न थालेको निगमको ठहर छ । पछिल्ला समय गाउँघरमा समेत खाना बनाउन दाउराको ठाउँमा ग्यासको प्रयोग बढ्दो छ । त्यसैगरी शहरमा ग्यास गिजर, हिटर आदिको लागि समेत ग्यास प्रयोग हुने गरेकाले यसको खपत बढ्न थालेको हो ।

मुलुकमा ग्यासको खपत बढ्न थालेसँगै, ग्यास खरीदका लागि वार्षिक ठूलो रकम बाहिर जाने गरेको निगमले जानकारी दिएको हो । पेट्रोलियम पदार्थमा पूर्ण रूपमा परनिर्भर रहेको नेपालले सम्पूर्ण प्रकारका पेट्रोलियम पदार्थ भारतबाट नै आयात गर्दै आएको छ । सरकारले देशभित्र नै विभिन्न स्थानमा ग्यास भेटिएको भन्दै आए तापनि त्यसको प्रभावकारी उत्खनन भने हुन नसकेको अवस्था छ ।

ग्यासको खपत अवस्था
आर्थिक बर्ष                              ग्यास खपत(मेट्रिक टन)
२०७१।७२                                  २,५८,३००
२०७०।७१                                  २,३२,७००
२०६९।७०                                  २, ०७०३८
२०६८।६९                                  १,८१,४००
२०६७।६८                                  १, ५९, ३००
२०६६।६७                                  १,४१, २००
२०६५।६६                                  १, १५, ८००
२०६४।६५                                  ९६, ८००
२०६३।६४                                  ९३, ६००
२०६२।६३                                  ८१, ५००

अभियान